१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रोड्ने ई रोड
२o८१ बैशाख ३१ सोमबार o८:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

के हो मंकिपक्स रोग ? 

Read Time : > 2 मिनेट
रोड्ने ई रोड
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:o१:oo

म्यासाचुसेट्सका स्वास्थ्य अधिकारी र रोग नियन्त्रण एवं रोकथाम केन्द्रले हालै १८ मे २०२२ मा क्यानडा गएका बिरामीमा मंकिपक्स संक्रमण पुष्टि गरेका छन् । बेलायत र युरोपमा पनि संक्रमणका मामिला रेकर्ड गरिएका छन् ।

मंकिपक्स नयाँ रोग होइन । यो भाइरस सन् १९७० मा डेमोक्रेटिक रिपब्लिक कंगोमा बिफरको आशंका गरिएको एक बालकमा फेला परेको थियो र यही संक्रमण मानिसमा विश्वकै पहिलो प्रमाणित मामिला बन्न पुग्यो । मंकिपक्सले अर्को महामारी उत्पन्न गर्ने सम्भावना नदेखिए पनि हालैको कोभिड–१९ महाव्याधिलाई ध्यानमा राख्दा अर्को ठूलो महामारी उब्जिन सक्छ भन्ने चिन्तालाई नजरअन्दाज गर्न सकिन्न । मंकिपक्स असामान्य रोग हो, तर लक्षण सामान्यतया हल्का हुन्छ । यद्यपि मंकिपक्सले अन्य गम्भीर रोग निम्त्याउने सम्भावना भने हुन्छ । स्वास्थ्य अधिकारी यात्रामा बढोत्तरी हुँदै जाँदा थप संक्रमण हुनेमा सशंकित छन् ।

बिफरजस्तै रोग 

मंकिपक्स रोग मंकिपक्स भाइरसका कारण हुन्छ, जुन पक्सभिरिडे भाइरस परिवारको अर्थोपक्स भाइरस उपपरिवारसँग सम्बन्धित छ । बिफर, भ्याक्सिनिया र काउपक्स भाइरस यस समूहमा समावेश छन् । मंकिपक्स भाइरसलाई भण्डारण (होस्ट) गर्ने कुनै पनि जनावरको पुष्टि नभए पनि अफ्रिकी मुसाले यो रोगको प्रसारणमा भूमिका खेल्ने गरेको मानिन्छ । प्रकृतिमा मात्र दुईपटक मंकिपक्स भाइरस एक जनावरबाट अलग गरिएको छ । मंकिपक्स निदान परीक्षण अमेरिका र विश्वभरका प्रयोगशाला प्रतिक्रिया नेटवर्क प्रयोगशालामा मात्र उपलब्ध छ ।

‘मंकिपक्स’ शब्द जनावरमा रोगको पहिलो ज्ञात घटनाबाट उत्पन्न भएको हो, जुन सन् १९५८ मा अनुसन्धानका लागि राखिएका दुई बाँदरमा संक्रमण देखा परेको थियो । तथापि, बाँदर रोगको प्रमुख वाहक नभएकाले यो भाइरस बाँदरबाट मानिसमा सरेको भने थिएन ।

महामारी विज्ञान

मंकिपक्स रोग मानिसमा देखिएयता संक्रमण थुप्रै मध्य र पश्चिम अफ्रिकी मुलुकमा देखिएको थियो र डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अत्यधिक संक्रमण देखिएको थियो । अफ्रिकाबाहिरका संक्रमणका मामिला विशेषतः अमेरिका र अन्य ठाउँमा अन्तर्राष्ट्रिय यात्रा गरेका वा आयातीत जनावरले भूमिका खेलेका छन् । 
सन् २००३ मा घानाबाट जनावरको ढुवानीसँग जोडिएको टेक्सासको महामारीले अमेरिकामा मंकिपक्सको पहिलोमध्येका मामिला सतहमा आए । यात्राका कारण नोभेम्बर र जुलाई २०२१ मा मेरिल्यान्ड राज्यमा मंकिपक्सका मामिला देखिएका थिए । 

मंकिपक्स र बिफर एकदमै घनिष्ठ रूपमा सम्बन्धित छन्, तसर्थ बिफर खोपले तपाईंलाई दुवै भाइरसबाट जोगाउन सक्छ । अमेरिकामा बिफर आधिकारिक रूपमा उन्मूलन घोषणा गरिएपछि आमजनताका लागि नियमित बिफर खोप सन् १९७२ मा बन्द गरिएको थियो । यस कारण खोप नदिइएका मानिसमाझ मंकिपक्सको संक्रमण सामान्य भएको छ ।

संक्रमण प्रक्रिया 

संक्रमित व्यक्ति वा जनावरसँगको सम्पर्क र दूषित सतहले भाइरस फैलाउन सक्छ । भाइरस सामान्यतया फुटेको छाला, श्वास–प्रश्वास प्रक्रिया वा आँखा, नाक वा मुखमा रहेको म्युकस झिल्लीबाट शरीरमा प्रवेश गर्छ । शोधकर्ताका अनुसार मानवदेखि मानवमा संक्रमण शारीरिक तरल पदार्थ (बडिली फ्ल्युड) को प्रत्यक्ष सम्पर्क वा कपडाको माध्यमबाट हुने अप्रत्यक्ष सम्पर्कको सट्टा श्वासप्रश्वासका क्रममा आउने थोपासहितको श्वासबाट हुने गर्छ । मानिसमाझ मंकिपक्स संक्रमणको डर निकै कम छ । 

मंकिपक्सले अर्को महामारी उत्पन्न गर्ने सम्भावना नदेखिए पनि हालैको कोभिड– १९ महाव्याधिलाई ध्यानमा राख्दा अर्को ठूलो महामारी उब्जिन सक्छ भन्ने चिन्तालाई नजरअन्दाज गर्न सकिन्न 

भाइरस समुदाय प्रसारणमार्फत फैलिरहेको हुन सक्छ भनेर स्वास्थ्य क्षेत्रका अधिकारी चिन्तित छन् । संक्रमण कहाँ र कसरी उत्पत्ति भयो भनेर अझै पनि अनुसन्धान भइरहेको छ ।

लक्षण 

शरीरमा प्रवेश गरेपछि भाइरसको गुणात्मक फैलावट रक्तप्रवाहमार्फत हुन्छ । सामान्यतया संक्रमण भएको एकदेखि दुई सातासम्ममा कुनै संक्रमणको लक्षण देखिँदैन । 

मंकिपक्सले बिफरजस्तै छालाको घाउ निम्त्याउँछ, तर लक्षण सामान्यतया हल्का हुन्छ । सुरुमा ज्वरो आउने, टाउको दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता फ्लुका सामान्य लक्षण देखिन्छन् । एकदेखि दश दिनपछि हात वा खुट्टा, टाउको वा छातीमा डाबर देखा पर्न सक्छ र अन्ततः पिप भरिएको पिलोमा परिणत हुन्छ । सामान्यतया लक्षण दुईदेखि चार हप्तासम्म रहन्छ ।

मंकिपक्स असामान्य र सामान्यतया हानिरहित हुने भए पनि यस रोगले संक्रमितमध्ये १० प्रतिशतको ज्यान लिन सक्छ । हालको भाइरस तुलनात्मक रूपमा नरम मानिन्छ । किनभने, यस भाइरसले एक प्रतिशतभन्दा कम मृत्यु निम्त्याउने देखिन्छ । 

खोप र उपचार 

मंकिपक्सको उपचार प्रायः लक्षणको राहतमा केन्द्रित हुन्छ । अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सिडिसी) का अनुसार मंकिपक्स संक्रमणको कुनै उपचार छैन ।

बिफर खोपले मंकिपक्स संक्रमणलाई रोक्न र लक्षणको गम्भीरता कम गर्न मद्दत गरेको देखिन्छ । अमेरिकामा मंकिपक्स र बिफरबाट बच्न इम्भाम्युन वा इम्भानेक्स खोप अनुमोदन गरिएको छ ।

भाइरसको संक्रमणपछि पनि खोप लगाउँदा यसले रोगको जोखिम गम्भीर रूपमा कम गर्न मद्दत गर्न सक्छ । सिडिसीका अनुसार मंकिपक्स सम्पर्कमा आएका वा सम्भावित व्यक्तिलाई बिफरको खोपलाई हाल विशेष रूपमा सिफारिस गरिएको छ । तर, इम्युनोकम्प्रोमाइज्ड अर्थात् रोग–प्रतिरोधी क्षमता कम भएका व्यक्ति भने जोखिममा हुन्छन् । द कन्भर्सेसनबाट 
 

ad
ad