अशेष मल्लका ५ प्रिय पुस्तक 

२०७५ चैत १ शुक्रबार ०९:५०:०० | काठमाडाैं

मैले एमए पढ्दाताका भागवत गीता कोर्समै थियो । त्यसवेला किताबलाई गम्भीर रूपमा लिइनँ । कोर्सको रूपमा मात्र पढेँ । फेरि, बिपी कोइराला मेरो आदर्श नेता । उहाँ गीताको पक्षमा हुनुहुन्नथियो । त्यही भएर पनि गीतालाई खासै प्राथमिकता दिइनँ ।

१. भागवत  गीता 
भागवत गीता दशौँपटक पढेको छु । गीताको एउटै कुरा मेरो जीवनको आदर्श बनेको छ– ‘कर्म गर्ने, फलको आस नगर्ने ।’ मैले बुझेको जीवनले भन्छ– ‘यस संसारमा हामी आफ्नो कर्तव्य पूरा गर्नका लागि मात्र आएका हौँ । हामीले गरिरहेको काम हाम्रो कर्तव्य हो र त्यसलाई पूरा गर्नुपर्छ ।’ मलाई यी कुरा गीताले नै सिकाएको । त्यही कारण पनि गीता संसारको उत्कृष्ट किताब हो भन्ने लाग्छ । 

मैले एमए पढ्दाताका भागवत गीता कोर्समै थियो । युवा थिएँ । जोश थियो र घमण्ड पनि । त्यो वेला किताबलाई गम्भीर रूपमा लिइनँ । कोर्सको रूपमा मात्र पढेँ । फेरि, बिपी कोइराला मेरो आदर्श नेता । उहाँ गीताको पक्षमा हुनुहुन्नथियो । त्यही भएर पनि गीतालाई खासै प्राथमिकता दिइनँ । 

गीतालाई गम्भीरतापूर्वक ०५०/५१ सालतिर पढेको हुँ । त्यतिवेला एकेडेमीमा प्राज्ञ थिएँ । दिल्लीको हस्पिटलमा बिरामी भएर बस्नुपर्‍यो । अनि महसुस गरेँ कि जीवनप्रतिको माया र मोह ममा धेरै रहेछ, जुन थाहा पाउन बिरामी नै हुनुर्‍यो । त्यसपछि अध्यात्मबोध भयो र गीता पढ्न थालेँ । अहिले पनि जब छटपटीमा हुन्छु या निराश भएको हुन्छु, गीता पल्टाउँछु। 

२. मोदीआइन 
यो किताब सबैभन्दा सानो आकारको पुस्तक हो । यसमा महाभारतकालीन कथा छ । जुन कथा महाभारतमा व्यक्त भएको थिएन । युद्धकालमा हामीलाई नेतृत्वमा भएकाहरूकै सम्झना हुन्छ । तर, जसले खास युद्ध लड्छ, जो सिपाही हुन्छन्, उनीहरूको कुरै आउँदैन । मोदीआइनमा बिपी कोइरालाले त्यही पीडा लेखेका छन् । सिपाहीको परिवारको पीडालाई सूक्ष्म ढंगले पस्केका छन् ।

यो पुस्तक पनि निकै पहिले नै पढेको हुँ । बिपीका अन्य धेरै किताब पढेको छु । प्राध्यापक भएकाले अन्य किताब पनि पढाउनुपर्‍यो । तर, ०४० को दशक वरिपरि पढेको मोदीआइनले भने मलाई बढी नै छोयो । उहाँको भाषाशैली अद्भूत छ । उहाँको सिर्जनामा राजनीतिक गन्ध कहीँ पनि भेटिन्न । चरित्र चित्रणमा सूक्ष्म विश्लेषण हुन्छ । त्यो शक्तिलाई उहाँले जुन कलात्मक तवरबाट पस्कनुहुन्छ, त्यसले मलाई अत्यधिक छुन्छ । 

३. द मंक हु सोेल्ड हिज फेरारी 
यो पुस्तक रवीन एस शर्माले लेखेका हुन् । लेखक आफ्नै हाकिमको वकिल थियो । हाकिमकै अफिसमा काम गथ्र्यो । अमेरिकामा उसको वकालत सुन्नकै लागि सयौँ मान्छे जम्मा हुन्थे । एकदिन मुटु दुखेर अचानक बिरामी प¥यो । हस्पिटल राखियो । हस्पिटलबाट निस्केर आराम गर्नका लागि ऊ भारत आउँछ । सन्तहरूलाई भेट्छ । महिनादिनको भारत बसाइमा पूर्ण रूपले परिवर्तन हुन्छ । पछि सम्पूर्ण सम्पत्ति बेचेर सन्तहरूसँग बसेर ज्ञान प्राप्त गरेको विषय किताबमा उल्लेख छ । 

किताबमा पूर्वीय दर्शन, मानवता, मानवीय जीवनका अनेकन कुरालाई सूक्ष्म ढंगले केलाइएको छ । यो किताबले मलाई अति प्रभावित पारेको थियो । ०५२/५५ सालतिर हुनुपर्छ, कवि मञ्जुलले ‘यो किताब पढेको छौ ?’ भन्दा ‘पढेको छैन’ भनेको थिएँ । लगत्तै उनले उपलब्ध गराइदिएका थिए । 

४.  थिएटर द लाइभली आर्ट 
यो किताब एडविन विल्सनको हो । यसमा रंगमञ्चको प्राविधिक पक्षको बारेमा एमदम मिहीन ढंगले ज्ञान दिन्छ । त्योभन्दा पनि ज्यादा त यसले आधुनिक रंगमञ्चको प्रविधिलाई राम्रोसँग उल्लेख गरेको छ । रंगमञ्चसम्बन्धी यो एक उत्कृष्ट किताब हो । 

मैले त्यही ०५०/५२ सालतिरै फेला पारेको हुँ, अमेरिकन लाइब्रेरीमा । पछि युएसएमा एउटा साथीलाई किन्न लगाएर पठाइमागेँ । रंगमञ्चको प्राविधिक पक्षहरू लाइट, संगीत, स्टेज कसरी प्रयोग गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ । तर, मैले रंगमञ्चमा जुन प्रयोग गरेको छु, त्यो भने मिलेको छैन । मैले पूर्वीय रंगञ्चको शैली प्रयोग गरेको छु, किताबमा पश्चिमेली प्रयोग छ । आफैँसँग तुलना गर्नका लागि पनि यो किताब पढिरहन्छु । 

५. आधे अधुरे 
यो मोहन राकेशको नाटक हो । मैले धेरै अगाडि पढेको, ०३५/३६ सालतिर । यो नाटक अहिले पनि मनपर्छ । जब धनकुटाबाट नाटक लिएर आएँ, त्यो वेलाको अग्रज नाटककार विजय मल्लले ‘आधुनिक नाटक लेख’ भन्नुभयो । आधुनिक नाटक कस्तो हो थाहा थिएन । ‘आधे अधुरे’ पढेरै थाहा पाएको हुँ । पछि मैले नाटक हेर्ने सौभाग्य पनि पाएँ, नाचघरमा । भारतबाट आएको टिमले मञ्चन गरेको थियो । यो ०३६/३७ सालतिरैको कुरा हो । त्यतिवेला मैले जुन पुरानो मान्यतामा नाटक गरिरहेको थिएँ, त्यो होइन रहेछ भन्ने पनि यही नाटकले सिकायो । विश्वमा चलिरहेको नयाँ प्रयोगबारे थाहा पाएँ । 

प्रतिकृया दिनुहोस