१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Saturday, 28 September, 2024
त्रिवि क्रिकेट मैदानमा युगान्डाविरुद्ध खेल्ने तयारी गर्दै नेपाली महिला क्रिकेट टोली । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ४ बुधबार o६:३१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिज : युगान्डासँग नेपाल दोस्रो खेलमा पनि पराजित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार o६:३१:oo

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगान्डासँगको दोस्रो खेलमा एक विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाउँदै एक सय एक रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा युगान्डाले १९.५ ओभरमा नौ विकेटको क्षतिमा एक सय दुई रन जोड्दै सिरिजमा २–० को अग्रता लिएको हो । 

पहिलो खेलमा युगान्डाले नेपालमाथि १२ रनको जित निकालेको थियो । नेपाल र युगान्डाबीच सोमबारदेखि पाँच सिरिजको टी–२० खेल जारी छ । दोस्रो खेलमा नेपालले पहिलो ब्याटिङ गर्दा मध्यक्रम ब्याटिङ कमजोर देखियो । इनिङ्सको ४.३ ओभरमा इन्दु बर्मा पाँच रनमै आउट भइन् । उनी एनिपोको ओभरमा बोल्ड भइन् । इन्दुले १३ बलको सामना गरेकी थिइन् । बिन्दु रावल र अप्सरा बेगमले दोस्रो विकेटका लागि १५ रनको साझेदारी गरे । अप्सराले दोस्रो खेलमा माथिल्लो क्रममा ब्याटिङ गर्ने अवसर पाइन् । उनले प्राप्त मौका सदुपयोग गर्न सकिनन् । एम्बाबाजीद्वारा बोल्ड हुनुअघि अप्सराले १२ बलमा तीन रन मात्रै जोडिन् । 

बिन्दुले सरिता मगरसँग तेस्रो विकेटका लागि २३ रनको साझेदारी गर्दैै नेपाललाई १२.४ ओभरमा ५२–३ को स्थितिमा राखिन् । क्रिजमा सेट भइसकेकी बिन्दु र सरिताको जोडी मुसामालीले तोडिन् । उनले बिन्दुलाई ‘कट एन्ड बोल्ड’ गर्न सफल भइन् । नेपालको ब्याटिङ इनिङ्समा सर्वाधिक २६ रनको योगदान गरेकी बिन्दुले ३६ बलमा दुई चौका प्रहार गरेकी थिइन् । 

नेपालले चार बलको अन्तरमा सीता रानामगर र कविता जोशीको विकेट गुमायो । १४.६ ओभरमा सीता रानामगर (६) तथा १५.३ ओभरमा कविता (०) रनमा आउट भए । दुवै खेलाडी आउट हुँदा नेपाल ६९–५ को अवस्थामा थियो । सातौँ क्रममा ब्याटिङ गरेकी कप्तान रुविना क्षेत्रीले सरितासँग छैटौँ विकेटका लागि आठ रनको साझेदारी गरिन् । 

सरिताले आफ्नो विकेट एम्बाबाजीलाई दिइन् । सरिताले २७ बलमा दुई चौकाको सहयोगमा २२ रन जोडिन् । रुविनाले डोली भट्टासँग सातौँ विकेटका लागि २४ रनको साझेदारी गरी नेपाललाई १०१–७ को सुदृढ स्थितिमा राखिन् । डोली नटआउट रहँदै एक छक्काको सहयोगमा नौ रनको योगदान दिइन् । कप्तान रुविनाले १५ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । 

बलिङमा एम्बाबाजीले २६ रन खर्चेर सर्वाधिक दुई विकेट लिइन् । एनिपोले नौ रनमा एक विकेट लिइन् । अवेको र मुसामालीले समान एक विकेट हात पारे । युगान्डाका बलरले नेपाललाई १३ अतिरिक्त रन दिएका थिए । 

सीताले क्यान निर्णय स्विकार्ने
नेपाली टोलीकी अलराउन्डर सीता रानामगरले नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो निर्णय सहजै स्वीकार गर्ने बताएकी छिन् । क्यानले युगान्डाविरुद्धको सिरिजका लागि खेलाडी घोषणा गर्दा सीताको उपकप्तान खोसेको थियो । क्यानले सीताको स्थानमा इन्दु बर्मालाई उपकप्तान बनाएको छ । ‘मैले क्यानको निर्णय स्वीकार गर्नुपर्छ,’ सञ्चारकर्मीसँग सीताले भनिन्, ‘टोलीमा एक सिनियर खेलाडीका रूपमा खेलिरहेकी छु ।’ महिला सिनियर टोलीमा लामो समय उपकप्तानको जिम्मेवारी सम्हालेकी सीताले युवा खेलाडीलाई एक्सपोजर दिलाउन क्यानले निर्णय गरेको बताइन् ।

कसिलो बलिङ तर लक्ष्य रक्षा असफल
एक सय दुई रनको लक्ष्य रक्षा गर्न ओर्लेको नेपाली खेलाडीले कसिलो बलिङ गरेका थिए । इनिङ्सको कुनै पनि समयमा नेपाली बलरले युगान्डाका खेलाडीलाई सहज रन बटुल्न दिएनन् । यसकारण खेलको नतिजा इनिङ्सको अन्तिम ओभरमा निस्किएको हो । नेपालकी कविता कुँवरले ३.५ ओभरमा १८ रन तथा सवनम राईले २३ रनमा दुई विकेट लिँदा युगान्डाले खेल जित्न १९औँ ओभरसम्म प्रतिस्पर्धा गर्‍यो । 

कविताको व्यक्तिगत ३.५ ओभरमा सराह अकिटेन्गले एक रन लिँदै युगान्डालाई रोमाञ्चक एक विकेटको जित दिलाइन् । इनिङ्सको १९औँ ओभर गर्न आएकी कविताले नेपाललाई जित दिलाउन निकै प्रयास गरेकी थिइन् । उनले १९.२ र १९.३ ओभरमा विकेट लिँदै युगान्डामाथि दबाब बढाइन् । अकिटेन्गले १९.४ ओभरमा दुई रन तथा १९.५ ओभरमा एक रन लिँदा नेपाल युगान्डासँग एक विकेटले पराजित भयो । 

युगान्डाको जितमा एम्बाबाजीले १६ बलमा तीन चौकाको सहयोगमा १६ रन बनाइन् । म्यान अफ दी म्याच रिता मुसामालीले ३४ बलमा ३० रन रन तथा फ्राक्लिन नाजुम्बाले २८ बलमा १९ रन जोडे । युगान्डाको ब्याटिङमा आठ ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् । दुई ब्याट्सम्यान शून्य रनमा आउट भए । सीता रानामगरले २१ रनमा एक विकेट लिइन् । नेपाली बलरले १२ अतिरिक्त रन दिए ।