Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मणिरत्न शाक्य
२०७९ जेठ १ आइतबार ०८:३९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोरोना महामारी र जलवायु परिवर्तनको सम्बन्ध 

Read Time : > 2 मिनेट
मणिरत्न शाक्य
२०७९ जेठ १ आइतबार ०८:३९:००

वैश्विक तापमान वृद्धिका कारण पशुपक्षीले वासस्थान परिवर्तन गर्दा तिनीहरूबाट मानिसमा रोगको संक्रमण फैलिन सहज हुन्छ

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण केही मत्थर भएको देखिए पनि यसको जोखिम अहिले पनि त्यत्तिकै छ । यसको नयाँ–नयाँ भेरियन्टको उत्पत्ति र लहर चल्नाले जनजीवन त्राहिमाम भइरहेको छ भने अहिले अर्काे नयाँ भेरियन्टको चौथो लहर विश्वका विभिन्न स्थानमा चल्नुका साथै कोरोना संक्रमण बढ्न थालेको खबरले जनजीवन एकपल्ट फेरि भयभीत भएको छ । 

वैज्ञानिकहरू कोरोना भाइरसको उत्पत्ति चमेरोबाट भएको हुन सक्ने बताउँछन् । बेलायतको क्याम्ब्रिज विश्व विद्यालयका कोरोना महामारी अध्ययन समूहका मुख्य शोधकर्ता डा. रोबर्ट बेयर कोरोना भाइरसको उत्पत्ति चमेरोबाट भएको हुन सक्ने थुप्रै आधार भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– कोरोना जुनोटिक डिजिज भएकाले यो चमेरोबाट पशुपक्षीमा र पशुपक्षीबाट मानिसमा संक्रमण भएको हुन सक्ने अनुमान छ । अध्ययनका क्रममा विभिन्न प्रजातिका चमेरोको शरीरमा सयभन्दा बढी विभिन्न प्रकारका कोरोना भाइरस रहेको पाइएको उल्लेख गरिएको छ । जसमा सार्स कोभ १, मर्स कोभ र इबोलाजस्ता भाइरस समावेश छन् । 

डा. रोबर्ट बेयर पुनः भन्नुहुन्छ– कोरोना संक्रमण महामारी रूपमा फैलिनुमा जलवायु परिवर्तनको महत्वपूर्ण भूमिका रहेको विश्वास गर्न सकिन्छ । अनुसन्धान समूहका विज्ञहरूको भनाइअनुसार कोरोनाको उत्पत्ति र जलवायु परिवर्तनको सीधा सम्बन्ध नभए पनि कोरोना संक्रमण पैmलिनुमा जलवायु परिवर्तनको निश्चित प्रभाव रहेको छ । लन्डन कलेज विश्वविद्यालयका प्राध्यापक केट जोन्स पनि कोरोना संक्रमण विश्वमा फैलिनुमा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको स्विकार्नुपर्ने बताउनुहुन्छ । वैज्ञानिक अनुसन्धानअनुसार विश्वव्यापी रूपमा देखापरेको वायुमण्डलीय तापमान वृद्धिले विगत सय वर्षमा विश्वमा वनस्पति र वनजंगलको पर्यावरणमा धेरै परिवर्तन आएको छ । वैश्विक तापमान वृद्धिका कारण वनजंगलमा बसोवास गर्ने पशुपक्षी तुलनात्मक रूपमा चिसो ठाउँतिर सर्दै गइरहेका छन् । साथै, मानवीय कारणले जंगल फँडानी र आगलागीले पशुपक्षीको वासस्थानमा परिवर्तन आएको छ । 

चीनको दक्षिणी भेक र यससँग जोडिएका म्यानमार र लाओसको घना जंगल चमेरोको उपयुक्त वासस्थान बन्न पुगेको अनुसन्धानमा उल्लेख छ । त्यहाँ पहिलेभन्दा ४० विभिन्न प्रजातिका चमेरो थपिएको बताइएको छ । जसले विभिन्न किसिमका भाइरस बोक्ने उल्लेख गरिएको छ । यस्तो गतिविधि देखा पर्नुमा जलवायु परिवर्तनको भूमिका रहेकोे विज्ञहरू बताउँछन् । यही जंगलमा आश्रित चमेरोको संंसर्गमा आएका पशुपक्षीबाट मानिसमा कोभिड–१९ संक्रमण भएको हुन सक्ने अड्कल गरिएको छ । 

वैज्ञानिकहरू जलवायु परिवर्तनको प्रभाव सुस्त रूपमा देखा पर्ने प्रक्रिया भए पनि यसले पर्यावरणमा व्यापक हेरफेर ल्याएको बताउँदै यसबाट कुनै पनि प्राणी अछुत रहन नसक्ने बताउँछन् । विश्वमा अहिले एकातिर वायुमण्डलीय तापमान वृद्धिले विभिन्न रोग निम्त्याइरहेको छ भने अर्कातिर वायु प्रदूषण र कार्बन उत्सर्जनको वृद्धिले मानिसको स्वास्थ्यमा अनावश्यक समस्या थप्दै गइरहेको वैज्ञानिकहरू उल्लेख गर्छन् । अमेरिकाको ‘केरी इन्स्टिच्युट अफ इको सिस्टम स्टडिज’ नामको अध्ययन संस्थानका डा. रिक ओस्टफिल्ड कोरोना संक्रमण, वायुमण्डलीय तापमान वृद्धि र वायु प्रदूषणको अद्भूत सम्बन्ध रहेको बताउँदै यसले मानवजीवनमा अस्वाभाविक रूपले नकारात्मक प्रभाव पारिरहेको स्पष्ट गर्नुहुन्छ । यी तीनवटै प्रकोप वास्तवमा वातावरणीय विनाशसँंग सम्बन्धित छ, जुन यस धरतीमा मानवजीवन विनाशको अस्त्र अनि नरसंहारको प्राकृतिक हतियारका रूपमा देखा परिरहेको छ । 

यही कारण वैज्ञानिकहरू ठूलो स्वरले भन्ने गर्छन् कि वातावरणीय विनाशका कारण देखा परेको कोरोना महामारी मानिसलाई मर्र्नु र बाँच्नुसम्मको अवस्थामा पुर्‍याउने एउटा अविस्मरणीय घटना बन्न पुगेको छ । वातावरणसँग सम्बन्धित विभिन्न संस्था र सामाजिक अभियन्ता कोरोना महामारीलाई जलवायु परिवर्तन र वातावरणीय विनाशको परिणामको एउटा प्रारम्भिक चेतावनीका रूपमा लिने गर्छन् । यसले मानिसलाई जलवायु परिवर्तन र वातावरणीय विनाशप्रति होसियारी रहन खबरदारी गरेको स्पष्ट हुन्छ । 

यसै सन्दर्भ विश्वमा फैलिँदै गरेको जलवायु परिवर्तनको प्रभाव र यससँग सम्बन्धित विविध समस्यालाई तह लगाउने उद्देश्यले सन् १९७७ मा क्योटो प्रोटोकल अन्तर्राष्ट्रिय सन्धि गरेर विश्वमा वायुमण्डलीय तापमान बढाउने हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउने निर्णय गरेको थियो । त्यस्तै, सन् २०१५ मा पेरिस सहमति गरी वैश्विक तापमान वृद्धि औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवस्थाभन्दा १.५ डिग्री सेल्सियसले नबढाउने गरी नियन्त्रणमा राख्ने समझदारी भएको थियो । 

कोरोना महामारीमा लकडाउनका कारण मानिस स्वयं घरमा बन्दाबन्दी भएर बस्न बाध्य हुँदा यातायातका साधन, कलकारखाना र पर्यटन व्यवसाय आदि ठप्प भई कार्बन उत्सर्जनमा आकस्मिक रूपमा कमी आएको थियो । जसले गर्दा वातावरण तुलनात्मक रूपमा पहिलेभन्दा स्वच्छ भएको थियो । 

एक अध्ययनअनुसार कोरोना महामारीका वेला सन् २०२० अप्रिलमा विश्वमा सबभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश चीनमा सन् २०१९ को त्यही अवधिको तुलनामा २५ प्रतिशतले कार्बन उत्सर्जनमा कमी आएको थियो । 

नेपालमा पनि कोरोना महामारीका कारण बन्दाबन्दीको वेला प्रदूषणमा कमी आई वातावरण स्वच्छ हुनुका साथै भिजिबिलिटीमा वृद्धि भई हिमाल प्रस्ट देखिएको स्मरण गर्न सकिन्छ । यसबाट मानिसले चाहेमा कार्बन उत्सर्जन कम गरी प्रदूषण न्यून गर्न सकिन्छ भन्ने प्रस्ट हुन्छ । यही कारण वैज्ञानिकहरू जलवायु परिवर्तको प्रभावलाई मनन् गरी प्राकृतिक रूपमा देखा पर्ने वायुमण्डलीय तापमान वृद्धिलाई नियन्त्रण गर्न नसके पनि मानवीय कारणले हुने वायुमण्डलीय तापमान वृद्धिलाई नियन्त्रण गरी पृथ्वीलाई वातावरणीय विनाशबाट बचाउनुका साथै मनुष्य जीवनलाई सुरक्षित गर्न आवश्यक भएको बताउँछन् ।                                       

(शाक्य जल तथा मौसम विज्ञान विभागका पूर्वउपमहानिर्देशक हुन्) 
[email protected]