निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ ८ आइतबार
  • Sunday, 22 May, 2022
२०७९ बैशाख ३१ शनिबार ०६:४९:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–भारतका प्रधानमन्त्री आउने भएपछि लुम्बिनीमा बुद्धजयन्तीको भव्य तयारी

Read Time : > 4 मिनेट
२०७९ बैशाख ३१ शनिबार ०६:४९:००

अन्तर्राष्ट्रिय विमानस्थल र पाँच हजार सहभागी अटाउने ध्यानकेन्द्र प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि चारवटा हेलिप्याड तयार, स्वागतको तयारीका लागि दैनिक चार सयभन्दा बढी मजदुर सक्रिय

यस वर्षको बुद्धजयन्ती लुम्बिनी र भैरहवाका लागि विशेष अवसर बोकेर आएको छ । नेपाल र भारत दुई देशका प्रधानमन्त्रीको उपस्थिति हुने भएपछि लुम्बिनी क्षेत्र विभिन्न तयारीमा तीव्रताका साथ लागिरहेको छ । देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनदेखि भारतीय प्रधानमन्त्रीको लुम्बिनी आगमनसमेत त्यसै दिन राखिएको छ । त्यसका साथै देशकै ठूलो अर्थात् पाँच हजार सहभागी सजिलै अटाउने सभाहल तथा ध्यानकेन्द्रको पनि उद्घाटन हुने भएको छ । कोभिड–१९ का कारण नेपालको पर्यटनले भोगेको कठिनाइ बिस्तारै समाधान हुने बाटोमा लागेसँगै लुम्बिनीका विभिन्न गतिविधि पनि धार्मिक पर्यटन प्रवद्र्धनको माध्यम हुन सक्ने अपेक्षा गरिएको छ । 

रातारात सफाइ
पहिलोपटक गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउन लागेका भारतीय प्रधानमन्त्रीको स्वागतार्थ तीव्र गतिमा सरसफाइका कामहरू भएका छन् । जेठ २ गते बुद्धपूर्णिमाका अवसरमा लुम्बिनी भ्रमणका लागि आउन लागेका भारतीय प्रधानमन्त्रीको स्वागतको तयारीका लागि दैनिक चार सयभन्दा बढी मजदुर खटिएका छन् । लुम्बिनी विकास कोषको आफ्नै मातहतमा ज्यालादारी तीन सय ५० भन्दा बढी मजदुर खटाएको छ । त्यस्तै, कोषभित्र निर्माण भइरहेका विभिन्न संरचनाहरूको निर्माणका लागि पनि ठेकेदारले थप मजदुरलाई काममा लगाएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । कोषले मायादेवी मन्दिर, शान्तिदीप, केन्द्रीय नहरलगायत कोषभित्रका विभिन्न क्षेत्रहरूमा सरसफाइ गरिरहेको छ । विगत २० दिनदेखि बुद्धपूर्णिमाका लागि भनेर कोषले सरसफाइका लागि मजदुर खटाएको भट्टराईले जानकारी दिए । 

चारवटा हेलिप्याड निर्माण
भारतीय प्रधानमन्त्री मोदी हेलिकोप्टरमार्फत लुम्बिनी आउनेछन् । लुम्बिनी आउने क्रममा चारवटा हेलिकोप्टर प्रयोग हुने जनाइएको छ । यसका लागि चारवटा हेलिप्याड निर्माण गरिएको छ । यसका साथै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्ने पाँच हजार क्षमताको सभाहलको बाँकी रहेको काम तीव्र रूपमा भइरहेको छ । हेलिप्याड निर्माण र सभाहलको बाँकी काम सक्नका लागि सम्बन्धित निर्माण कम्पनीले पनि डेढ सयभन्दा बढी मजदुर फिल्डमा राखेर काम गरिरहेको भट्ट्रराईले बताए । 

मोदीले बौद्ध बिहारको शिलान्यास गर्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा भारतले निर्माण गर्न लागेको बौद्ध बिहारको शिलान्यास गर्नेछन् । एक बिघा क्षेत्रफलमा निर्माण हुन लागेको बिहारको शिलान्यास र मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । एक अर्ब ६० करोड रुपैयाँको लागतमा भारतले लुम्बिनीमा बौद्ध बिहार बनाउँदै छ । लुम्बिनीमा यसअगाडि १८ वटाभन्दा बढी देशले आ–आफ्नै मुलुकको संस्कृति झल्किने बिहारहरू बनाउँदै आएका छन् । 

भैरहवामा न्यारोबडी जहाजको उडान
भैरहवामा निर्माण सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २ जेठमा प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले सातामा तीन उडान गर्ने जनाएको छ । उद्घाटनको पहिलो दिन सवा सात बजे जजिराको विमान विमानस्थलमा अवतरण गर्ने तालिका छ । सोही दिन नेपाल वायुसेवा निगमले पनि काठमाडौंबाट भैरहवा न्यारोबडी एयरबस ३२० जहाजबाट प्रमोसन सेड्युल फ्लाइट गर्ने तालिका बनाएको छ । निगमको जहाज बिहान ६ बजे काठमाडौंबाट गौतम बुद्ध विमानस्थलमा उड्नेछ भने भैरहवाबाट आठ बजे काठमाडौंका लागि उड्ने बताइएको छ । निगमले सर्वसाधारणका लागि टिकट बुकिङसमेत खुला गरेको छ । काठमाडौं–भैरहवा यात्राका लागि टिकटको चार हजार पाँच सय १० र सात हजार ४० गरी दुई प्रकारको मूल्य तोकेको छ ।

यस्तो छ देशकै ठूलो सभाहल तथा ध्यानकेन्द्र

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका दिन पाँच हजार क्षमताको सभाहलको उद्घाटन गर्नेछन् । हलभित्रका सबै काम सकिए पनि हलबाहिर बाँकी रहेका केही काम तीव्र रूपमा भइरहेका छन् ।

सन् २०१६ मा लुम्बिनीमा बौद्ध सम्मेलन तथा बुद्धजयन्ती मनाउने क्रममा हावाहुरी र पानीले टाँगिएको पालसमेत क्षतविक्षत बनाएपछि आयोजक तथा सहभागीलाई निकै दुःख दियो । राष्ट्रपति र प्रधानमन्त्री नै सहभागी भएको कार्यक्रम पानीले बिथोल्नुका साथै हाहाकार भएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले त्यतिबेलै घोषणा गरे, ‘अब लुम्बिनीमा पाँच हजारजना मानिस अटाउने सभाहल बन्नेछ । हावाहुरीका कारण कार्यक्रम नै प्रभावित हुने अवस्था रहनेछैन ।’ 

लुम्बिनीमा हरेक वर्ष आयोजना हुने बुद्धजयन्ती तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका लागि लाखौँ रकम खर्च गरे कार्यक्रमस्थल बनाउने प्रचलन थियो । सन् २०१६ को कार्यक्रममा प्रधानमन्त्रीले हल बनाउने घोषणा गरेपछि अर्को वर्षका लागि नेपाली सेनाले फलामको ट्रस प्रयोग गरेर अस्थायी सभाहल बनायो । त्यसपछि त्यही सभाहलको दुई सय मिटर पर अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसहितको स्थायी सभाहल निर्माणका लागि टेन्डर प्रक्रिया सुरु भयो । यस वर्ष भने स्थायी सभाहल निर्माण सम्पन्न भएको छ । यसका साथै लुम्बिनीले नेपालकै ठूलो सभाहल पाएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई बताउँछन् ।  

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बनेको यो हल अन्तर्राष्ट्रिय ध्यानकेन्द्रका रूपमा परिवर्तन गरिएको छ । ‘पहिलो चरणमा पिल्लर र माथि छाना लगाएर कार्यक्रम गर्ने गरी हल बनाउने काम भएको थियो,’ योजना प्रमुख भट्ट्रराईले भने । पछि ध्यानकेन्द्रका रूपमा परिमार्जन गर्दै अन्तर्राष्ट्रिय ध्यानकेन्द्र बनाइएको उनको भनाइ छ । 

हलको पहिलो चरण २८ करोड १३ लाख रुपैयाँमा निर्माण गरिएको हो । पछि ध्यानकेन्द्रमा रूपान्तरण गर्न दोस्रो चरणको कामका लागि थप ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यो योजना यही असार मसान्तमा सक्ने अन्तिम मिति थियो । ‘हलभित्रका काम सकिएका छन्, बाहिरी कामहरू तीव्र गतिमा भएका छन्,’ विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भने ।

कस्तो छ हल ?
३८ हजार वर्गमिटरमा फैलिएको उक्त ध्यानकेन्द्र सर्कुलर डोम सेट शैलीमा निर्माण भएको छ । अन्तर्राष्ट्रिय ध्यानकेन्द्र ४० वटा आरसिसी पिल्लर, मेटल ट्रस्ट स्ट्रक्चर, दुई मिटर चौडाइको भित्र–बाहिर गर्ने ढोका लगाइएको छ । ध्यानकेन्द्रमा रोलर पार्टिसनको व्यवस्था गरिएकाले आवश्यकताअनुसार पाँच सय, एक हजार, दुई हजार र तीन हजारजना एकैपटकमा बस्न र ध्यान गर्न सकिने व्यवस्था रहेको छ । यस ध्यानकेन्द्रको डिजाइनलाई शान्तिको प्रतीक डिजाइन पनि भन्ने गरिन्छ । 

अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस् भनी ध्यानकेन्द्रको छानो गोलाकार र रुफ इलिभेसनमा डिजाइन गरिरहेको छ । भुइँ र पिल्लरहरूमा ढलानपछि मोजाइक प्रयोग गरिएको छ । ध्यानकेन्द्रको बाहिरी परिसरमा गौतम बुद्धका मूर्तिहरूले सजाइएको छ । मूलगेटको दुवैतर्फ पोखरी निर्माण गरिएको छ । ध्यानकेन्द्रको चारैतिर सेन्सर ढोकाहरूको व्यवस्था, साउन्ड प्रुफ, तापक्रम मेन्टेन, पर्याप्त प्रकाशको व्यवस्था मिलाइएको छ । जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले ध्यानकेन्द्रको उद्घाटन गर्नेछन् । उद्घाटनपछि ध्यानकेन्द्रमा बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०७९ मनाउने कार्यक्रम छ । जहाँ भारतीय प्रधानमन्त्री र नेपालका समकक्षी देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

लुम्बिनीमा ध्यानकेन्द्र बनेसँगै अब लुम्बिनीमा धेरै ठूला–ठूला कार्यक्रमहरू गर्न बाटो खुलेको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । ध्यानकेन्द्र बनेसँगै लुम्बिनीमा राष्ट्रिय–अन्तर्राष्ट्रिय कार्यक्रम आउनेमा आफूहरू विश्वस्त रहेको ज्ञवालीको भनाइ छ ।  

सभाहल तथा ध्यानकेन्द्रको छानो गोलाकार छ । भित्रपट्टि कमलको फूलको आकर्षक प्रतीक अंकित छत रहेको छ । हलमा ध्यान गर्नेहरू पलेँटी मारेर बस्दा पाँच हजारजना सजिलै अट्ने क्षमता  छ । कुर्सी राखेर बस्दा आठ हजार अट्नेछ । यसलाई सात डिग्रीसम्म तापक्रम तल–माथि हुन सक्ने इपिएस प्यानल प्रयोग गरेर छाना लगाइएको छ । सभाहलमा आठवटा भाषामा एकैसाथ सुन्न सकिने गरी एकैपटक हेडफोन प्रयोग गर्न सकिने ध्वनि व्यवस्थापन गरिनेछ । ध्यानकेन्द्र तथा सभाहलमा प्रवेश गर्ने ढोका पासवर्डले खोल्न सकिने गरी निर्माण गरिएका छन् । 

हलमा ५५ साना ढोका रहेका छन् । हलको बाहिरी कम्पाउन्ड वालमा गौतम बुद्धका दुई फिट उचाइका ९७ वटा मूर्ति राखिएका छन् । मुख्य द्वारमा ६ फिट अग्लो बुद्धमूर्ति राखिएको छ । पार्किङमा ५० गाडी अट्ने क्षमता रहेको छ । हलको दायाँ–बायाँ भिभिआइपी लेन र प्रतीक्षालय निर्माण गरिएको छ । एकैपटक ६० जनाले प्रयोग गर्न मिल्ने गरी अपांगमैत्री शौचालय निर्माण गरिएको छ ।