मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ बैशाख २९ बिहीबार ०६:३७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

हालसम्म २२ आरोही पुगे सगरमाथा चुचुरोमा

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ बैशाख २९ बिहीबार ०६:३७:००
  •  यस सिजनमा नेपालका २७ हिमाल आरोहण गर्न एक सय १८ टिमबाट नौ सय ५३ आरोहीले लिए अनुमति
  •  डोरी टाँगेर सडक बनाउने कामिरिता शेर्पाको टोलीसहित २२ जनाद्वारा सफल आरोहण, बिहीबारसम्ममा ठूलो समूह चुचुरोमा पुग्ने अनुमान 


यस वर्षको वसन्त ऋतुमा अहिलेसम्म शेर्पा र विदेशी आरोही गरी २२ जनाले सगरमाथा आरोहण गरिसकेका छन् । मौसमले साथ दिएमा बिहीबार बिहानसम्म ठूलो समूहले सगरमाथा चुचुरोमा पाइला टेक्ने पर्यटन बोर्ड, पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले बताए ।विश्वभरबाट सगरमाथा आरोहण गर्न आएका आरोहीलाई बाटो बनाउँदै र डोरी टाँग्दै किर्तिमानी आरोही कामिरिता शेर्पाको नेतृत्वमा ११ जनाको टोलीले शनिबार साँझ सगरमाथाको चुचुरोमा पाइला राखेको थियो । शेर्पाले आफ्नो पुरानो रेकर्ड तोड्दै २६औँपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

आइसफल डाक्टरले चुचुरोसम्म पुग्ने बाटो तयार गरेपछि ९ मेमा सांग्रिला ट्रेकिङ कम्पनीबाट नौजना शेर्पा र दुईजना विदेशीसहित ११ जनाले सगरमाथाको सफल आरोहण गरेको अधिकृत भट्टराईले बताए । ‘आरोही सगरमाथाको चुचुरोतर्फ जाने क्रम जारी छ, मौसमले साथ दियो भने एक हप्ताभित्र धेरैले सगरमाथा चढिसकेका हुनेछन्’ उनले भने, ‘कामिरिताको टोलीले बाटो तयार पारेर झरेपछि अरू टोली सगरमाथा शिखरतर्फ लागेका हुन् ।’ वसन्तकालीन आरोहण ३१ मेसम्म नियमित चल्नेछ । त्यसपछि क्याम्प टुदेखि शिखरसम्म टाँगिएको डोरी निकालिने उनको भनाइ छ । 

 वसन्त ऋतुमा आरोहणको अनुमति लिने उच्च
यस वर्ष वसन्तकालीन सिजनमा हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या अहिलेसम्मकै उच्च रहेको छ । हालसम्म २७ हिमाल आरोहण गर्न एक सय १८ समूहका नौ सय ५३ आरोहीले अनुमति लिइसकेका छन् । कोभिडअघि सन् २०१९ मा एक सय १५ समूहका आठ सय ८९ आरोहीले अनुमति लिएका थिए । नेपालमा हिमाल आरोहणका लागि वसन्त ऋतु र शरद ऋतु उत्कृष्ट मानिन्छन् । त्यसो त समर र विन्टरमा पनि आरोही आउने गर्छन् । वसन्त ऋतुमा सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर बाटो बनाइने हुँदा धेरै आरोही यही सिजनमा सगरमाथा चढ्न आउने गरेको भट्टराईले बताए । 

 सगरमाथा चढ्न तीन सय १७ लाई अनुमति 
यो सिजनमा सगरमाथा आरोहणका लागि ५८ देशका तीन सय १७ जनाले अनुमति लिएका छन्, जसमध्ये ७३ महिला छन् । सगरमाथा आरोहण गर्न सन् २०२१ मा चार सय आठ आरोहीले अनुमति लिएका थिए । जुन अहिलेसम्मकै धेरै हो । तर, त्यसवेला सफल आरोहण गर्ने एक सय ८३ आरोही मात्र रहेको अधिकृत भट्टराईले बताए । गत वर्ष वसन्त ऋतुमा दुई सय ७६ सहयोगी कर्मचारीसहित चार सय ५९ जनाले सगरमाथा आरोहण गरेका थिए ।यो सिजनमा सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै अमेरिकाबाट ६५, बेलायतबाट ३४, रसियन फेडेरेसनबाट १७, नेपालबाट २१, भारतबाट २३, फ्रान्सबाट १३, चीनबाट १४, क्यानडाबाट १७, अस्ट्रेलिया र अस्ट्रियाबाट ११–११ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

 वसन्त ऋतुमा कुन वर्ष कति आरोही ?
वसन्त ऋतुमा हिमाल आरोहण गर्न सन् २०१६ मा ९८ टिमबाट सात सय ४० आरोहीले अनुमति लिएका थिए । यस्तै, २०१७ मा एक सय आठ टिमबाट आठ सय ३८, सन् २०१८ मा एक सय सात टिमबाट आठ सय ४४, सन् २०१९ मा एक सय १५ टिमबाट आठ सय ८९ आरोहीले अनुमति लिएका थिए । कोभिड संक्रमण फैलिन थालेपछि सन् २०२० को वसन्त ऋतुमा लकडाउन गरिएको थियो । यस्तै, सन् २०२१ मा सात सय ५७ आरोहीले विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका थिए । 

 २७ हिमालमा आरोहण खुला
यो वर्ष नेपालका २७ हिमाल आरोहणका लागि खुला गरिएको छ । यी हिमाल आरोहणका लागि सोमबारसम्म सात सय ४९ पुरुष र दुई सय चार महिला गरी नौ सय ५३ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहण गर्न तीन सय १७, लोत्से एक सय २७, आमादब्लम ९७, कञ्चनजंघा ६९, अन्नपूर्ण–१ आरोहण गर्न २६, अन्नपूर्ण–४ आरोहण गर्न नौ, बरुत्से २०, भेमदाङ री आठ, धौलागिरि २७, डोल्मा खाङ चार, गंगापूर्ण आरोहण गर्न दुईजनाले अनुमति लिएका छन् ।
यस्तै, हिमलुङ आरोहणका लागि ३५, खाङचुङ दुई, मकालु ३९, मनास्लु नौ, मुकोट चार, नोर्बु खाङ पाँच, नुप्त्से ७१, फु खाङ पाँच, पोखर खाङ नौ, पुथा हिउँचुली १४, रत्नचुली नौ, सरिबुङ १०, सउला दुई, धम्पुस (थापा पिक) १२, तिलिचो १९ र उर्कन्मङ आरोहणका लागि दुईजनाले अनुमति लिएका छन् ।

 साढे ४७ करोड रोयल्टी
अहिलेसम्म हिमाल आरोहणका लागि अनुमति लिने आरोहीबाट ४७ करोड ४६ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । सबैभन्दा बढी सगरमाथा आरोहीबाट ३९ करोड ६८ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । यस्तै, लोत्से आरोहीबाट दुई करोड ६८ लाख, कञ्चनजंघा आरोहीबाट एक करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको तथ्यांकले देखाउँछ ।  यो सिजनको अन्नपूर्ण आरोहण भने सकिएको विभागका शाखा अधिकृत भट्टराईले बताए । ‘कतिजनाले सफल आरोहण गरे भन्ने अझै यकिन भइसकेको छैन, तर आरोहण सम्पन्न भइसकेको खबर आएको छ,’ उनले भने, ‘कञ्चनजंघा (८,५८६ मि.) आरोहण पनि करिब सकिनै लागेको सुन्नमा आएको छ ।’