![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/pakrau-nayapatrika2019-04-30.jpeg)
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ की एक महिलाको हत्या आरोपमा तीनजना पक्राउ परेका छन्। ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढाको हत्या आरोपमा पुथाउत्तरगंगा–११ का जयकुमार बुढा, अर्जुन बुढा र कुमारसिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये जयकुमार बहालवाला वडाध्यक्ष हुन् भने कुमारसिंह नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थपेर घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी डाँगीले बताए । किटानी जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैशाख १९ गते चुनावी प्रचारका क्रममा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीचमा झडप भएको थियो । झडपका क्रममा केही घाइते भएका थिए भने जुनमाया बेपत्ता भएकी थिइन् ।
खोजतलासका क्रममा बुढाको शव स्थानीय जंगलमा सोमबार फेला परेको थियो । बुढाको शरीरको विभिन्न भागमा चोट रहेको बताइएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ ।