१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हिमाल पौडेल काठमाडाैं
२०७९ बैशाख २८ बुधबार ०५:५७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मौन अवधि सुरु : सीमानाका बन्द, मदिरामा रोक, अब मतदान गर्न बाँकी

Read Time : > 4 मिनेट
हिमाल पौडेल, काठमाडाैं
२०७९ बैशाख २८ बुधबार ०५:५७:००
  • २८ र २९ वैशाखमा मतदानस्थलमै मतदाता शिक्षा 
  • आचारसंहिताको उल्लंघनका घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली संवेदनशील ठानिएका विभिन्न स्थानमा परिचालन ।
  • १० हजार सात सय ५६ मतदानस्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रबाट ३० वैशाखमा निर्वाचन

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आउँदो शुक्रबार देशभरका सात सय ५३ पालिकामा एकै चरणमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुँदै छ ।

‘जनताले प्रतिनिधि रोज्न पाउने लोकतान्त्रिक हक–अधिकारलाई सुनिश्चित गर्न ०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको छ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूबाट सम्पूर्ण तयारी पूरा भइसकेका छन् ।’

विभिन्न दल र स्वतन्त्र उम्मेदवारसमेत गरी एक लाख ४५ हजार ११ जना चुनावी मैदानमा छन् । जसमध्ये ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार तीन सय १३ जना पुरुष छन् । तीन सय ५५ जना विभिन्न पदाधिकारी र ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । 

एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताले जम्मा ३५ हजार दुई सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्नेछन् । निर्वाचनका लागि १० हजार सात सय ५६ मतदानस्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्र तय भएका छन् ।

त्यसैबीच, मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मतदानअगाडिको ४८ घन्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । 

मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

त्यसैबीच, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झै–झगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

निर्वाचन सुरक्षालाई ध्यान दिँदै मंगलबार राति १२ बजेदेखि देशका सीमानाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आयोगले स्थानीय तह सदस्यको निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई अपिल गरेको छ । 
 
कसरी मतदान गर्ने ? 

–    मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जाने र मतपत्रमा सातवटा निर्वाचन चिह्नमा मत संकेत गरी मतदान गर्ने ।

–    पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, तेस्रो ठाडो लहरमा वडाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, छैटौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारको निर्वाचन चिह्नमध्ये कुनै दुई निर्वाचन चिह्नमा छुट्टाछुट्टै छाप लगाई दुई उम्मेदवारलाई मतदान गर्ने । 

–    मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ । मतपत्रको छैटौँ र सातौँ लाइनबाट दुईजना वडासदस्य पदमा निर्वाचित गर्नुपर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिह्न भएका दुईभन्दा बढी कोठामा मत संकेत गरिएकोमा सो पदको मत बदर हुन्छ । मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ । मतपत्रमा स्वस्तिक छापबाहेक अन्य छाप लगाएमा वा अन्य चिह्नले मत संकेत गरेमा मत बदर हुन्छ । दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । उम्मेदवारको चिह्न रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।  

चुनावी अपेडट 

मौन अवधि : निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधि रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न मंगलबार राति १२ बजेबाट मौन अवधि । 

सीमानाका बन्द : मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था । उम्मेदवार र अत्यावश्यक सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध । अन्तर्राष्ट्रिय उडान कायमै । 

मदिरामा रोक : निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि सुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्री–वितरण र सेवन गर्न सख्त निषेध ।

मतदान : १० हजार सात सय ५६ मतदानस्थलका २१ हजार नौ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताले जम्मा ३५ हजार दुई सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्ने । 

निर्विरोध : विभिन्न राजनीतिक दलका तीन सय ९० जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित, ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित ।

आचारसंहिता कार्यान्वयन : आचारसंहिता उल्लंघन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा स्पष्टीकरण माग, प्राप्त जवाफको अध्ययन र छानबिन । आचारसंहिताको उल्लंघनका घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली तुलनात्मक रूपमा संवेदनशील ठानिएका विभिन्न स्थानहरूमा परिचालन ।

कर्मचारी व्यवस्थापन : मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार आठ सय ६५ जना स्वयंसेवक आ–आप्mनो मतदानकेन्द्रमा खटिनेछन् । 

सहभागी दल : स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा । 

उम्मेदवार : ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार तीन सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी मैदानमा । 

मतदाता शिक्षा : २८ र २९ वैशाखमा मतदानस्थलमै मतदाता शिक्षा । मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन । मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण । 

आयोगको संरचना : केन्द्रीय निर्वाचन आयोग, ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय । 

अनुगमन संयन्त्र : निर्वाचन आचारसंहिता उल्लंघनको अनुगमनका लागि विभिन्न तहमा संरचना । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध । टोलीलाई आचारसंहिताविपरीत दल र उम्मेदवारले झन्डा, चिह्न र गाडी प्रयोग गरेमा, अनधिकृत रूपमा सामानको ओसारपसार वा नगद वा जिन्सी वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न सक्ने अधिकार ।