Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २१ बुधबार ०८:४२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमको नयाँ योजना : वाइडबडीमा वाइफाई, चीनको ग्वान्झाउ र कोरियाको सिओलमा उडान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २१ बुधबार ०८:४२:००

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले वाइडबडी जहाजको उडानमा वाइफाई सुविधा उपलब्ध गराउने भएको छ । निगमले वाइडबडीमा उच्च गुणस्तरको इन्टरनेट सेवा उपलब्ध गराउन इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले डेढ वर्षअघि अन्तर्राष्ट्रिय उडानमा इन्टरनेट सुविधा उपलब्ध गराउने नीति बनाएपछि निगमले वाइडबडी जहाजमा वाइफाई सुविधा राख्ने तयारी थालेको हो ।

अन्तर्राष्ट्रिय उडानका यात्रुलाई नेपाली आकाशको १० हजार फिटभन्दा माथि नेपालको फ्रिक्वेन्सी नीतिअनुसार इन्टरनेट सुविधा दिन पाउने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता एवं निर्देशक सन्तोष पौडेलले जानकारी दिए । जहाजमा वाइफाई सिस्टम जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने, यात्रुको सन्तुष्टि अझ बढ्ने र निगमलाई पनि थप आय–आर्जन हुने निगमले बताएको छ । निगमसँग अहिले एयरबस कम्पनीका दुईवटा वाइडबडी जहाज छन् ।

निगमले अन्तर्राष्ट्रिय उडान गर्ने चार जहाजको सदुपयोग गर्दै ११औँ गन्तव्यका रूपमा चीनको ग्वान्झाउ र १२औँ गन्तव्यका रूपमा दक्षिण कोरियाको सिओलमा उडान विस्तार गर्ने लक्ष्य बनाएको छ । अहिले निगमले दिल्ली दैनिक दुई उडान, मुम्बई र बैंग्लोर साताको तीन–तीन उडान, दोहा र दुबई साताको पाँच–पाँच दिन, क्वालालम्पुर, बैंकक र नारिता सातामा तीन–तीन उडान, हङकङ सातामा एक दिन र साउदी अरेबियामा साताको दुई उडान गर्दै आइरहेको छ । निगमले साउदी अरेबियामा २२ अप्रिल २०२२ देखि उडान सुरु गरेको हो ।

 जहाज खरिद र गन्तव्य विस्तार
निगमको १० वर्षे व्यावसायिक योजनाअनुसार सन् २०२२ मा आन्तरिकतर्फ पाँचवटा जहाज खरिद गर्ने योजना छ । तीनवटा स्टल र दुईवटा ट्रंक रुटका जहाज किन्न ६ अर्ब ५८ करोड लाग्ने अनुमान छ । आन्तरिक उडानमा जहाज थपेपछि लुक्ला, पोखरा, जोमसोम र भैरहवामा उडान सेवा विस्तार गर्ने निगमको योजना छ । 
व्यावसायिक योजनामा सन् २०२३ मा आन्तरिकतर्फ थप दुई–दुई थान स्टल र ट्रंक रुटका जहाज किन्ने उल्लेख छ । साथै, अन्तर्राष्ट्रियतर्फ दुई थान न्यारोबडी जहाज थप्ने लक्ष्य छ । सन् २०२४ मा अन्तर्राष्ट्रिय उडानमा एक थान वाइडबडी, दुई थान न्यारोबडी र सन् २०२५ मा एक थान वाइडबडी थप्ने योजना बनाइएको छ । अन्तर्राष्ट्रिय उडानमा विमान थपेपछि दक्षिण कोरियाको सिओल, चीनको ग्वान्झाउ र सांघाई, श्रीलंकाको कोलम्बो, भारतको अहमदाबाद, इन्डोनेसिया, जर्मनीको फ्र्यांकफर्ट र अस्ट्रेलियामा उडान सुरु गर्ने निगमले जनाएको छ । 

निगमले जहाजको संख्या बढाउने योजना बनाए पनि अहिले भइरहेकै चारवटा अन्तर्राष्ट्रिय उडानका जहाजलाई फुल फ्लेजमा उडाउन सकिरहेको छैन । अहिले भइरहेका दुईवटा न्यारोबडी, दुईवटा वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा–ब्याज नियमित भुक्तानी गर्न नसक्दा कुल दायित्व बढेर ४७ अर्ब ४४ करोड रुपैयाँ पुगिसकेको छ । आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाजले विमानस्थलमा घाम तापिरहेका छन् । सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा प्राप्त ‘एमए–६०’ र ‘वाई–१२ ई’ जहाज १५ साउन ०७७ देखि ग्राउन्डेड अवस्थामा छन् । 

निगमले विमान खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जाको साँवा तथा ब्याज भुक्तानीका लागि प्रत्येक महिना कुल आयको ३० प्रतिशतले हुन आउने रकम नियमित रूपमा जम्मा गर्ने गरी सिंकिङ फन्ड स्थापना गरेको छ । सो फन्डमा रकम जम्मा गर्न थालिसकेको निगमले जनाएको छ । यसले दुवै संस्थाबाट लिएको कर्जा भुक्तानी सहज हुने निगमको विश्वास छ । 

 भैरहवा उडान गर्न उपसमिति गठन
भैरहवामा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न निगमले प्राविधिकतर्फका नायब महाप्रबन्धकको संयोजकत्वमा एक उपसमिति गठन गरी काम थालेको छ । निगमले गौतम बुद्धमा ग्राउन्ड ह्यान्डलिङको काम सम्हालिसकेको छ । २ जेठदेखि उडान सुरु हुने भैरहवामा अहिलेसम्म कुवेतको जजिरा एयरवेजले मात्र प्रस्ताव पेस गरी अनुमति पाएको छ । निगमले अहिलेसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेबारे निर्णय गरिसकेको छैन । यस्तै, निकट भविष्यमा सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र भूमिस्थ सेवा सञ्चालनका लागि पनि सो उपसमितिले अध्ययन गर्नेछ ।