मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १९ सोमबार ०६:५०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

क्वात्रा भारतीय विदेशसचिव, नेपालको राजदूतमा श्रीवास्तव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १९ सोमबार ०६:५०:००

भारतीय नवनियुक्त विदेशसचिव विनयमोहन क्वात्राले आइतबार साउथ ब्लकस्थित विदेश मन्त्रालयमा कार्यभार सम्हालेका छन् । नेपालका लागि निवर्तमान राजदूत रहेका क्वात्रा भारतका ३४औँ विदेशसचिव हुन् । नेपालमा राजदूत रहँदै गर्दा विदेशसचिव नियुक्त हुने उनी श्यामशरण पछि दोस्रो भारतीय कूटनीतिज्ञ हुन् । 

विदेशसचिवको कार्यभार सम्हाल्नुअघि क्वात्रा बिहीबारदेखि शनिबारसम्म भारतीय विदेशमन्त्री डा.एस जयशंकरको बंगलादेश र भुटान भ्रमणको प्रतिनिधिमण्डलमा सहभागी थिए । भुटानबाट शनिबार जयशंकरसँगै दिल्ली फर्केका क्वात्राले आइतबार बिहान कार्यभार सम्हालेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्विटरमा जनाएका छन् ।

कार्यभार सम्हालेलगत्तै विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा क्वात्राले प्रधानमन्त्री नरेन्द्र मोदीको युरोप भ्रमणबारे ब्रिफिङ गरेका थिए । भारतका ३३औँ विदेशसचिव हर्षवर्धन शृंगलाले शनिबारदेखि अवकाश पाएका छन् । नेपालबाट राजदूतका रूपमा बिदाई भएर जानुअघि विदेशसचिव क्वात्राले नेपाल आफ्नो मन र मुटुमा रहेको भन्दै कुनै पनि समस्या समाधानका लागि आफू सधैँ प्रयत्नशील रहने बताएका थिए । 

नेपालका राजदूतमा श्रीवास्तव 
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार भारतले अतिरिक्त सचिव नवीन श्रीवास्तवलाई नेपालका लागि राजदूत पठाउने तयारी गरेको छ । उनी भारत–चीन सम्बन्धका जानकार मानिन्छन् । उनी हाल सातौँ वरीयताका अतिक्ति सचिव हुन् ।  नेपालका लागि राजदूतमा हाल बेल्जियममा रहेका भारतीय राजदूत सन्तोष झा, अतिरिक्त सचिपप्रभात कुमार, अभय ठाकुरलगायत चर्चामा थिए । यद्यपि, श्रीवास्तवको नियुक्तिबारे भारत सरकारले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । भारत सरकारले भुटानका लागि नयाँ राजदूतमा सहसचिव सुधाकर दलेलालाई पठाउन लागेको पनि हिन्दुस्तान टाइम्सले जनाएको छ । दलेला विगतमा भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान हेर्ने डिभिजनका प्रमुख थिए ।