१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १६ शुक्रबार ०९:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजार अनुगमनलाई प्रभावकारी  बनाउन उद्योगमन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १६ शुक्रबार ०९:३५:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी तथा कृत्रिम अभावलाई रोक्ने गरी बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन  उनले निर्देशन दिएका हुन् । 

उद्योगमन्त्री बडूले बिहीबार मन्त्रालयअन्तर्गतका सचिव, ६ वटा विभाग, सातवटा महाशाखा प्रमुख र सहसचिवसँग बिहीबार छलफल गर्दै अहिलेको चुनावका वेलामा बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । राज्य संयन्त्र र प्रायः सबैको ध्यान चुनावमा केन्द्रित भएको मौकामा खाद्य सामग्री, तरकारीलगायत अत्यावश्यक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि, कालोबजारी र कृत्रिम अभाव देखाई अनुचित फाइदा लिने प्रवृतितर्फ सचेत रहनुपर्ने उनले बताए । उनले संघीय, प्रदेश, जिल्ला तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिए ।

उद्योगमन्त्री बडूले दुई दिने बिदाको बहानामा सरकारी स्रोत तथा पेट्रोलियम पदार्थको दुरुपयोग नगर्नसमेत कर्मचारीलाई निर्देशन दिएका छन् । आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार साताको दुई दिन बिदा दिने गरी भएको निर्णयका विषयमा विभिन्न कोणबाट टिप्पणी भइरहेको सन्दर्भमा उनले एक हप्तामा गर्ने काम पाँच दिनमै गर्ने गरी कार्यघण्टा थप गरिएको तथा सरकारको सेवा प्रवाहलाई छिटो–छरितो बनाउन प्रविधि (डिजिटलाइजेसन)को प्रयोग गर्ने बताए । 

उक्त अवसरमा उद्योगमन्त्रीले रुग्ण उद्योग सञ्चालनको ढाँचा (मोडालिटी) बनाउनसमेत निर्देशन दिएका छन् । रुग्ण उद्योग सञ्चालनका लागि विभिन्न तहमा छलफल तथा अध्ययन भए पनि अहिलेसम्म परिणाम नदेखिएको भन्दै उद्योगमन्त्रीले अब तत्काल कार्यान्वयनमा जाने गरी सञ्चालन ढाँचा बनाउन निर्देशन दिएका हुन् ।

‘लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरू सञ्चालनको विषय सधैँ सरकारको प्राथमिकतामा पर्ने भए पनि हालसम्म सञ्चालन हुन सकेको छैन, तत्काल उपयुक्त मोडालिटी तयार गरी पुनः सञ्चालनमा ल्याएर राष्ट्रिय उत्पादन वृद्धि गर्नुका साथै पर्याप्त रोजगारी सिर्जना गर्नुपर्ने आवश्यक रहेको छ,’ उनले भने, ‘त्यसैले, रुग्ण उद्योग सञ्चालनका लागि विभिन्न तहमा छलफल तथा अध्ययन भए पनि अहिलेसम्म परिणाम नदेखिएकाले अब तत्काल कार्यान्वयनमा जाने गरी सञ्चालन ढाँचा (मोडालिटी) बनाउन र सम्बद्ध सबै पक्षसित छलफल र सुझाव लिने व्यवस्था मिलाउनुहोस् ।’