१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बन्द प्रशिक्षणबाट बाहिरिनुको कारण बताउँदै राष्ट्रिय फुटबल टोलीका असन्तुष्ट खेलाडी । तस्बिर : नयाँ पत्रिका
२०७९ बैशाख १६ शुक्रबार ०८:०४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षककै कारण क्लोज क्याम्प छाड्न बाध्य भयौँ : खेलाडी

Read Time : > 2 मिनेट
२०७९ बैशाख १६ शुक्रबार ०८:०४:००

एन्फा पदाधिकारीले पनि समस्याको समाधान गर्नुको साटो सार्वजनिक रूपमा खेलाडीकै कमजोरी देखाएको आरोप

नेपाली राष्ट्रिय फुटबल टोलीका ‘विद्रोही’ खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारकै कारण बन्द प्रशिक्षण (क्लोज क्याम्प) छाड्न बाध्य भएको बताएका छन् । ‘विद्रोही’ खेलाडीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रशिक्षककै कारण प्रशिक्षण छाड्नुपरेको बताएका हुन् । 

होटल रोयल सिगेमा आयोजित पत्रकार सम्मेलनमा खेलाडीहरूले भने, ‘प्रशिक्षक अलमुताइरीसँग छलफल गर्न जाँदा हामीलाई पटक–पटक प्रशिक्षण छाड्न भन्नुभयो, एक किसिमले उनकै निर्देशनमा हामीले बन्द प्रशिक्षण छाडेका हौँ ।’ कार्यक्रममा बन्द प्रशिक्षण बहिष्कार गरेका सबै १० खेलाडी उपस्थित थिए । उनीहरूले विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा)लाई समेत जानकारी गराएको बताए । तर, एन्फा नेतृत्वले भने खेलाडीको गल्ती देखाउँदै मिडियामा अभिव्यक्ति दिएको आरोप लगाए । 

‘पटक–पटक क्याम्प छाडेर जान भनेपछि हामी बाध्य भएका हौँ, हामीले टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई जानकारी दिइसकेका थियौँ,’ सबै १० खेलाडीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘एन्फा पदाधिकारीले समस्याको समाधान गर्नुसट्टा सार्वजनिक रूपमा मिडियामा खेलाडी क्याम्पबाट भागे भन्ने अभिव्यक्ति दिएको पायौँ ।’ प्रशिक्षकसँगको विवाद आन्तरिक रूपमै समाधान गर्न प्रयास हुँदा एन्फाले केही सहयोग नगरेको खेलाडीहरूको आरोप छ । 

‘टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो, तर सार्वजनिक रूपमै हामीबारे झुटो आरोप लगाइयो, हामी सत्यतथ्य जानकारी दिन यहाँ प्रस्तुत भएका छौँ,’ उनीहरूले भने ।

प्रशिक्षकद्वारा अनावश्यक दबाब
‘विद्रोही’ खेलाडीले प्रशिक्षक अलमुताइरीले अनावश्यक रूपमा व्यक्तिगत जीवनमा समेत दबाब दिएको आरोप लगाएका छन् । प्रशिक्षक अलमुताइरीले क्लोज क्याम्प वा राष्ट्रिय टोलीमा रहँदा खेलाडीलाई कहीँ पनि बोल्न नपाउने निर्देशन दिएका थिए ।

खेलाडीले मिडियामा प्रतिक्रिया दिन प्रशिक्षकसँगै अनुमित लिनुपर्ने नियम बनाइएको छ । अनुमतिविना टिप्पणी दिँदा कारबाहीको भागेदारी हुनुपरेको पत्रकार सम्मेलनमा खेलाडीहरूले बताए । ‘प्रशिक्षकले हाम्रो मौनताको फाइदा उठाउँदै अनावश्यक दबाब दिइरहनुभयो, धेरैपटक चुप बस्यौँ तर योभन्दा पनि बढी मानसिक दबाब खेप्नुपर्ने देखेर एकजुट भई आन्दोलनमा होमिएका हौँ,’ उनीहरूले भने, ‘अहिले नै हामी एकजुट नभए आउने पिँढीका खेलाडीले योभन्दा बढी मानसिक दबाब खेप्नुपर्ने देखिन्छ ।’ 

प्रशिक्षणमा रहेका थप चार खेलाडी पनि असन्तुष्ट
प्रशिक्षणमा रहेका थप चार खेलाडीले पनि प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । टोलीका कप्तान चेम्जोङले बुधबार साँझ नै सामाजिक सञ्जालमार्फत अलमुताइरीले खेलाडीमाथि गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए । प्रशिक्षणमा रहेका मिडफिल्डर पुजन उपरकोटी, स्ट्राइकर दर्शक गुरुङ, मिडफिल्डर एरिक विष्ट र गोलरक्षक दीप कार्कीले पनि असन्तुष्टि पोखेका छन् । ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा जायज विषय उठाउँदा खेलाडीप्रति गरिएको व्यवहारप्रति असन्तुष्टि छ,’ खेलाडीहरूकोे फेसबुक स्टाटसमा लेखिएको छ । 

‘प्रशिक्षकसँगव्यक्तिगत समस्या छैन’

खेलाडीहरूले पत्रकार सम्मेलनमा अलमुताइरीसँग व्यक्तिगत रूपमा कुनै समस्या नभएको पटक–पटक दोहोर्‍याए । तर, प्रशिक्षकको रूपमा भने गम्भीर असन्तुष्टि रहेको दाबी गरे । ‘व्यक्तिगत रूपमा उहाँ (अलमुताइरी) सँग केही पनि समस्या छैन, तर प्रशिक्षकका रूपमा धेरै समस्या छ,’ चन्दले भने । चन्दले आफ्नो पक्षमा वकालत गराउन खेलाडीलाई प्रयोग नगरेको पनि स्पष्ट पारे । ‘म टोलीमा पर्नुपर्छ भनी कुरा उठाएको पटक्कै होइन,’ उनले भने, ‘खेलाडीभन्दा राष्ट्र र टोली ठूलो हो, हामी सबै खेलाडी यसकै ड्युटी गरिरहेका छौँ ।’ सुजल श्रेष्ठले पनि चन्दलाई टोलीमा समावेश गर्नुपर्छ भनी अगाडि नआएको जनाए । ‘रोहितलाई टोलीमा राख्नुपर्छ भनेर हामी आएका हौइनौँ,’ श्रेष्ठले भने, ‘अहिले हाम्रो न्यूनतम आवश्यकता पनि पूरा भएको छैन ।’ खेलाडी संघको अध्यक्षमा हालै चयन भएका विक्रम लामाले एन्फाबाट केही पनि जानकारी नआएको बताएका छन् । उनले आफूले एक खेलाडीका रूपमा खेलाडीकै पक्षमा बोलेको जनाए । 

प्रशिक्षककै निर्देशनमा क्याम्प छाडेको हुँ : रोहित चन्द
टोलीका सिनियर खेलाडी रोहित चन्दले प्रशिक्षणमा प्रशिक्षक अलमुताइरीसँग खेलाडीको व्यवस्थापन राम्रो नभएको गुनासो राखे । ‘मैले प्रशिक्षणमा रहेका खेलाडीहरू बस्ने र खाने व्यवस्था राम्रो नभएको गुनासो प्रशिक्षकसमक्ष राखेको थिएँ,’ रोहितले भने, ‘तर उहाँले कुरै सुन्नुभएन, एकैपटक तिमी मेरो क्याम्पबाट घर जान सक्छौ भन्नुभयो, त्यसपछि उहाँकै निर्देशनअनुसार बाहिरिएको हुँ ।’ सुविधाका विषयमा खेलाडीले आवाज उठाएपछि प्रशिक्षकसँग सिनियर खेलाडीको दूरी बढेको हो । ‘तपार्इंहरू एन्फाको होस्टल वा होटलको निरीक्षण गर्न सक्नुहुन्छ, त्यहाँ कस्तो सुविधा छ, स्पष्ट हुन्छ,’ चन्दले भने । 

बन्द प्रशिक्षणमा टोलीका कप्तान किरण चेम्जोङ नभएका कारण रोहितले नेतृत्व गरेका थिए । सिनियर र जुनियर खेलाडीको समस्या उनले प्रशिक्षकसमक्ष राख्दै आएका थिए । ‘बन्द प्रशिक्षणमा टोलीको नेतृत्व गरिरहेका रोहितले सामान्य प्रश्न सोध्दा जुन व्यवहार गरियो, त्यसमा हामी असन्तुष्ट थियौँ, राष्ट्रिय टोलीका प्रशिक्षकले टोलीका सदस्य खेलाडीलाई त्यस किसिमको व्यवहार गर्नु राम्रो होइन,’ खेलाडीहरूले भने, ‘त्यसमाथि क्याम्प नै छाडेर जा भन्नु अन्यायपूर्ण हो भन्ने हामीलाई लागेको छ ।’

चन्दसँगै सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामाले प्रशिक्षण छाडेका थिए । अहिलेसम्म एन्फा नेतृत्व पक्षले यसबारे केही टिप्पणी दिएको छैन ।