१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रायसिना डायलगमा किन  गएनन् परराष्ट्रमन्त्री खड्का? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५६:oo

परराष्ट्रमन्त्री डा. नारायण खड्का भारतको स्थापित चिन्तन संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)द्वारा आयोजित रायसिना डायलग बहस शृंखलामा अन्तिम समयमा अनुपस्थित भएका छन् । भूराजनीति र भूअर्थनीतिका समसामयिक वैश्विक तथा क्षेत्रीय विषयमा भारतीय विदेश मन्त्रालयको संलग्नतामा रायसिना डायलगमा बहस हुँदै आएको छ ।

नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा विशेष सम्बोधन गर्ने गरी निमन्त्रणा आए पनि स्थानीय निर्वाचनमा गृहजिल्ला उदयपुर जानुपर्ने बाध्यता देखाएर परराष्ट्रमन्त्री खड्काले अन्तिम समयमा भ्रमण रद्द गरेका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सहभागिता जनाएका छन् । 

यो क्षेत्रको सबैभन्दा ठूलो कूटनीतिक जमघटमा परराष्ट्रमन्त्रीको अनुपस्थिति मुलुकको हितमा नभएको भन्दै सरकारी अधिकारीहरूले अप्रसन्नता व्यक्त गरेका छन् । रायसिना डायलग सोमबारदेखि बुधबारसम्म नयाँदिल्लीमा आयोजना भएको थियो । कार्यक्रममा सहभागी हुन स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ड्ट, क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री एन्थोनी अब्बोटसहित नर्वे, पोर्चुगल, स्लोभानिया, अरमेनिया, लक्जेमबर्ग, लिथुवानियाका परराष्ट्रमन्त्री सहभागी थिए । आयोजकले नेपालका परराष्ट्रमन्त्रीको एकल छलफल कार्यक्रमको तयारी गरेको थियो भने भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग परराष्ट्रमन्त्री खड्काको द्विपक्षीय वार्ताका लागि कूटनीतिक च्यानलमा छलफल चलिरहेको थियो । 

‘परराष्ट्रमन्त्रीले सुरुमा जाने इच्छा जनाएपछि कूटनीतिक च्यानलमा सम्पर्क भयो र नेपालले आफ्ना धारणा राख्ने गरी कार्यक्रमको तयारी हुँदै थियो, तर स्थानीय निर्वाचन तयारीमा लाग्नुपर्ने कारण देखाएर परराष्ट्रमन्त्रीले अन्तिममा नजाने निर्णय गर्नुभयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो क्षेत्रको सबैभन्दा ठूलो कूटनीतिक मञ्चमा नेपालका एजेन्डा राख्ने अवसर थियो । मंगलबार बिहान गएर बेलुका फर्किंदा पनि हुन्थ्यो । यो राम्रो भएन ।’ 

परराष्ट्रमन्त्री खड्का उदयपुरबाट फर्केर बुधबार मन्त्रालय पुगेका थिए । ‘चुनावी व्यस्तताका कारण मन्त्रीज्यूले एक महिनायता परराष्ट्र मन्त्रालयमा समय दिन पाउनुभएको छैन,’ उनीनिकट स्रोतले भन्यो, ‘उहाँको व्यस्तता राजनीतिक काममा अलि बढेको छ ।’ यसबारे कुराकानी गर्न खोज्दा परराष्ट्रमन्त्री खड्का सम्पर्कमा आएनन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युरोपियन युनियनकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले उद्घाटन गरेको कार्यक्रममा आयोजकले नेपालले दक्षिण एसियासँग गरेको अपेक्षा, कनेक्टिभिटीलगायतका विषयमा गरेको अपेक्षाबारे बोल्न परराष्ट्रमन्त्रीलाई निमन्त्रणा पठाएको थियो । खड्कालाई भारतीय विदेश मन्त्रालयको निमन्त्रणा थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भएको एक महिनाभित्रै परराष्ट्रमन्त्री खड्काको भारत भ्रमणका लागि परराष्ट्रले आवश्यक तयारी पनि थालिसकेको थियो । 

पछिल्लोपटक नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २६ पुस ०७५ मा रायसिना डायलगलाई सम्बोधन गरेका थिए । ०७६ मा तत्कालीन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निमन्त्रणा आए पनि उनीहरू सहभागी भएनन् । त्यसवेला चुच्चे नक्सा विवादका कारण उनीहरू सहभागी भएनन् । विदेश मामिलाका विभिन्न विषयमा रायसिना डायलगमा छलफल हुने गरेको छ । भारतीय विदेश मन्त्रालय पनि कार्यक्रमको साझेदार हो । यसपटक रायसिना डायलगमा लोकतन्त्रमा पुनर्चिन्तन, व्यापार, प्रविधि र सिद्धान्त, बहुपक्षीयताको अन्त्य, वैश्विक व्यवस्थाको एउटा नेटवर्क, हिन्द प्रशान्त क्षेत्रको अवस्था, स्वास्थ्य विकास तथा पृथ्वी, हरित संक्रमणको प्राप्ति, साझा प्रयास–विविध यथार्थ, प्रविधि र युद्धका विभिन्न पक्षबारे छलफल भएको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल रायसिना डायलगमा सहभागी भए । उनी त्यसका लागि सोमबार दिल्ली पुगेका थिए । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पौडेलको भ्रमण स्वीकृत गरेको थियो । पौडेलले मंगलबार आयोजित प्यानल डिस्कसनलाई सम्बोधन गरे । हिमालदेखि महासागरसम्म, उपमहाद्वीपमा वाणिज्य, कनेक्टिभिटी र क्रिएटिभिटीको उपयोगका विषयमा पौडेलले सम्बोधन गरेका थिए । कार्यक्रमलाई भारतीय नवनियुक्त विदेशसचिव एवं नेपालका लागि राजदूत विनयमोहन क्वात्राले पनि सम्बोधन गरेका थिए । 

ad
ad