१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख १४ बुधबार ०९:४०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

मुनसट भ्याक्सिन : कोरोनाका सबै भेरियन्टमा प्रभावकारी हुने दाबी 

जनावरमा गरिएको परीक्षणको सफलतापछि पहिलो चरणमा मानिसमा परीक्षण हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख १४ बुधबार ०९:४०:००

कोभिडविरुद्धको मुनसट खोप सबै भेरियन्टविरुद्ध प्रभावकारी हुने दाबी गरिएको छ । अमेरिकी सेनाले उत्पादन र क्लिनिकल ट्रायल गरिरहेको मुनसट अर्थात् एउटा मात्रै डोज दिए पुग्ने खोप कोभिडविरुद्ध प्रभावकारी रहेको बताइएको छ । 

खोप परीक्षणको प्रारम्भिक नतिजापछि ट्रिनिटी कलेज डब्लिनका प्रोफेसर ल्युक ओनिलले खोप प्रभावशाली रहेको र छिटै नतिजा दिने बताएका छन् । मुनसट खोप पहिलोपटक जनावरमा परीक्षण गरिएको थियो । जनावरमा गरिएको परीक्षणको सफलतापछि हाल यो पहिलो चरणमा मानिसमा परीक्षण भइरहेको छ । 

विश्वभर कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आएको एक वर्षभन्दा बढी भइसकेको छ । तर, हालसम्म कोभिड खोपको दुई डोजबाहेक बुस्टर डोजसमेत प्रयोगमा आइसकेको छ । अझै बुस्टर डोज विश्वव्यापी रूपमा प्रयोगका लागि अनुमति दिइएको छ । तर, प्रत्येक नयाँ भेरियन्ट फैलिएसँगै घट्दो खोपको प्रभावकारिताले नयाँ खोपको आवश्यकता झन् बढाएको विज्ञहरू बताउँछन् । 

एक मात्र डोज भएको मुनसट खोप प्रयोगले भाइरसको भविष्य परिवर्तन गर्न सक्ने विज्ञहरूले दाबी गरेका छन् । तीव्र उत्परिवर्तनका कारण स्वरूप परिवर्तन गर्दै आएको कोभिड भाइरसको सम्भावित सबै भिन्नताविरुद्ध सुरक्षा गर्न सक्ने बताइएको छ । ‘कोभिड भ्याक्सिन भेरियन्टपिच्छे फेरबदल हुनु कमजोर पक्ष हो । सामान्यतया शरीरको एन्टिबडीले भाइरसविरुद्ध काम गर्न केही समय लाग्छ । छोटो समयमा ल्याइने भ्याक्सिनमा परिवर्तनले स्वास्थ्यमा झन् समस्या पर्न सक्छ । महामारी रोकथामको विकल्प खोप मात्र भएको समयमा खोपमा आधारभूत प्रक्रियामा आउने परिवर्तनले महामारी नियन्त्रण सहज छैन,’ प्रोफेसर ओनिलले भनेका छन् ।

भाइरसमा भइरहेको तीव्र उत्परिवर्तनको समयमा खोप उत्पादक कम्पनीहरू दीर्घकालीन खोपको अनुसन्धानमा जुटेका छन् । पछिल्ला केही अध्ययन भविष्यमा हुने कुनै पनि भेरियन्टविरुद्ध लड्न सक्ने खोप निर्माणमा सक्रिय रहेको देखिएको छ । 

पेन्सिलभेनिया विश्वविद्यालयका प्रोफेसर र फाइजरको कोभिड भ्याक्सिनमा प्रयोग हुने एमआरएनए प्रविधिका प्रमुख ड्रयु वेइसम्यान हाल यस्तै एउटा परियोजनामा अध्ययन गरिरहेका छन् । खोपमा अध्ययन गरिरहेका उनले भनेका छन्, ‘हरेक तीन वा ६ महिनामा नयाँ–नयाँ भेरियन्ट देखा पर्ने सम्भावना छ । त्यसैले भविष्यमा आउने महामारी समाधान गर्न खोप अद्यावधिक गर्नु मात्र व्यावहारिक समाधान होइन ।’ 

अनुसन्धानकर्ता वेइसम्यानको प्यानलले हाल प्यान–कोरोना भाइरस खोप परीक्षण गरिरहेको जनाइएको छ । जसमा एउटा मात्राले भाइरसका सबै भेरियन्टविरुद्ध प्रभावकारी भूमिका खेल्ने बताइएको छ । ‘हामीसँग दुई वा तीन वर्षमा विश्वव्यापी खोप हुन सक्छ, तर हामीले यसमा काम गरिरहनेछौँ र भाइरसलाई चुनौती दिन समयसँगै परिवर्तन गर्दै छौँ,’ उनले भनेका छन् । पछिल्लो समय फाइजर र बायोटेक कम्पनीले समेत मुनसट खोपमा क्लिनिकल परीक्षण गरिरहेको जनाएका छन् ।