१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १४ बुधबार
  • Friday, 09 May, 2025
ग्रेट बेनसिङ्गर
२o७९ बैशाख १४ बुधबार o७:२२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मस्कको स्वामित्व र ट्विटरको प्लाटफर्म

विगतमा ट्विटरलाई आलोचकको उछित्तो काढ्न, मोटोपनको खिल्ली उडाउन र क्रिप्टोकरेन्सीको विज्ञापन गर्न प्रयोग गर्ने मस्कले अब आफूनेतृत्वको प्लाटफर्मको कसरी प्रयोग गर्लान् ?

Read Time : > 2 मिनेट
ग्रेट बेनसिङ्गर
नयाँ पत्रिका
२o७९ बैशाख १४ बुधबार o७:२२:oo

टि्वटर तर्कसंगत र शालीन मञ्च कहिल्यै थिएन । अब यो झन् धेरै खराब हुने अपेक्षा मात्र गर्न सकिन्छ । ट्विटरको बोर्ड अफ डाइरेक्टरले सोमबार एलन मस्कको स्वामित्व ग्रहणको प्रस्ताव स्विकार्ने निर्णय गर्‍यो । सायद उनीहरू एलन मस्कको स्वामित्वमा कम्पनीले राम्रो गर्नेछ भन्ने निष्कर्षमा पुगेको हुनुपर्छ । तर, मस्क तिनै हुन् जसले विगतमा ट्विटरलाई उनका आलोचकको उछित्तो काढ्न, मानिसको मोटोपनको खिल्ली उडाउन र क्रिप्टोकरेन्सीको विज्ञापन गर्न प्रयोग गर्थे । 

मस्कले ट्विटरलाई ‘वाक् स्वतन्त्रताको समावेशी मञ्च’ बनाउने बताएका छन् । तर, यो वाक्यांशको खास अर्थ प्रयोगकर्ताले बुझ्नुपर्छ, त्यो हो, उनीजस्ता अर्बपतिका लागि वाक् स्वतन्त्रता । ट्विटरको बोर्डले प्रतिसेयर ५४.२० डलरको प्रस्तावमा बहस गरिरहेको वेलासमेत मस्कले सेक्युरिटिज र एक्सचेन्ज कमिसनका पदाधिकारीलाई ‘लाज पचेका कठपुतली’ भन्दै ट्विट् गरिरहेका थिए । टेस्ला, स्पेस–एक्स, न्युरालिंक र बोरिङ कम्पनीको नेतृत्व गरिरहेका मस्कले महामारीको प्रारम्भिक दिनमा लकडाउन लगाउने स्वास्थ्य अधिकारीलाई फासीवादी बताएका थिए । उनले टेस्लाका कामदारलाई काममा आउन बाध्य पारेको कुराको धेरैले विरोध गरेका थिए । मस्कले नेतृत्वमा रहेको टेस्लाको फ्रेमोन्ट, क्यालिफोर्नियास्थित कारखानामा नश्लील दुव्र्यवहार, भेदभाव र यौन उत्पीडनको घटना बाहिरिइरहन्छ । तर, कम्पनीले यस्ता व्यवहारलाई नसहने बताए पनि कोहीमाथि कारबाही भएको छैन ।

भर्खरै क्यालिफोर्नियाको एक नियामककर्ताले कम्पनीले सयौँ कर्मचारीलाई नश्लीय भेदभाव गर्दै पदोन्नतिका अवसर प्रभावित बनाएको र माथिका हाकिमले नश्लीय गालीगलोजको भाषा प्रयोग गरेको भन्दै कम्पनीलाई मुद्दा हालिदिए । क्यालिफोर्निया डिपार्टमेन्ट अफ फेयर एम्प्लोयमेन्ट एन्ड हाउजिङले क्यालिफोर्निया सर्वोच्च अदालतमा दायर गरेको मुद्दाअनुसार मस्कले आफ्ना श्रमिकलाई काममा नश्लीय गाली विभेद सहने बानी पार्न भनेको उल्लेख छ । टेस्लाले यो अरोपको खण्डन गरेको छ । मस्क नेतृत्वमा आएको खबरबाट ट्विटरका कैयौँ कर्मचारी आत्तिएका त्यसै होइनन् । 

निश्चित रूपमा, ट्विटरमा सुधार्नुपर्ने धेरै छ । ट्विटर अहिले नश्लीय ट्रोलिंग, उत्पीडन र गलत जानकारीले भरिएको छ । ट्विटरले घृणाजन्य सामग्री मत्थर बनाउन धेरैजसो चेतावनीयुक्त लेभलको प्रयोग गर्नेगर्छ, जुन सजिलै बेवास्ता गर्न सकिन्छ । अर्थात् यसले गलत सूचनाबाट हुने क्षतिलाई कम गर्दैन । जनवरी ६ मा क्यापिटल आक्रमणअघि र पछि, डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई उत्तेजित बनाउन ट्विटर प्रयोग गरे । कम्पनीले ट्रम्पले गरेको कृत्यका लागि ट्विटरबाट सही रूपमा प्रतिबन्ध लगाएको थियो । तर, उसले वर्षौँदेखि ट्रम्पका उस्तै व्यवहारप्रति आँखा चिम्लिएको थियो ।

ट्विटरमा विषाक्त अभिव्यक्ति वमन गर्नेहरूको सूचीमा मस्कको नाम पनि आउँछ । उनले आफूसँग असहमत व्यक्तिलाई ‘पेडो गाई (बालबालिकाप्रति यौन आकर्षण हुने व्यक्ति) भनेका छन् । महिलाको शारीरिक बनोटमा मजाक उडाएका छन् । उनले टेस्लाका मजदुरले संगठित हुने प्रयासविरुद्ध ट्विट् लेखेका छन् । उनको यो ट्विट् हटाउन बाध्य बनाइएको थियो । अहिले आएर उनी ट्विटरको स्वामित्व लिँदै छन् । 

मस्कले चाहेजस्तै ट्विटरमा जस्तो पनि सामग्री ट्विट् गर्न पाउने व्यवस्थाले विषाक्त प्रवृत्तिलाई थप बढाउनेछ । अधिक वाक् स्वतन्त्रताले हानिकारक बोलीलाई निस्तेज बनाइदिन्छ भन्ने धारणा लागू भएपछि प्रयोगकर्ताले पहिलेभन्दा चर्को स्वरमा गाली सुन्न तयार भएर बसे हुन्छ । मस्कले ट्रम्पलाई ट्विटरमा पुनस्र्थापित गर्छन् कि गर्दैनन् भन्ने विषमा सारासंसारले चासो दिनु स्वाभाविक हुनेछ । ट्रम्पले सोमबार अनुमति पाए पनि ट्विटरमा नफर्कने अभिव्यक्ति दिएका छन् । आफैँले निर्माण गरेको ट्रुथ सोसल नामक सामाजिक सञ्जालमा केन्द्रित हुने उनले प्रतिक्रिया दिएका छन् । तर, पूर्वराष्ट्रपति ट्रम्प उनका कैयौँ वाचामा युटर्न भएका उदाहरण छन् । 

ट्विटर एक सार्वजनिक मञ्चमा बदलिएको छ भन्ने मस्कको दाबीमा सत्यता छ । एकछिनलाई अर्को सार्वजनिक मञ्च फेसबुकलाई ख्याल गरौँ । अर्बपति मार्क जुक्करवर्गले कुनै रोकतोकविना चलाइरहेको यो कम्पनीसम्बन्धी गत वर्ष बाहिरिएको ‘लिक’मा निकै भयानक कुरा छन् । ‘लिक’अनुसार जुकरवर्ग नेतृत्वले उनको प्लाटफर्मले किशोरीको मानसिक स्वास्थ्यमा असर गरेको र प्रयोगकर्तामा डर तथा आक्रोश बढाएको थाहा पाएको, तर त्यसलाई बेवास्ता गरेको देखाएको छ । 

ट्विटरका सहसंस्थापक र बोर्ड सदस्यमध्ये एक ज्याक डोर्सीले एक समय ट्विट् गर्दै लेखेका थिए, ‘खासमा कुनै सामाजिक सञ्जाल अझ मिडिया कम्पनी एक व्यक्ति वा संस्थाको स्वामित्वमा हुनुहुँदैन भन्ने मलाई लाग्छ ।’ डोर्सी यो विश्वासमा टिकिरहेको भए राम्रो हुन्थ्यो । मस्कको नेतृत्वमा ट्विटरले लिएको नयाँ बाटो मन नपराउने मानिस कहाँ जाने ? ट्विटरको विकल्प हुने वाचा गरेर खुलेका सामाजिक सञ्जाल असफल भएका छन् । पछिल्लो असफलता ट्रम्पले खोलेको ट्रुथ सोसलले भोग्यो । 

मस्कको ट्विटरको स्वामित्व ग्रहण र वाक् स्वतन्त्राबीच कुनै लिनुदिनु छैन । बरु यो मेगाफोन नियन्त्रणसँग जोडिएको छ । ठूलो संख्यामा बफादार फ्यान भएका मस्क उनको मेगाफोनमा चाहेजति लगानी गर्न सक्ने भएका छन् । उनले अब उचित स्वास्थ्य नियमको खिल्ली उडाउन सक्छन् र आलोचकको चर्को विरोध जनाउन पनि स्वतन्त्र हुनेछन् । के यो राम्रो प्लाटफर्मको विशेषता हो ? द न्युयोर्क टाइम्सबाट