१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ११ आइतबार १७:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महामारी नियन्त्रणबारे अन्य देशले नेपालबाट सिक्नुपर्छ : डब्लुएचओ महानिर्देशक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ११ आइतबार १७:४९:००

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले कोभिड महामारी नियन्त्रणमा अन्य देशहरूले नेपालबाट पाठ सिक्नुपर्ने बताएका छन् । डा गब्रेयससको नेतृत्वमा भएको नेपाल भ्रमणका उपलब्धिबारे जानकारी दिन आइतबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको टोलीको तीनदिने भ्रमणमा डब्लुएचओका प्रतिनिधिहरूसँग गरिएको भेटवार्ताबारे जानकारी दिएको हो । 

मन्त्रालयको निमन्त्रणमा डब्लुएचओ महानिर्देशक डा.टेड्रोस,  दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, देशीय रणनीति तथा सहयोग विभागका निर्देशक डा. शम्भुप्रसाद आचार्यलगायत विश्व स्वास्थ्य संगठनको मुख्यालय र क्षेत्रीय कार्यालयका अधिकारीले तीनदिने नेपाल भ्रमण गरेका हुन् । डा. टेड्रोसले नेपालले कोभिड १९ प्रतिकार्यका लागि निःशुल्क र समतामूलक खोप उपलब्धता तथा वितरण, निःशुल्क कोभिड १९ परीक्षण, कोभिड १९ का केसहरूको निःशुल्क उपचार तथा व्यवस्थापनका लागि गरेका प्रयासहरूको प्रशंसा गर्दै विश्वका अन्य देशहरूले नेपालबाट पाठ सिक्नुपर्ने बताएका छन् । 

डा. टेड्रोसले टाइफाइड खोप तथा जिन सिक्वेन्सिङ ल्याबका सन्दर्भमा भएको समन्वय र प्रगतिको समेत प्रशंसा गर्दै विश्व स्वास्थ्य संगठन सदैव यसमा सहयोग गर्न तत्पर रहेको बताएका छन् । औपचारिक भ्रमणको पहिलो दिन विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोससहितको प्रतिनिधिमण्डलले मन्त्रालयका अधिकारीहरूसँग औपचारिक भेटवार्ता गरेको थियो । भेटमो कोभिड महामारी प्रतिकार्य, नेपालमा समयमै पर्याप्त कोभिड १९ खोप उपलब्ध गराउन खेलेको भूमिका, स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक स्वास्थ्यसेवाको सुदृढीकरण, नसर्ने रोगविरूद्धको बढ्दो बोझसँग लड्न हालै गरिएका प्रयास र टाइफाइड कन्जुगेट खोप अभियानको थालनीलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

डा. टेड्रोसले विश्व स्वास्थ्य संगठनको विश्वव्यापी लक्ष्यअनुसार सन् २०२२ को मध्यसम्ममा कुल लक्षित जनसंख्याको सत्तरी प्रतिशतलाई कोभिडविरूद्धको खोप लगाउने उद्देश्य हासिल गर्न नेपालले गरेको प्रयास प्रशंसायोग्य रहेको बताएका छन् । यसबाहेक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गहिरो चासो लिनुको साथै र अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्नेबारे चासो व्यक्त गरेका छन् । 

यस्तै डब्लुएचओको महानिर्देशकसँगको भेटमा नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बालस्वास्थ्य सहकार्य केन्द्रको स्थापना, किट जन्यरोगको तालिम तथा अनुसन्धान केन्द्रलाई विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न तथा नेपाली विज्ञहरूलाई अवसर तथा क्षमता विकासका लागि विश्व स्वास्थ्य संगठसमक्ष सहयोगको प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।