भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनी प्रदेशको चमक ह्वात्तै बढेको छ । प्रदेशको चमक मात्र होइन, समृद्धिको ढोका खोल्ने कोसेढुंगा बन्ने सम्भावना छ । किनभने, गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश सरकारले समग्र प्रदेशको समृद्धिको खाका बनाएको छ ।अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि पनि भैरहवा आउने पर्यटक बुद्धजन्मभूमि लुम्बिनी पुग्न करिब १५ किलोमिटर बस वा ट्याक्सीमा यात्रा गर्नुपर्ने अवस्था छ ।
तर, प्रदेश सरकारले भैरहवाबाट रेल चढाएर पर्यटकलाई लुम्बिनी पुर्याउने योजना अघि बढाएको छ । बुटवलको गोलपार्कबाट छुट्ने रेल भैरहवा हुँदै लुम्बिनी पुग्नेछ । ट्रम रेल तीन वर्षभित्रै सञ्चालन गर्ने योजना छ । प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री घिमिरेका अनुसार ६ देखि ७ वटा डिब्बा भएको ट्रम रेल बुटवल हुँदै लुम्बिनीसम्म सञ्चालन गरिनेछ । दुई अर्ब लागत अनुमान गरिएको यो परियोजना पाँच वर्षभित्रै पूरा गर्न सकिने क्षेत्रीको भनाइ छ ।
लुम्बिनीमा बर्थिङ सेन्टर र ठाउँठाउँमा सांस्कृतिक ग्राम बनाउनेदेखि पर्यटकीय स्थलहरूलाई डिजिटल पर्यटन सर्किटमा जोडेर विकास गर्ने तयारी छ । बुटवलको तिनाउमा स्ट्रिम बोट, नुवाकोट, वसन्तपुरमा जिपलाइन चलाउने योजना छ । तिनाउमा स्ट्रिम बोट चलाउनेसहितको प्रोजेक्टका लागि १० अर्ब लागत अनुमान गरिएको छ ।
औद्योगिक विकासदेखि पर्यटन विकासलाई टेवा पुग्ने गरी जनशक्ति उत्पादन गर्नमा जोड दिइनेछ । प्रदेशमा १ वैशाखबाट डिजिटल बस सञ्चालनमा आउँदै छ । तिनाउ खोलामा स्ट्रिम बोट सञ्चालनमा ल्याउन गोलपार्कस्थित पुलदेखि देवीनगरको पुलसम्मको क्षेत्र तय गरिएको छ । ‘हिउँदमा ढोका बन्द गरेर र वर्षायाममा खुला राखेर स्ट्रिम बोट सञ्चालनमा ल्याउनेछौँ । हरिद्वारमा जस्तै ढोका राख्ने योजना बनाएका छौँ । यो योजना अगाडि बढाउने क्रममा तिनाउ किनारका सुकुमबासीलाई मल्टी प्रपोजका घर बनाएर सिफ्ट गर्ने योजना छ । नदीका दुवै किनारलाई सुन्दर बनाउने योजना छ । यसका लागि १० अर्ब लागत अनुमान गरेका छौँ,’ उनले भने ।
घिमिरेका अनुसार प्रदेश विश्वविद्यालयको स्थापना पनि आगामी पाँच वर्षभित्र भइसक्नेछ । प्रदेशभरिको पर्यटन सर्किटको विकास गर्न लुम्बिनी आउने पर्यटकको बसाइ बढाउने गरी स्वर्गद्वारी, सुपादेउराली, पाणिनी, रेसुंगा, पाल्पा, बाँके, बर्दियादेखि रोल्पा, रुकुमसहित १२ वटै जिल्लाका पर्यटकीय स्थल पुर्याउने गरी योजना बनाइँदै छ । यी सबै परियोजनामा समयमै सम्पन्न हुन बजेट कार्यान्वयनमा बढी जोड दिनुपर्ने प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. ईश्वर गौतम बताउँछन् ।
लुम्बिनीमा अर्को सम्भावनाको क्षेत्र कृषि हो । चामल, मासु, दूध, तरकारी, मसलामा अहिले पनि करिब–करिब आत्मनिर्भर छ । कृषिमा भिटा परियोजनाअन्तर्गत दश अर्बको योजना सञ्चालन गर्ने तयारी छ । त्यस परियोजनाअन्तर्गत कृषि विकास बैंकमार्फत किसानलाई सस्तोमा ऋण उपलब्ध गराइन्छ । प्रदेश सरकारले लगानी सम्मेलनको तयारी पनि गरिरहेको छ । शिक्षा र स्वास्थ्यमा अहिले चालू परियोजनाहरूले राम्रो प्रतिफल दिइरहेका छन् । राप्तीमा प्रादेशिक अस्पतालको विकासदेखि प्रदेशमा आठवटा आयुर्वेदिक अस्पताल निर्माणको योजना अघि बढेको छ ।
विकास गर्न सकिने प्रशस्त आधार छन्
समृद्ध प्रदेश बनाउन लुम्बिनी प्रदेशका नागरिकको जीवनस्तर माथि उठाउनु जरुरी छ । त्यसका लागि शिक्षा र स्वास्थ्यसँगै कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा राखेका छौँ । लुम्बिनी क्षेत्रको विकासलाई प्रस्थान बिन्दु बनाएर प्रदेश सरकारले उच्च महत्व दिएको छ । संघीय सरकारसँग आवश्यक समन्वय गर्दै लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थलहरूको विकासलाई विशेष चासो र महत्व दिएका छौँ । लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशको पर्यटन विकासको पूर्वाधार विस्तार गर्नेछौँ ।
भालुवाङदेखि घोराही र त्यहाँबाट सहिदमार्ग हुँदै चीन जोड्दा यस प्रदेशको विकासमा थप टेवा पुग्ने विश्वास लिएका छौँ । लुम्बिनी प्रदेशमा रहेका भारतीय सीमानाकाहरू भैरहवा, कृष्णनगर, नेपालगन्ज र कोइलावासलाई व्यवस्थित गर्न पनि प्रदेश सरकारले आवश्यक सहजीकरण गर्दै आएको छ । बुटवल र नेपालगन्जलाई व्यापारिक तथा आर्थिक सहरका रूपमा विकास गर्ने गरी अगाडि बढेका छौँ । शिक्षा, स्वास्थ्यलाई पनि हामीले उत्तिकै महत्व दिएका छौँ । हामीले अघि सारेका योजना कार्यान्वयन हुँदै गए आगामी पाँच वर्षमा लुम्बिनी समृद्ध प्रदेश बन्नेछ ।
लुम्बिनी प्रदेश जल, जमिन र वनमा आत्मनिर्भर छ । सिमेन्ट उद्योगमा आत्मनिर्भर छ । काठजन्य वस्तु, अन्डा र मासुमा आत्मनिर्भर बन्ने दिशामा छ । सबै क्षेत्रको विकासका लागि प्रदेशको आम्दानी बढाउनु जरुरी छ । राजस्व संकलन र वृद्धिमा धेरै ठूलो गुणात्मक फड्को मार्न सकिने सम्भावना छ । नदीजन्य पदार्थ, वनजन्य पदार्थलाई व्यवस्थित गरी आम्दानी बढाउन सकिन्छ । योजनाबद्ध विकासले राम्रो प्रभाव पार्नेछ । विकासका लागि राम्रो मार्गचित्र बनेको छ । हामी अन्तिम कार्यकालतिर छौँ । त्यसैले अन्तिम वर्षलाई हामी आगामी पाँच वर्षको आधारवर्षको रूपमा स्थापित गर्ने प्रयत्नमा छौँ ।