राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दुई सयभन्दा बढी संघ तथा संस्था आबद्ध छन् । तर, औँलामा गन्न सकिने संघ मात्र वार्षिक क्यालेन्डरअनुसार चलिरहेका छन् । यी संस्थाले क्यालेन्डर फलो र खेलाडीको वृत्तिविकासमा काम गरिरहेका छन् । उनीहरूले दीर्घकालीन योजनासहित खेल क्षेत्रलाई अगाडि बढाइरहेका छन् ।
क्रिकेट : एकदिवसीय र टी–२० विश्वकप खेल्ने
नेपालको अहिलेको ठूलो चुनौती एकदिवसीय मान्यता रक्षा गर्नु हो । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल भन्छन्, ‘हाम्रो पहिलो लक्ष्य एकदिवसीय मान्यता रक्षा गर्नु हो, त्यसपछि टेस्टतर्फ लाग्छौँ ।’ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को रोडम्यापअनुसार सबै देशका क्रिकेट संघले वर्षभरिको योजना बनाउँछन् । ‘आइसिसीले पठाएको रोडम्यापअनुसारै क्यानले वार्षिक गतिविधि सञ्चालन गर्छ,’ मल्लले भने । सन् २०२२ को आइसिसी पुरुष टी–२० विश्वकपमा नेपाल ग्लोबल छनोटबाटै बाहिरियो । अहिले आइसिसी विश्वकप लिग २ चलिरहेको छ । सात राष्ट्र सम्मलित लिगमा नेपाल छैटौँ स्थानमा छ ।
लिगको शीर्ष दुई स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ । अब अर्को संस्करणको टी–२० विश्वकपमा छनोट गराउने लक्ष्य रहेको उनको भनाइ छ ।‘सन् २०२३ को एकदिवसीय विश्वकप छनोट लक्ष्य राखेका छौँ,’ मल्लले भने, ‘साथै, आइसिसीले आयोजना गर्ने विभिन्न प्रतियोतिगामा उत्कृष्ट नतिजा निकाल्ने गरी तयारी गर्छौँ ।’ क्यानको ध्यान अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र नभएर घरेलु संरचना विकासमा पनि छ । ‘कीर्तिपुरको क्रिकेट मैदानमा सिटमा बसेर क्रिकेट हेर्ने वातावरण तयार गर्छौँ, पाँच वर्षभित्र त्यहाँ कुर्सीसहितको भौतिक पूर्वाधार हुनेछ,’ उनी भन्छन्, ‘मूलपानीमा पनि राज्यले ध्यान दिनुपर्छ ।’ यस्तै, युवा समूह बलियो बनाउने क्यानको लक्ष्य छ । राष्ट्रिय टोलीको ब्याकअपका रूपमा उमेर समूहलाई प्राथमिकता दिइनेछ । ब्याटिङ र बलिङमा पनि त्यतिकै सुधार गर्ने उनले बताए ।
कराते : पेरिस ओलम्पिक छनोट मुख्य लक्ष्य
मार्सल आर्टस्मा धेरै अन्तर्राष्ट्रिय पदक भित्र्याउने खेल हो कराते । कुनै समय दक्षिण एसियाली अन्य राष्ट्रका खेलाडी नेपाली खेलाडीबाट प्रशिक्षण लिन्थे । तर, अहिले कमजोर बन्दै गएको करातेलाई पुरानै अवस्थामा फर्काउने प्रयासमा छन्, कराते महासंघका अध्यक्ष दावा गुरुङ । ‘कोभिड– १९ ले हाम्रो योजनामा असर ग¥यो, अब निरन्तर कार्यक्रम अगाडि बढाउँछौँ,’ उनले भने, ‘मेचीदेखि महाकालीसम्मै विभिन्न कार्यक्रम तय गरेका छौँ ।’ करातेको मुख्य लक्ष्य नै ओलम्पिकमा खेलाडी छनोट गराउने हो । ओलम्पिकबाहेक सेप्टेम्बर २०२२ मा चीनमा हुने एसियन खेलकुद प्रतियोगिताको तयारीमा लाग्नुपर्ने उनले बताए । ‘चार–चार वर्षमा आयोजना हुने एसियन गेम्सको तयारी पनि गर्नु छ,’ गुरुङले भने ।
ब्याडमिन्टन : बालबालिकालाई आकर्षित गराउने
योजनाबद्ध रूपमा चल्ने संघमध्ये ब्याडमिन्टन पनि पर्छ । ब्याडमिन्टन वार्षिक क्लालेन्डरअनुसार चल्छ । लगभग वर्षभरि नै यस खेलका खेलाडी व्यस्त रहन्छन् । कोरोना महामारीअघि ब्याडमिन्टनका खेलाडी विदेशी प्रतियोगितामा समेत सहभागी थिए । महामारीपछि भने स्वदेशी कोर्टमै व्यस्त छन् । संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ कोरोनाले असर पुर्याएको ब्याडमिन्टनलाई माथि उकास्ने प्रयासमा रहेको बताउँछन् । ‘कोभिडले खेलाडी र खेल क्षेत्रलाई धेरै असर ग¥यो, यही चुनौती पार गर्दै अगाडि बढ्ने योजना बनाएका छौँ,’ श्रेष्ठले भने, ‘खेलाडीको स्तरोन्नतिका लागि धेरै अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने लक्ष्य छ ।’
खेलाडीलाई विभागीयदेखि निजी क्षेत्रमा जागिरको सुनिश्चितता गराउनेसमेत योजना रहेको उनले सुनाए । ‘खेलाडीलाई घरपरिवार चलाउन जागिर आवश्यक छ, हामी विभागीयदेखि निजी क्षेत्रसम्म खेलाडीको योग्यताअनुसार जागिर दिलाउने प्रयासमा छौँ,’ उनले भने । भविष्यमा उत्कृष्ट युवा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ संघले यु– ६ बालबालिकालाई ब्याडमिन्टनमा केन्द्रित गराउने योजना बनाएको छ । नेपालका प्रिन्स दाहाल अहिले विश्व जुनियर यू–१९ का एक नम्बर खेलाडी हुन् । अर्को वर्ष प्रिन्स सिनियर समूहमा प्रवेश गर्नेछन् । ‘भविष्यमा नेपालबाट अर्को प्रिन्स दाहाल जन्माउने उद्देश्य हो,’ उनी भन्छन्, ‘आउँदो पाँच वर्षभित्र कम्तीमा सिनियर ब्याडमिन्टन क्षेत्रमा ५०औँ वरीयतासम्म पुर्याउने योजना छ ।’ खेलाडीको स्तर बढाउन विदेशी प्रशिक्षक झिकाउने लक्ष्य पनि संघले राखेको छ ।
टेबुलटेनिस : मुख्य लक्ष्य सागको स्तर ‘मेन्टेन’
ओलम्पिक खेलमा समावेश भएको टेबुलटेनिसले दक्षिण एसियाली स्तरमा पकड जमाइरहेको छ । सागमा लगातार पदक जित्न सफल टेबुलटेनिसको मुख्य लक्ष्य नै प्रतिष्ठा रक्षा गर्नु र माथिल्लो स्तरको नतिजा निकाल्न ठोस नीति अपनाउनु रहेको संघका अध्यक्ष चतुरानन्द राजवैद्यले बताए । दोस्रो तथा तेस्रो जेनेरेसनका खेलाडी उत्पादन गरी टेबुलटेनिसको विकास गर्ने उनको योजना छ । ‘धेरैजसो सिनियर खेलाडी अबका केही वर्षमा हट्ने अवस्थाका छन्, त्यसैले दोस्रो र तेस्रो पुस्ताका खेलाडी उत्पादन गरी अगाडि बढनुपर्छ,’ उनले भने । यसका लागि ग्रासरुट लेभलका प्रतियोगितालाई प्राथमिकता दिने उनले बताए ।
खेलको विकास गर्न संघ नै गम्भीर बन्नुपर्छ
हामी खेलाडी, प्रशिक्षक र व्यवस्थापक भयौँ । यी विभिन्न भूमिकामा विदेशमा जाँदा त्यहाँ विकास हेर्यौँ । विभिन्न पक्षबाट हेर्दा नेपालमा बाहिरको जस्तो विकास गर्न नसकिने भन्ने छैन । सबैले चाहे सम्भव छ । यति मात्र फरक छ । हामी योजनाविहीन रूपमा अगाडि हिँडिरहेका छौँ । यदि योजनाअनुसार अगाडि बढ्यौँ भने खेलकुदमा अन्य देशमा जस्तै विकास गर्न सकिन्छ । बाहिर कम्तीमा चारदेखि आठ वर्षको योजना बनेको हुन्छ ।
योजना शतप्रतिसत लागू हुँदा विकास त्यतिकै हुन्छ । नेपाली खेलकुदमा यसको अभ्यास भएको छैन । जब–जब ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आउँछ । त्यसवेला मात्र खेलाडीलाई प्रशिक्षण राख्नेदेखि विभिन्न योजना बन्छ । यसैको भरमा पदकको आशा गर्नुपर्छ । खेलाडीहरू नियमित रूपमा प्रशिक्षणमा रहँदा अवश्य पनि त्यसको प्रतिफल राम्रो नै हुन्छ । वास्तवमा खेल बुझ्ने व्यक्तित्व खेल क्षेत्रमा आउँदा योजना बन्ने गर्छ । जब खेलभन्दा राजनीति हाबी हुन्छ । त्यसवेला जहिले पनि खेलकुद तलमाथि हुने गर्छ । खेलकुदमा भिजन बोकेका व्यक्तित्व आउँदा गति लिन्छ । तर, पछिल्लो केही वर्षयता राष्ट्रियस्तरका खेलाडीलाई क्लोजमा राख्ने व्यवस्था भएको छ । अबको चार वर्षपछि ओलम्पिक आउँदै छ ।
सम्बन्धित निकायले ओलम्पिक खेलहरूलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ । ओलम्पिकलगायत अन्य खेलमा समेत उत्कृष्ट नतिजा निकाल्न समय–समयमा खेलाडीलाई एक्सपोजर दिनुपर्छ । खेलकुदका सम्बन्धित प्रमुख निकायभन्दा पनि संघहरूले आफ्नो खेलस्तर विकास गर्न निश्चित योजना बनाउनुपर्छ । सरकारको मुख तोकेर बस्नुभन्दा संघहरूले आफैँमा सिरियस हुनुपर्छ । जबसम्म प्रत्येक खेल संघ पदाधिकारी गम्भीर भएर अगाडि बढ्दैनन्, त्यसवेलासम्म खेलको विकास हुन सक्दैन ।
उहाँहरूले कम्तीमा चारदेखि पाँच वर्षको लक्ष्य राख्नुपर्छ । विगतमा के–कस्ता गल्ती भए, त्यसको मूल्यांकन गर्नुपर्छ । प्रत्येक संघले वार्षिक क्यालेन्डर बनाएर अगाडि बढ्दा पक्कै पनि यहाँको खेल विकास हुनछ । तर, विडम्बना भन्नुपर्छ । हामीहरूका औँलामा गन्न मिल्ने संघका मात्र वार्षिक क्यालेन्डर छन् । यस्तो किसिमले कसरी खेल विकासको आशा गर्न सक्छौँ । अर्कोतर्फ सरकारले पनि पदक सम्भावना खेललाई प्राथमिकता राखेर योजना बनाउनुपर्छ । सरकार टिम इभेन्ट्समा मात्र केन्द्रित भएको देखिन्छ । व्यक्तिगत खेलमा त्यति ध्यान दिएजस्तो लाग्दैन । खेलकुद मन्त्रालयदेखि राखेपले कम्तीमा चार वा पाँच वर्षको योजना सार्वजनिक गरी अगाडि बढ्नुपर्ने देखिन्छ ।