१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १३:४७:oo
Read Time : > 3 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

स्थानीय तह निर्वाचन : ललितपुरका पालिका प्रमुखमा कलाकारदेखि सांसदसम्मको चर्चा 

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:४७:oo

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ललितपुरमा सम्भावित उम्मेदवारको चर्चा सुरु भएको छ। ललितपुरमा राजनीतिक दलले कसलाई उम्मेदवार बनाउने भनेर निधो भने गरिसकेका छैनन्। तर, सम्भावित उम्मेदवार को हुने ? र, कसलाई टिकट दिने भन्नेबारे जिल्लाका राजनीतिक दलहरूबीच घनीभूत छलफल चलिरहेको छ। उम्मेदवार बन्न चाहेका विभिन्न दलका स्थानीय नेताहरू जनताको घरदैलो र गाउँगाउँ पस्न थालेका छन्। प्रमुख तीन दलबाट ललितपुर जिल्लाको महानगरबाहेकका पाँच पालिका प्रमुखमा आकांक्षा देखाएकाहरूको यहाँ चर्चा गरिएको छ । 

गोदावरीको मेयरमा कलाकारदेखि सांसदसम्मको चर्चा 
ललितपुरको गोदावरी नगरपालिकामा हालका मेयर गजेन्द्र महर्जन यसपटक पनि उम्मेदवारी दिने गरी चुनावी तयारीमा जुटेका छन् । उनी नेपाली कांग्रेसमा आबद्ध छन्। सोही पार्टीबाट विमल थापा, रामशरण घिमिरे र पुरुषोत्तम सिलवालको पनि मेयरमा उठ्ने चर्चा छ। पाँच वर्षमा योजना र ऐन–नियम तर्जुमाका धेरै काम भएकाले अर्को कार्यकालमा नगरपालिकाका भौतिक पूर्वाधार र पर्यटन विकासका लागि आफूले फेरि उम्मेदवारी दिने तयारी गरेको मेयर महर्जनले बताए। उनले भने, ‘यसपकट काम नगरेको पनि होइन, कतिपय काम गर्नलाई समय भएन, कति काम गर्दागर्दै कार्यकाल सकिन लाग्यो।’ उनले आफूले सुरु गरेका योजना पूरा गर्नलाई यसपटक पनि उम्मेदवारी दिने तयारी गरेको बताए। 

गोदावरी नगरपालिको मेयरमा नेकपा एमालेकी नयाँ प्रवेशी करिश्मा मानन्धरको पनि चर्चा छ। गोदावरी टौखेलस्थित उनको घरमा जिल्लाका नेताहरूले केही दिनदेखि उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्दै आइरहेका छन्। पार्टीले उम्मेदवार बनाएको खण्डमा चुनाव लड्न तयार रहेको मानन्धरले बताइन् । ‘म पार्टीमा नवप्रवेशी व्यक्ति हुँ, मलाई नै उम्मेदवार बनाउनुपर्छ भन्ने त लाग्दैन, तर उम्मेदवार बनाएमा चुनाव लड्न तयार छु,’ उनले भनिन्, ‘यसबाहेक अहिलेको मेरो मुख्य काम जो उम्मेदवार बन्नुहुन्छ उहाँलाई सहयोग र साथ दिने पनि हो ।’ पार्टीमा लामो समय काम गर्दै आएकाहरूको पालो मिच्ने गरी आफूू उम्मेदवार बन्न नचाहेको उनले बताइन्। गोदावरीमा एमालेका तर्फबाट गम्भीरबहादुर राना, रघुनाथ महर्जन, सांसद चेतनाथ सञ्जेल र मधुसुदन पौडेलको चर्चा छ। पार्टीभित्रको छलफलपछि उम्मेदवारको टुंगो लाग्ने सांसद चेतनाथ सञ्जेलले बताए। उनले पार्टीको सल्लाहअनुसार आफूलाई उम्मेदवार बनाए चुनाव लड्न तयार रहेको पनि बताए। 

गोदावरीमा माओवादी केन्द्रबाट कलाकार राज घिमिरे र न्हुच्छेंबहादुर महर्जनको चर्चा छ। महर्जन लामो समयदेखि गोदावरी क्षेत्रमा सामाजिक कार्यसँगै राजीनितक गतिविधिमा सक्रिय रहँदै आएका छन् भने कलाकार घिमिरे फिल्म पेसा छाडेर व्यवसाय तथा सामाजिक कार्यमा संलग्न रहँदै आएका छन्। यसपटकको चुनावमा उम्मेदवार बन्ने तयारीसहित प्रचारप्रसारमा लागेको कलाकार घिमिरेले बताए। ‘मैले विगत ११ वर्षदेखि गोदावरी क्षेत्रमा सामाजिक काम गर्दै आएको छु । कलाकारिताको सम्भावना छाडेर नगर क्षेत्रमा काम गरिरहेकोले म चुनावमा उठ्नु स्वाभाविक हो जस्तो लाग्छ,’ उनले भने।  

महालक्ष्मीमा आकांक्षी बढी
महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेसबाट महेश खड्का, पवनविक्रम थापा, अवशेष श्रेष्ठ, दिवाकर सिलवाल र नवीन्द्रदेव सिंहको चर्चा छ। उनीहरू चुनावकेन्द्रित कार्यक्रममा व्यस्त देखिएका छन्। आगामी चुनावमा भाग लिन तयारीमा जुटेको मेयरका दाबेदार महेश खड्काले बताए। उनले आ–आफ्नै किसिमले चुनावी कार्यक्रममा जुटेको बताए। ‘यसअघिका जनप्रतिनिधिले नगरक्षेत्रको विकास र नगरवासीको अवस्थालाई ध्यान दिएनन्, त्यसकारण अब हुने चुनाव नयाँ एजेन्डासहित मैले उम्मेदवारी दिने तयारी गरेको छु,’ उनले भने।   

महालक्ष्मीमा नेकपा एमालेका तर्फबाट वर्तमान मेयर रामेश्वर श्रेष्ठले पनि उम्मेदवारी दिने बताए। ‘बितेका पाँच वर्षमा नगरपालिकालाई एउटा मार्गमा लैजान योजना र संरचनामा काम भयो। अब आउने चुनाव जितेर जनताको प्रत्यक्ष समस्यामा हामीले काम गर्छौँ,’ उनले भने, ‘कर्मचारीले भद्रगोल पारेको स्थानीय तहलाई हामीले पाँच वर्षमा केही व्यवस्थित पार्‍याैँ ।’ महालक्ष्मी नगरपालिकामा एमालेका हरिगोविन्द श्रेष्ठ, चिरञ्जीवी आचार्य, गंगा न्यौपाने र राजकुमार सिलवालको चर्चा छ। 
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट शिवप्रसाद कट्टेल र कृष्णकुमार महर्जनले आकांक्षा देखाएका छन्। चुनावको तयारीमा जुटेको मेयरका दाबेदार शिवप्रसाद कट्टेलले बताए । उनले रिङरोडभन्दा बाहिर रहेका महालक्ष्मी नगरपालिकाको मुहार फेर्ने योजना आफूसँग रहेको दाबी गरे। ‘महालक्ष्मी क्षेत्रमा बसाइँसराइ व्यापक बढेको छ, यहाँ खानेपानी र स्वास्थ्यका समस्या पनि छन्, समयमै सोच्ने हो भने यो क्षेत्रलाई नमुना बनाउन सकिन्छ,’ उनले भने, ‘तर, जनप्रतिनिधिसँग काम गर्ने योजना र आँट चाहिन्छ।’ 

तीन गाउँपालिकामा क–कसकाे चर्चा ?

ललितपुरको दुर्गम तथा दक्षिणी भेगमा तीनवटा गाउँपालिका छन्। यी पालिकाको आगामी नेतृत्वका लागि विभिन्न दलका स्थानीय नेता आकांक्षी देखिएका छन्।  आकांक्षी नेताहरू गाउँ केन्द्रित हुन थालेका छन्। बागमती गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता वीरबहादुर लोप्चनले यसपटक पनि उम्मेदवारी दिने बताएका छन्। उनले आगामी चुनावमा पालिकाको नेतृत्व गर्ने इन्छासहित प्रचारप्रसार र पालिकाका काममा केन्द्रित भइरहेको जानकारी दिए। उनले भने, ‘पाँच वर्षमा खासै काम गर्न पाइएन । दुई वर्ष त कोरोना संक्रमणले काम गर्न दिएन, उक्त समयमा म निकै खटिएँ, त्यसपछि पछिल्लो एक वर्षमा विकास निर्माणका काम भएका छन्।’ उनले आफूले सुरु गरेको धेरै योजनाका काम बाँकी रहेकाले यसपटक पनि उम्मेदवार बन्ने तयारी गरेको बताए। त्यस्तै, सोही पार्टीबाट विष्णुप्रसाद तिमल्सिना, रविन्स शर्मा, गणेश महत र माधव दुलालको नाम पनि चर्चामा छ। गाउँपालिकामा नेकपा एमालेका तर्फबाट नवराज सञ्जेल, साजन दर्लामी र दुर्गाप्रसाद घिमिरेको चर्चा छ। सञ्जेल र दलार्मी हाल वडाध्यक्ष छन्। यसपालि गाउँपालिका प्रमुखमा दाबी गरेको दर्लामीले बताए। वडामा पाँच वर्ष काम गरेको अनुभवले पालिका हाँक्न सक्ने हौसलासमेत मिलेको उनले बताए। ‘बागमती गाउँपालिकामा सडक पूर्वाधार राम्रो छैन,’ उनले भने, ‘यहाँको पर्टकीय क्षेत्रको विकास गर्ने, कृषि उत्पादन बढाउने, गाउँका युवाहरूलाई रोजगार सिर्जना गर्नेलगायत योजना मैले अघि सार्नेछु।’ 

सोही गाउँपालिकामा माओवादी केन्द्रले निशान मगरलाई उम्मेदवार बनाउने बताएको छ। मगर गाउँकेन्द्रित भएर चुनावी प्रचारप्रसारमा लागेका छन्। 

दक्षिण ललितपुरकै महाँकाल गाउँपालिकामा नेपाली कांग्रेसका खोमप्रसाद घिमिरे, गणेश केसी, ऋषिदेव फुँयाल, मथुराप्रसाद घिमिरे, सुन्दर तामाङ र खोमप्रसाद घिमिरेको चर्चा छ। उनीहरू चुनावकेन्द्रित भएर प्रचारप्रसारमा जुटिसकेका छन्। त्यस्तै नेकपा एमालेबाट रामचन्द्र दाहाल, पुरुषोत्तम हुमागाईं, नवराज महत र कमला तामाङ आकांक्षी देखिएका छन्। उनीहरू पनि गाउँकेन्द्रित भइसकेका छन्। हाल गाउँपालिका उपाध्यक्ष रहेकी कमला तामाङले आगामी निर्वाचनमा गाउँपालिका अध्यक्षमा आफ्नो दाबी गरेको बताइन् । ‘मैले उपप्रमुख भएर काम गरेको अनुभवले अध्यक्षमा दाबी गरौँ भन्ने लागेको हो,’ उनले भनिन्। त्यस्तै, नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा भगीरथ तिमल्सिनाको चर्चा छ। उनी पनि चुनावलक्षित भेटघाटमा जुटेका छन् । 

ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसका तर्फबाट राजनप्रसाद घिमिरे र सुरेश लामाको चर्चा छ। घिमिरे चुनावको तयारीसहित प्रचारप्रसारमा लागेका छन्। पार्टीले उम्मेदवार बनाए चुनाव लड्न तयार रहेको उनले बताए।  त्यस्तै, नेकपा एमालेबाट कृष्णमान लामा र कवीन्द्र स्याङ्बाेको चर्चा छ। उनीहरू पनि गाउँ केन्द्रित भएका छन्। सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट गोपीलाल स्याङ्तानको चर्चा छ। स्याङ्तान हाल पालिका प्रमुख छन्। उनले यो कार्यकालमा कार्यालयको भवन निर्माण गरेको, प्रशासनिक कार्यमा सुधार ल्याएको, सेवाग्राहीलाई सहज सुविधा प्रदान गर्ने वातावरण मिलाएको र पर्यटकीय क्षेत्रको विकास गरेको बताए। आफूले अघि सारेका अन्य धेरै योजना बाँकी रहेको सुनाउँदै उनले पार्टीले दिएको जिम्मेवारीअनुसार अघि बढ्ने बताए। ‘मैले काम गर्दा कहिल्यै पूर्वाग्रह राखेको छैन, म पालिकावासीको अभिभावक भएकाले सबैप्रति समान जिम्मेवारी निर्वाह गर्दै आइरहेको छु,’ उनले भने।  
 

ad
ad