१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मिलन पाण्डे काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:५४:oo
Read Time : > 6 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

शिक्षामा राजनीति होइन, शिक्षाको राजनीति गरौँ

राजनीतिलाई डोर्‍याउन नसक्ने शिक्षा र शिक्षालाई दिशा दिन नसक्ने राजनीतिको अब काम छैन

Read Time : > 6 मिनेट
मिलन पाण्डे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:५४:oo

राजनीति केका लागि गर्ने ? अधिकांश नेताहरूको उत्तर हुने गरेको छ– बेरोजगारी हटाउन, असमानता घटाउन, समाजमा हिंसा भड्किन नदिन, शान्ति सुरक्षा कायम गर्न, नागरिकलाई सक्षम बनाउन, देशलाई समृद्ध बनाउन । यस प्रश्नमा फेरि पनि प्रतिप्रश्न गर्न सकिन्छ, त्यसो भए बेरोजगारी कसरी हट्छ त ? गहिरिएर सोच्दै उत्तर दिने हो भने एउटा युवा सक्षम भयो भने बेरोजगारी स्वतः हट्छ । वातावरण हुनुपर्‍यो, देश आफ्नो खुट्टामा उभिनुपर्‍यो भन्ने त छँदै छ । तर, मूलभूत रूपमा युवा सक्षम, सीपमूलक र शिक्षित भयो भने युवा कि स्वउद्यमशील बन्न सक्छ कि जागिर खान सक्छ । युवा सक्षम र योग्यचाहिँ कसरी हुन सक्छ त ? यसको सीधा उत्तर हो– राम्रो शिक्षा पाएर । शिक्षाले नै समाजमा असमानता, भ्रष्टाचार, हिंसा हटाउन मद्दत गर्ने हो । त्यसैले, राजनीतिले सोध्ने प्रत्येक प्रश्नको उत्तर गुणस्तरीय शिक्षाले दिन्छ । शिक्षा र राजनीतिको घाँटी मात्र जोडिएको हुँदैन, टाउकादेखि खुट्टासम्मै जोडिएको हुन्छ ।

शिक्षा अनि राजनीति

शिक्षा र राजनीतिको सम्बन्धले नै कुनै पनि समाजको दिशा अनि गति निर्धारण गर्छ । तर, हाम्रोमा समाजलाई गति अनि दिशा दिने शिक्षा अनि राजनीतिको त्यो फलदायी मिलन हुनै सकेको छैन । कला, संस्कृति, ज्ञानको अपार धनी समाज आज शिक्षाका नाममा सर्टिफिकेट बटुल्ने काममै खुम्चिन पुगेको छ । राजनीतिले नागरिक अनि राज्यलाई जोड्ने हो । राजनीति भनेकै आफ्ना नागरिकको जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यकता, आकांक्षा हुन्छन्, त्यहाँ राजनीति हुन्छ । शिक्षा, स्वास्थ्य, कृषि, जीवन सबमा राजनीति हुन्छ । मेरो घरमा हुने लोडसेडिङ हट्नेदेखि, घरमा पानी नआउनेसम्मको विषय राजनीति हो । मेरो परीक्षा कस्तो हुन्छ भन्नेदेखि मैले देशमै पढ्ने वा बाहिर जानुपर्ने भन्ने विषय पनि राजनीति हो । नागरिकता बनाउन फारम बोकेर मेरो घरमा कोही आउँछ वा लाइसेन्स बनाउनसमेत मैले घुस खुवाउनुपर्छ भन्ने विषय पनि राजनीति नै हो । प्याजको मूल्यदेखि गाडीको मूल्यसम्म राजनीतिले नै निर्धारण गर्छ । अहिले हामी गलत राजनीतिको सिकार भएका छौँ । यही कारणले हामी राजनीतिप्रति नकारात्मक बनेका हौँ । तर, हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्ने विज्ञान नै राजनीति हो । त्यसैले राजनीति ‘हेट’ गर्ने विषय होइन । राजनीति चासो दिने, बुझ्ने र सहभागी हुने विषय हो ।

शिक्षा भनेको आफूभित्रको ऊर्जा अनि उत्सुकतालाई निखार्न अनि तिखार्न मद्दत गर्ने प्रक्रिया हो । शिक्षाले मान्छेलाई सही वा गलतबीचको फरक छुट्याउन मद्दत गरिदिन्छ । हामीमा भएको विवेकलाई उजागर गरिदिन्छ । हाम्रो योग्यता, क्षमता अनि दक्षतालाई बजार अनि समाजसम्म पुर्‍याउन ‘प्याकेजिङ’ गर्न मद्दत गर्छ । सिकेको कुरा उपयोग गराउन अनि उत्पादनशील÷उद्यमशील बन्ने वातावरण बनाउन पनि शिक्षाकै अहं भूमिका हुन्छ । समाजको आवश्यकताअनुरूप नेतृत्व विकासका निम्ति शिक्षा सबैभन्दा महत्‍वपूर्ण आधार हो । नागरिकलाई नीति, नेतृत्व, दलहरू, सत्ता, व्यवस्था आदिबारे चेतना भर्ने माध्यम पनि शिक्षा नै हो । तसर्थ, राजनीतिको ‘स्टेयरिङ’ नै शिक्षा हो ।

समाजलाई डोर्‍याउनका निम्ति शक्तिको आवश्यकता पर्छ । त्यो शक्तिलाई नतिजामा परिणत गर्नका निम्ति दिशा आवश्यक हुन्छ । शक्तिको निर्माण शिक्षाले गर्छ भने राजनीतिले दिशा दिन्छ । तसर्थ, चलायमान समाजका निम्ति शिक्षा अनि राजनीतिबीच सुमधुर सम्बन्ध आवश्यक हुन्छ । हजारौँ वर्षअघिको महाभारत काल होस् वा रामायण काल, प्लेटो हुन् वा आइन्स्टाइन, द्वापर युग होस् वा कलियुग, सबैमा दुइवटै कुरा हाबी अनि निर्णायक रहँदै आएका छन्, शिक्षा अनि राजनीति । सधैँ शिक्षाले उत्पादन अनि राजनीतिले वितरण र व्यवस्थापनको काम गर्दै आएको छ ।

शिक्षा भर्सेस राजनीति

आज एउटा सरकारी क्याम्पसमा एकजना प्रोफेसर चाहियो भने, तीनजनाको आह्वान गर्नुपर्ने अवस्था छ । दलअनुसार भाग पुर्‍याउन । एउटा कुनै सक्षम युवा विद्यालयमा योगदान दिन्छु भन्ने मनसायले विद्यालय जान्छ भने उसको योग्यता, क्षमताभन्दा पनि पार्टीको सिफारिस बुझाउनुपर्ने परिपाटीले जरा गाडिसकेको छ । फलस्वरूप, अब पढेर के हुन्छ र ? बरु दलमा लाग्ने हो, मान्छे चिन्ने हो, भनसुन गर्ने हो, घुस खुवाउने हो भन्ने मानसिकता बढ्न थालेको छ । अहिले, शैक्षिक संस्थाहरू दलका लागि कार्यकर्ता उत्पादन गर्ने ‘फ्याक्ट्री’ बनेका छन् । 

शिक्षामा दलीयकरण दुई किसिमबाट छिर्‍यो । पहिलो, आफ्नो पेसा गरेर, प्रभाव जमाएर, मान पाएर, समय बचाएर राजनीति गर्न सकिने पेसा शिक्षण पेसा बन्दै गयो । धेरैले सुरुमा राजनीति गर्न शिक्षण पेसा अँगाल्न थाले । अहिलेका नेतामध्ये धेरैले राजनीतिक जीवनको सुरुवातमा शिक्षक रहेर राजनीति गरे । दलहरूले शिक्षकलाई नै राजनीतिमा ल्याए । दोस्रो, पञ्चायतमा कांग्रेस अनि कम्युनिस्टले आफ्नो विचार फैलाउन विद्यार्थी संगठन खडा गरे जुन अहिले दलीय सिन्डिकेटमा परिणत भएको छ ।

मैले काठमाडौँको त्रिचन्द्र क्याम्पस अनि थापाथली इन्जिनियरिङ क्याम्पस पढेँ । विद्यार्थी, प्राध्यापक, कर्मचारी र शिक्षकको राजनीति नजिकबाट भोगेको छु । तीनवटा संगठनले नै ३० रुपैयाँको ताला लगाएर हाम्रो क्याम्पस ३० दिन बन्द भएको यिनै आँखाले देखेको छु । केही समयअघि एउटा स्कुलमा विवाद भएपछि कांग्रेस र एमालेले स्कुल नै फुटाएकोसमेत खबर पढियो । मैले आजसम्म कुनै पनि विद्यार्थी नेताले शिक्षा सुधारको मुद्दा लिएर आन्दोलन गरेको देखेको छैनँ । कुनै पनि प्राध्यापकले शिक्षकको बौद्धिक विकास अनि संस्थाको गुणस्तरका निम्ति आवाज उठाएको देखेको छैन । शिक्षालाई कसरी उकास्ने छलफल गर्ने कुनै पनि संगठन क्याम्पसको हाताभित्र छैन ।

दलीयकरण कि राजनीतीकरण ?

हामी शिक्षामा राजनीतीकरण भयो भनेर बहस गर्छौं तर समस्या राजनीतीकरणको होइन । समस्या दलीयकरणको हो । राजनीतिले समाजलाई जोड्छ, दिशा दिन्छ । दलीयकरणले समाजलाई विभाजन गर्छ । शिक्षा र विश्वविद्यालयको काम भनेको त बौद्धिक अनि विवेकशील जमात खडा गर्ने हो । तर, हाम्रो हालको दलीयकरणले हाम्रो विचारलाई अनावश्यक विभाजन गरेको छ । संगठन अनि व्यक्तिको स्वार्थअनुरूप शक्तिको दुरुपयोग गरेको छ । दलीयकरणमा जब स्वार्थ मिल्छ, त्यसको विकराल रूप प्रकट हुन्छ । अहिले त्यही हुँदै छ । हाम्रा शिक्षण संस्थाहरू दलीयकरणको सिकार बन्दै छन् । शिक्षा क्षेत्रलाई धमिराले खाएको छ । समाज खोक्रो बन्दै छ ।

हामी शिक्षामा राजनीतीकरण भयो भनेर बहस गर्छौँ, तर समस्या राजनीतीकरणको होइन, दलीयकरणको हो । राजनीतिले समाजलाई जोड्छ, दिशा दिन्छ । दलीयकरणले समाजलाई विभाजन गर्छ ।

हामीले स्कुलको शिक्षक अनि प्रोफेसरबीचको भिन्नता पनि बुझ्न सकेका छैनौँ । स्कुलको शिक्षकले विद्यार्थीलाई मूल्य–मान्यता सिकाउने हो । ज्ञान दिने हो । जीवनमा ऊ कस्तो व्यक्ति बन्न चाहन्छ भनेर उसलाई खोज्न मद्दत गर्ने हो । प्रोफेसरले भने राष्ट्रिय मुद्दामा सोध, अनुसन्धान गर्न लगाउने हो । विद्यार्थीको सिकाइलाई समाज र राष्ट्रिय नीति अनि आवश्यकतासँग जोड्ने हो । यही शोधले नै विद्यार्थीमा विज्ञता भर्छ । समाजलाइ दिशा दिन्छ । तर, हामीले प्रोफेसरलाई पनि साधारण ‘मास्टर’ बनाइदिएका छौँ । विषय विशेषज्ञ विद्यावारिधि गरेका प्रफेसरहरू आज आफ्नो कर्तव्य बिर्सिएर शोध–अनुसन्धानमा लाग्न छाडेर राजनीति गर्छन् । फगत ‘झोले’ कार्यकर्ता बनेर आफ्नो हैसियत गुमाउँदै छन् । उनीहरूले राजनीतिलाई विश्वविद्यालयबाटै धेरै योगदान दिन सक्छन् । तर, उनीहरूलाई समेत सिस्टममाथि विश्वास छैन, त्यसैले ‘बा’ र ‘दाइ’हरूको झोला बोक्न बाध्य छन् । 

विश्वविद्यालयको बहस, छलफल, अध्ययन अनुसन्धान त राज्य अनि राजनीतिको सम्पत्ति हो । तर, हाम्रा प्रोफेसरहरू विश्वविद्यालयमा आफ्नो समय राजनीतिको झोला बोकेर बिताउँछन् । अनि, बाहिर प्लस टुमा बढीभन्दा बढी समय बढीभन्दा बढी कक्षा लिएर कमाउनै व्यस्त हुनुपरेको छ । प्रोफेसरले प्लस टुमा पढाउन भ्याउनु भनेको अन्य मुलुकका लागि अनौठो हो । यसले प्रोफेसरको सम्मानमा ठूलो चोट पुर्‍याएको छ । विद्यार्थीलाई आचरण सिकाउने स्कुलका शिक्षकको आफ्नै आचरणमा प्रश्न खडा गरेको छ । आज आमनागरिकले विषयविज्ञ प्रफेसरको तथ्यगत विचारलाई समेत विश्वास गर्दैनन् । उदाहरणको लागि एमसिसीबारे हाम्रा कुन विश्वविद्यालयमा बहस छलफल भयो ? कुन प्रफेसरले सोध–अनुसन्धान गरेर समाजलाई डोर्‍याए ? आज हाम्रो देशमा ‘ओपिनियन मेकर’ को छ ? प्रफेसर छैनन् । त्यो हैसियत, हाम्रा प्रफेसरले कमाउन अनि बनाउन सकेका छैनन् ।

फेरि पनि, शिक्षाको गुणस्तरका निम्ति राजनीतिकै भूमिका महत्‍वपूर्ण हुन्छ । हाम्रो नीतिले शिक्षालाई कुन स्थानमा राखेको छ भन्ने पनि महत्‍वपूर्ण छ । आज नेपालको मर्यादाक्रममा हाम्रा शिक्षक कति नम्बरमा छन् ? छैनन् । नम्बर त परै जाओस्, सूचीमा पनि छैनन् । शिक्षा क्षेत्र राम्रो भएका मुलुकमा शिक्षकलाई राज्यले गर्ने व्यवहार निकै फरक हुन्छ । तलब–सुविधा पनि मन्त्रीसरह नै हुन्छ । जिन्दगीमा केही गर्न सकिनँ भने मास्टर बनौँला भन्ने हुन्न । शिक्षक अनि प्रोफेसर बन्ने त युवाको सपना हुन्छ । शिक्षण सबैभन्दा सम्मानजनक पेसा हुन्छ । तर, हाम्रोमा यो बुझ्ने संगठन खोइ ? बोल्ने नेतृत्व को छ ? दलहरूको नीति कहाँ छ ?

अबको बाटो

शिक्षाले राजनीतिलाई मार्गनिर्देश गर्न सक्नुपर्छ । जहाँ राजनीतिले शिक्षालाई पूरै दबाउँछ अनि आफ्नो स्वार्थअनुकूल चलाउँछ, त्यो समाज अघि बढ्न सक्दैन । त्यस्तो समाज गिजोलिन्छ र कुसंस्कृत राजनीतिमा फस्छ । यस्ता अनावश्यक दलीयकरणले समाजमै अविश्वास अनि निराशा ल्याउँछ । तसर्थ, राजनीतिले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ । शिक्षासँग स्वास्थ्य, अर्थतन्त्र, राजनीति, सुशासन आदि प्रत्यक्ष जोडिएका विषय हुन् । शिक्षाको सुधारले अन्य क्षेत्रमा स्वतः सुधार ल्याउँछ ।

आज धेरै आमाबुबा विदेश जानुको कारण आफ्ना छोराछोरीका लागि राम्रो शिक्षा दिन सकौँ भनेर पनि हो । व्यावहारिक शिक्षा नहुनाकै कारण बेजोगारी बढेको छ । बिदेसिने समस्या बढेको छ । यो शिक्षाको मात्र असफलता होइन, यो राजनीतिकै असफलता पनि हो । वास्तवमा सामाजिक अनि आर्थिक खाडल पुर्ने कारक तत्‍व नै शिक्षा हो । तर, हालको अवस्थामा हामी जुन शिक्षाको अभ्यास गर्दै छौँ, त्यो नै सामाजिक अनि आर्थिक खाडल बढाउन उद्यत् देखिन्छ । सरकारी अनि निजी विद्यालयको असन्तुलनले समाजमा शैक्षिक वर्ग निर्माण गर्दै छ । जुन भोलिका दिनमा सामाजिक खाडलकै रूपमा देखापर्ने संकेत देखिँदै छ ।

शिक्षालाई दलीयकरणबाट अलग्याउनैपर्छ । सार्वजनिक शिक्षामा सुधार नगरी कुनै पनि देश समृद्ध बन्न सक्दैन । यो कुरा नेतृत्वले राम्ररी बुझ्न जरुरी छ । सार्वजनिक शिक्षा सुधारका निम्ति शिक्षाको प्राथमिकता, नीति, बजेट र शिक्षक व्यवस्थापनमै कुरा अड्किन्छ । दलका नेता, कार्यकर्ता बनेर बसेका शिक्षक नै आज शिक्षा सुधारका सबैभन्दा ठूला बाधक बनेका छन् । सीधै भन्नुपर्दा अब क्याम्पसमा राजनीति गर्न होइन, पढाउन जाने शिक्षक चाहिएको छ । अब, दलको कार्यकर्ता उत्पादन गर्ने क्याम्पस होइन, दक्ष जनशक्ति अनि जिम्मेवार नागरिक उत्पादन गर्ने क्याम्पस चाहिएको छ । अब बदलिएको राजनीतिक परिस्थितिमा राजनीतिक दलहरूले आफ्ना विद्यार्थी, शिक्षक अनि कर्मचारीको भ्रातृ संगठन भंग गरेर आफ्नो प्रतिबद्धता देखाउन जरुरी छ । शिक्षालाई राजनीतिको हतियार होइन, राजनीतिको सहयात्री बनाउन जरुरी छ । 

निष्कर्ष

अहिले राजनीतिलाई शिक्षाले डोर्‍याउन सकेको छैन अनि शिक्षालाई राजनीतिले दिशा दिन सकेको छैन । त्रिभुवन विश्वविद्यालयलाई संसारकै सबैभन्दा राम्रो विश्वविद्यालयको स्तरमा पुर्‍याउन सकिन्छ । त्यसका निम्ति भिजन खोइ ? यसको नेतृत्व लिने कुलपति–उपकुलपति खोइ ? सरकार, नेताहरू अनि राजनीतिक दलहरूको सक्रियता खोइ ? कसले गर्ने ? कहिलेबाट गर्ने ? समाजवादउन्मुख देशको समाजवादी झल्को दिने शिक्षा नीति अनि योजना खोइ ? राणाकालदेखि नै हिजोसम्म पनि शिक्षा र राजनीतिको सम्बन्ध शिक्षालाई कसरी माथि लाने होइन कि दललाई कसरी चुनाव जिताउने भन्नेमै सीमित रह्यो । तसर्थ, फेरि दोहोर्‍याउँछु, समस्या शिक्षामा राजनीतीकरणको होइन, दलीयकरणको हो । शिक्षाले राजनीतिको मार्गचित्र तयार गर्न सक्नुपथ्र्यो । दुर्भाग्य, हाम्रो राजनीतिले शिक्षालाई डोर्‍याइरहेको छ ।

देशले समय–समयमा पाएको राजनीतिक उपलब्धिहरू संस्थागत हुन सकेका छैनन् । परिवर्तनको जग संस्थागत गर्ने काम शिक्षाले नै गर्ने हो । हाम्रो देशमा शिक्षा कमजोर छ, त्यसैले राजनीतिक अनि सामाजिक परिवर्तनसमेत अस्थिर र अस्थायी बनिरहेको छ । शिक्षालाई समाज अनि राजनीतिसँग जोड्न नसक्दा आज, शिक्षा, राजनीति र समाजबाट टाढा छ । शिक्षा अनि राजनीतिलाई अलग राख्नुपर्छ कि पर्दैन ? स्कुलमा राजनीति हुनुपर्छ कि नाइँ ? सीधा उत्तर दिन्छु, शिक्षामा राजनीति गर्ने होइन, शिक्षाको राजनीति गर्ने हो । राजनीति र शिक्षा अलग राख्ने विषय नै होइनन् । तर, शिक्षालाई दलीयकरणबाट भने टाढा राख्नैपर्छ । शिक्षक अनि विद्यार्थीले स्कुल÷कलेजभित्र पार्टीको झन्डा बोक्नु हुन्न । तर, शिक्षक अनि विद्यार्थीलाई राजनीतिक चेत भने शिक्षाले नै निष्पक्ष रूपमा दिन सक्नुपर्छ । विद्यालय र क्याम्पसमा राजनीतिबारे छलफल हुनुपर्छ, दलहरूको नीतिबारे बहस हुनुपर्छ, भोट कसरी हाल्नेदेखि कुन सरकारले कस्तो काम गर्‍यो सम्मको छलफल हुन सक्छ, राष्ट्रिय राजनीतिका मुद्दाबारे शोध–अनुसन्धान हुनुपर्छ, तर यी सबै काम गुटगत वा दलगत रूपमा हुनु हुँदैन । पार्टीको झन्डामुनि हुनु हुँदैन ।

राजनीतिले देखाएका सपना शिक्षाले पूरा गर्ने हो । अनि शिक्षाले नै अर्को पुस्ताको राजनीतिको आधार तय गर्ने हो । तसर्थ, हालको हाम्रा दलहरूको शिक्षा नीति अनि हाम्रो बुझाइलाई नै ‘रिसेट’ गर्ने वेला भएको छ । अहिलेको शिक्षा नीति विद्यार्थीलाई घरबाट स्कुलसम्म कसरी पुर्‍याउनेमै सीमित छ । अब विद्यालयभित्र लगेर कसरी सक्षम बनाउने भन्ने नीति चाहिएको छ । हालसम्म, दल र शिक्षाविद्हरूले शिक्षामा भन्न बाँकी र लेख्न बाँकी केही छैन । अब त्यही भनेकै र बहस गरेकै कुरा कार्यान्वयन गर्न बाँकी छ । अब राजनीतिले शिक्षासँग अनि शिक्षाले राजनीतिसँग सहकार्य गर्न जरुरी छ ।

ad
ad