मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ चैत २३ बुधबार ०९:०१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

संखुवासभामा ५० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ चैत २३ बुधबार ०९:०१:००

‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने नारासहित संखुवासभामा ५० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप राष्ट्रिय अभियानअन्तर्गत २७ चैतदेखि ३ वैशाखसम्म सञ्चालन गरिने भएको हो । 

मंगलबार खाँदबारीमा स्वास्थ्य कार्यालय संखुवासभाले सरोकारवालाहरूसँग छलफल कार्यक्रम आयोजना गरी अभियानबारे जानकारी दिएको हो । स्वास्थ्य कार्यालय संखुवासभाका कार्यालय प्रमुख रमेश बाह्रकोटीले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई अनिवार्य रूपमा टाइफाइडविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान नै सञ्चालन गरिएको बताए । उनले निःशुल्क रूपमा जिल्लाका सबै विद्यालयमा पुगेर खोप अभियान सञ्चालन गरिने बताउँदै विभिन्न कारणले बालबालिकाले खोप लगाउन विद्यालयमा छुटेमा ३ वैशाखसम्म स्वास्थ्य संस्थामा गएर लगाउन सकिने बताए ।

 ‘यो खोप निकै महत्वपूर्ण छ । अब फेरि अर्कोपटक आउँदैन, एकपटक मात्रै खोप लगाउने हो । त्यसैले कोही नछुटून् भन्ने हाम्रो आग्रह छ,’ बाह्रकोटीले भने, ‘आफ्ना बालबालिकालाई १५ महिनासम्म नियमित खोप लगाउन आग्रह गर्दै १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका लागि टाइफाइडविरुद्धको खोप पहिलोपटक लगाइने भएकाले कोही नछुटून् भन्ने आग्रह छ ।’

संखुवासभाको १० स्थानीय तहका ७६ वटा वडामा ४९ हजार आठ सयजना १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले बताए । उनले मन्त्रालयबाट सबै सामग्री प्राप्त भइसकेको बताउँदै वडास्तरसम्म स्वास्थ्यकर्मी र स्वयंसेवक गरी नौ सय १० जनालाई अभिमुखीकरण तालिम दिएर पठाइसकेको बताए । 

चितवनमा ४५० खोपकेन्द्र
भरतपुर/ चितवनमा २५ चैतदेखि टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । यसका लागि स्वास्थ्य कार्यालय चितवनले जिल्लाभर ४५० खोपकेन्द्रको व्यवस्था गरेको छ । भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनीमा ६२, राप्तीमा ६४, कालिका नगरपालिकामा ५३, माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोपकेन्द्र राखिने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रामकुमार केसीका अनुसार जिल्लामा रहेका विद्यालायमा खोपकेन्द्र राखिनेछ । ८० प्रतिशत बालबालिका विद्यालयमै भेटिने भएका कारण विद्यालय लक्षित केन्द्र बनाइएको उनले बताए । खोपकेन्द्रहरूमा ९४४ जना स्वास्थ्यकर्मी र एक हजार ३९४ जना स्वास्थ्य स्वयंसेवक रहनेछन् । १५ महिनादेखि १५ वर्ष उमेरमुनिका सबै बालबालिका समावेश हुने खोप अभियान २५ चैतदेखि ४ वैशाखसम्म सञ्चालन हुने स्वास्थय कार्यालय चितवनकी सूचना अधिकारी गीताञ्जली ढकालले बताइन् । जिल्लाभर खोपका लागि एक लाख ९६ हजार ११ जना लक्षित गरिएको छ ।