
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन जनताको म्यान्डेट नभए पनि परिस्थितिले मुलुकको आवश्यकता बन्न पुगेको बताएका छन्। काठमाडौ क्षेत्र नं. १ ले नयाँ बानेश्वरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले संविधान जोगाउन गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाधात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन कायम रहने बताए। उनले कांग्रेस पार्टीको निर्णयअनुसार स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने बताए।
त्यस्तै, नेता सिंहले पार्टीले गरेको निर्णय नमान्नेहरूले पार्टी छाडेर जानुपर्ने धारणा राखे। उनले कांग्रेसभित्र बसेर कांग्रेसलाई कमजोर बनाउनेहरू पार्टीमा बस्नु उपयुक्त नहुने बताएका हुन्। आफूलाई क्रान्तिकारी भन्ने पार्टीका केही नेताहरूले जानाजान गठबन्धनविरुद्ध बोलेर अनावश्यक भ्रम छरेको बताए। पार्टीभित्र एकथरी समूह नियोजित रूपमा आफ्नो स्वार्थ पूरा नभएपछि व्यक्तिगत रूपमा चरित्र हत्याको अभियानमा लागेकोसमेत उनको आरोप छ।