प्रमुख विपक्षी दल एमालेले निर्वाचन आयोगले सरकारसँगको साँठगाँठमा काम गरिरहेको गम्भीर आरोप लगाएको छ । आइतबार बसेको स्थायी समिति बैठकले आयोगले सरकारसँगको ‘सेटिङ’मा हरियो रङमा मतपत्र छाप्ने र उम्मेदवार मनोनयनको दुईदिने कार्यतालिका ल्याएको आरोप लगाउँदै तत्काल सच्याउन माग गरेको छ ।
निर्वाचन आयोगको पछिल्लो भूमिकाप्रति विशेष प्रस्ताव पारित गर्दै बैठकले निर्णय सच्याउन ध्यानाकर्षण गराएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । ‘दलहरूसँग कुनै परामर्श नगरी विनाऔचित्य मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय सत्तारूढ दलविशेषलाई अनुकूल हुने गरेर गरिएको छ । यो अनुचित निर्णय तत्काल सच्याउन बैठक माग गर्दछ,’ बैठकको निर्णयबारे जानकारी दिँदै गुरुङले भने ।
एमालेले यसअघि प्रचलनमा रहेको मतपत्रको रङ परिवर्तन गर्ने जस्तो महŒवपूर्ण निर्णयमा परामर्श नगरिनुले आयोगको निष्पक्ष भूमिकामाथि नै गम्भीर आशंका उब्जिएको जनाएको छ । आयोगले भने यसअघि नै व्यावहारिकता हेरेर मतपत्रमा रङ बदलिएको बताइसकेको छ ।
बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले परामर्शविनै आयोगले कांग्रेसको रुख चिह्नलाई सहयोग पुग्ने गरी हरियो रङको मतपत्र छाप्ने साँठगाँठ गरेको आरोप लगाए ।
‘कांग्रेसले जस्तो प्रकारले रुख बनाउँछ, त्यस्तै हरियो चुनावचिह्न बनाउने, यो आपत्तिजनक छ । दलहरूसँग परामर्श नगरी चुनावचिह्नको रङ बदल्ने सामान्य हुँदैहोइन,’ ओलीले भने, ‘वेलावेला आयोगले दलहरूसँग परामर्श गर्छ, तर महŒवपूर्ण विषयमा परामर्श गर्नुनपर्ने र अनावश्यक विषयमा परामर्श गर्ने भन्ने हुँदैन ।
प्रचलनमा आएको रङ परिवर्तन गर्ने कुरा निर्वाचनमा परामर्श अनिवार्य हुन्छ । कसैलाई फाइदा पुग्ने गरी बिल्कुल बेठीक काम भएको छ । त्यसैले निर्वाचन चिह्न बदल्नैपर्छ । त्यसमा हामीले आपत्ति जनाउनुपर्छ, खेद व्यक्त गर्नुपर्छ । आपत्ति जनाउँदाजनाउँदै बलमिच्याइँ गरिएकाले त्रुटि सच्याउन निर्वाचन आयोग तयार हुनुपर्छ ।’
ओलीले सत्तागठबन्धनभित्रको किचलो मिलाउन आयोगले अहिलेसम्म नदिइएको उम्मेदवार मनोनयनका लागि दुई दिनको समयसीमा दिएको आरोप पनि लगाए । ‘सत्तागठबन्धनको विवाद मिलाउन अहिलेसम्म नदिइएको दुई दिन मनोनयन राखिएको छ । सत्तागठबन्धनसँगको यतिको साँठगाँठ बुझ्छौँ । प्रतिपक्षले बुझ्दैन भन्ने लागेको छ भने हामीले भन्नुपर्छ– यतिको चाहिँ बुझ्छ । निर्वाचन आयोगले यस्तो विवादास्पद भूमिका नखेलोस् । हामी स्वतन्त्र, निष्पक्ष निर्वाचन आयोगको पक्षमा छौँ,’ ओलीले भने ।
निर्वाचन निष्पक्ष नहुने ओलीको आशंका
अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष नहुने आशंका व्यक्त गरे । ‘निर्वाचन आयोग अटेरी गरेर सुरुसुरु अगाडि बढिरहेको छ । देशको ठूलो पार्टीसँग परामर्श नगरी सेटिङयुक्त क्रियाकलाप गरिरहेको छ,’ उनले भने । एमालेले १६ चैतमा भर्चुअल माध्यमबाट देशभरका कार्यकर्ताबाट निर्वाचन घोषणापत्रमा सुझाव लिने भएको छ ।
अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रममा सबै पालिका इन्चार्ज र अध्यक्ष, पार्टीले चुनाव जितेका पालिका प्रमुख र उपप्रमुख, प्रदेश र जिल्ला पदाधिकारी, मस्यौदाका लागि तोकिएका विज्ञ, स्थायी कमिटी सदस्यहरूलगायत सहभागी हुनेछन् ।
त्यस्तै, बैठकले स्थानीय चुनाव घोषणापछि अन्धाधुन्ध प्रहरी र कर्मचारीको सरुवा–बढुवा गर्ने, नियमावली र अध्यादेश ल्याउने काम गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । महाकालीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी बाँध बनाउने कुरामा स्थायी कमिटी बैठकले ध्यानाकर्षण भएको जनाएको छ ।
चुनावचिह्नको रङ बदल्नु सामान्य होइन
‘कांग्रेसले जस्तो प्रकारले रुख बनाउँछ, त्यस्तै हरियो चुनावचिह्न बनाउनु आपत्तिजनक छ । दलहरूसँग परामर्श नगरी चुनावचिह्नको रङ बदल्नु सामान्य हुँदैहोइन । विगतमा महत्वपूर्ण निर्णय गर्दा आयोगले दलहरूसँग परामर्श गर्ने गथ्र्यो । प्रचलनमा आएको रङ परिवर्तन गर्ने निर्णयअघि परामर्श अनिवार्य हुन्छ । कसैलाई फाइदा पुग्ने गरी निर्णय गरेर बिल्कुल बेठीक काम भएको छ । हामीले आपत्ति जनाउँदाजनाउँदै बलमिच्याइँ गरिएकाले त्रुटि सच्याउन निर्वाचन आयोग तयार हुनुपर्छ ।’