मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ चैत १३ आइतबार १७:४८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

होमस्टेले फेरेको महिलाको दैनिकी, बन्दै छन् स्वरोजगार र सबल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १७:४८:oo

समाजमा महिलालाई हेय भावले हेर्ने चलन हिजोआज पनि कायमै छ। महिलालाई चुल्हो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन। तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यावसायिक जीवनतर्फ उन्मुख छन्। होमस्टे खोलेर उनीहरूले मनग्य आम्दानी गरेका छन्।

कुनै वेला घलेगाउँकी विष्णुमाया घलेका दिन घरधन्दा र घाँसदाउरा गरेर बित्थ्यो। तर, गाउँमा होमस्टे सुरु भएपछि उनको दैनिकी फेरिएको छ। अहिले उनले गाउँमै होमस्टे चलाएर सेवासँगै नाम र दाम पनि कमाएकी छिन्। उनी विगत नौ वर्षदेखि यो पेसामा सक्रिय छिन्। ‘ऊर्जाशील समय चुल्होचौकासँगै घाँसदाउरा गर्दैमा बित्यो। आफूलाई आवश्यक पर्ने खर्चका लागि पनि श्रीमानकै भर पर्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्।

काउलेपानी होमस्टेकी सञ्चालक तिलकाशी गुरुङ पनि होमस्टे सञ्चालनबाट मनग्य आम्दानी गर्छिन्। उनी भन्छिन्, ‘घरमा आएका पाहुनालाई खानपिन दिने र उनीहरूलाई नाचगान देखाउँदैमा समय बितेको छ। योसँगै आम्दानी पनि उत्तिकै छ।’

होमस्टेमा महिलाको सक्रियता
विष्णुमाया र तिलकाशी प्रतिनिधि पात्र मात्रै हुन्। अहिले लमजुङका ग्रामीण भेगमा सञ्चालनमा आएका अधिकांश होमस्टे सञ्चालक महिला नै छन्। उनीहरू होमस्टे सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन्।

घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरू होमस्टेका कारण जीवन नै परिवर्तन हुन थालेको बताउँछन्। घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक संकट भोग्दै आएका उनीहरू होमस्टे सञ्चालनसँगै सक्षम बन्दै गएका छन्। होमस्टेले आर्थिक मात्रै होइन, उनीहरूको सामाजिक जीवनमा समेत परिवर्तन ल्याएको छ। जिल्लामा अहिले २० भन्दा बढी सामुदायिक होमस्टेमा महिलाको सक्रियता छ।

होमस्टे सञ्चालनसँगै महिलाहरू तालिममा सहभागी हुने, पर्यटन विकासमा लाग्ने र बोल्न सक्ने भएका घरेलु विकास समितिका अधिकारीहरू बताउँछन्। घरखर्च चलाउनसमेत श्रीमान र परिवारका सदस्यको भरमा पर्ने महिलाहरू होमस्टे सञ्चालनसँगै आर्थिक रूपमा समेत सबल बन्दै गएका काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङ बताउँछन्। महिलाहरूले गाउँलाई फरक पहिचानमा चिनाउन सफल भएका उनको बुझाइ छ।

नेतृत्व गर्ने क्षमतामा वृद्धि
कुनै वेला गाउँमा पर्यटक आउँदा बोल्न नजान्ने ग्रामीण भेगका महिला पछिल्लो समय व्यवसायी बनेका छन्। होमस्टे व्यवसायसँगै अहिले उनीहरूको आनीबानीमा समेत परिवर्तन आएको छ। होमस्टेले महिलाहरूमा नेतृत्व गर्ने क्षमताको विकास भएको पुमा होमस्टेकी सञ्चालक आशमाया गुरुङ बताउँछिन्। उनका अनुसार केही वर्षयता महिलाहरू संघसंस्था हुँदै वडा र जिल्ला तहको राजनीतिक नेतृत्वसम्म पुगेका छन्। ‘होमस्टेले महिलाहरूलाई नेतृत्व गर्ने शैली र बोल्ने क्षमतामा सहयोग पुर्याएको छ,’ उनले भनिन्, ‘एकातिर आम्दानीको स्रोत बनेको छ भने अर्कोतिर सामाजिक काममा समेत व्यस्त बनाएको छ।’

महिलाहरूले घरायसी कामबाहेक होमस्टे सञ्चालन गरी राम्रो आम्दानी मात्रै होइन व्यक्तित्व विकाससमेत गर्दै आएको होमस्टेका अर्का सञ्चालक दुर्गाबहादुर गुरुङ बताउँछन्। ‘गाउँमा होमस्टे सञ्चालनमा आएपछि गाउँघरका दिदीबहिनीहरूको दैनिकीमा परिवर्तन आएको छ,’ उनले भने, ‘हाम्रो काम गर्ने र बोल्ने शैलीसमेत सुधारिएको छ।’

होमस्टेका कारण गाउँ फर्कने बढ्दै
सुरुवाती अवस्थामा जीविकोपार्जनकै लागि सदरमुकाम हानिएका महिलाहरू पछिल्लो समय आफ्नै गाउँमा फर्किन थालेका छन्। गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएपछि गाउँ फर्किएर होमस्टेको थालनी गर्ने महिलाहरूको संख्यामा वृद्धि भएको क्व्होसोथार गाउँपालिकाका अध्यक्ष एवं होमस्टेका योजनाकार प्रेम घलेले बताए।

घलेका अनुसार सामान्य अवस्थामा पनि एउटी महिलाले मासिक ५० देखि ६० हजारको हाराहारीमा कमाइ गर्न थालेका छन्। होमस्टेकी सञ्चालक बिमाया घले पाहुना आउँदा गाउँका सबै महिला मिलेर स्वागत सत्कार तथा नाचगान गर्ने हुँदा गाउँमा एकता भएको बताउँछिन्।

मुलुकको विषम् परिस्थितिका बाबजुद घलेगाउँबाट ग्रामीण पर्यटनको सुरुवात भएको पाइन्छ। ०५७ सालमा पहिलोपटक महोत्सव आयोजना गरी घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समय अन्य गाउँहरूसम्म पुगेको छ। घलेगाउँ, काउलेपानी, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनास, मोहोरियाकोट हुँदै पछिल्लो समय तार्कु पुरानकोट, इलमपोखरी, नाल्मा, छापा, मिप्रा, भुमे, मगरगाउँ, भलामचौरलगायतका गाउँहरूमा पुगेको हो।