मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत २ बुधबार ०८:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भूकम्पले क्षति पुर्‍याएका ७० शैक्षिक संस्थाको भारतीय अनुदानमा पुनर्निर्माण हुँदै, ऋण सम्झौता भएका ३८ संस्था भने अलपत्र

Read Time : > 1 मिनेट
२०७८ चैत २ बुधबार ०८:१३:००

 ३६ करोडको लागतमा अत्याधुनिक त्रिवि केन्द्रीय पुस्तकालय पुनर्निर्माण सुरु

०७२ वैशाखको भूकम्पले भत्किएका भारतीय अनुदान प्राप्त शैक्षिक संस्थाको पुनर्निर्माणमा प्रगति देखिए पनि ऋणमा सम्झौतामा पुनर्निर्माण अलपत्र परेको छ । भारतले ७० वटा विद्यालय र एउटा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय अनुदान सहयोगमा पुनर्निर्माणको सम्झौता गरेको थियो । एक्जिम बैंकको ऋणमा पुनर्निर्माण हुने सम्झौता भएका त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभागलगायतका ३८ कार्यालय भने अलपत्र परेका हुन् । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) अन्य विद्यालयको प्रगति ४० प्रतिशतको हाराहारीमा छ । अनुदान सम्झौता भएकामध्ये १४ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख रामशरण सापकोटाले अनुदानमा पुनर्निर्माण सुरु भएका शैक्षिक संस्थाको राम्रो प्रगति भएको बताए । उनले १४ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको र अरु विद्यालयको अधिकांशको ४० प्रतिशतभन्दा बढी प्रगति भएको बताए ।

भारतको ३६ करोड अनुदानमा त्रिविको केन्द्रीय पुस्तकालयको पुनर्निर्माणको शिलान्यास भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले  पुस्तकालय पुनर्निर्माणको शिलान्यास गरे । त्यसक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारमा भारत सरकारले सहयोग गर्दै आएको बताए । पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले ०१६ मा स्थापित पुस्तकालयमा हाल चार लाख ३० हजार पुस्तक र चार लाख ५० हजार बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसन तथा जर्नल, म्यागजिन तथा रिपोर्ट रहेको बताए । 

आंगिक क्याम्पस अलपत्र
भारतको ऋण सहयोगमा पुनर्निर्माण गर्ने सम्झौता भएका त्रिविका आंगिक क्याम्पससहित ३८ कार्यालय ६ वर्षसम्म अलपत्र छन् । ०७२ वैशाखको भूकम्पमा चर्किएर ‘रेड स्टिकर’ लगाइएका त्रिभुवन विश्वविद्यालयका ३२ आंगिक क्याम्पसमा ६ वर्षसम्म पुनर्निर्माण नहुँदा जोखिमपूर्ण अवस्थामै पढाइ हुने गरेको छ । सरकारले त्रिविका ३२ आंगिक क्याम्पस, त्रिवि स्मृति भवन, होस्टेललगायत गरी ३८ संस्था र दोलखाको जिरी प्राविधिक शिक्षालय भारतको एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माण गर्ने सम्झौता भारत सरकारसँग गरेको थियो । ऋण सहयोग भारतको हुने र परामर्शदाता नेपालको रहने सम्झौतामा उल्लेख छ । तर, भारतको बेवास्ता र झन्झटिला सर्तका कारण पुनर्निर्माण हुन सकेको छैन । पुनर्निर्माणमा अन्य देश तथा निकायले समेत चासो दिए पनि भारतसँग सम्झौता भइसकेकाले समस्या भएको छ । 

१०४ वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजलगायत केही संस्थाको अवस्था दयनीय छ । त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो । त्यतिवेला १४ महिनामा बनेको यो भवन भूकम्पले क्षति पुर्‍याएको ६ वर्ष बित्दा पनि पुनर्निर्माण हुन सकेको छैन । भारतको ऋण सहयोगमा बनाउने सम्झौता भए पनि निर्माण प्रक्रिया नै सुरु भएको छैन । भूकम्पले चर्किएका भवनमा बर्खाको पानी छिर्दा झन् गलेका छन् । क्याम्पस प्रमुखहरू कतिपय क्याम्पसमा धाउँदा निरास हुन थालेका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको स्थलगत अध्ययनअनुसार त्रिविको केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसको पुनर्निर्माणमा करिब १४ अर्ब खर्च हुने अनुमान छ । सरकारले भारतको ऋण सहयोगमा शैक्षिक संस्था पुनर्निर्माणका लागि सन् २०१६ मै सम्झौता गरेको थियो ।