रुसी सेनाले आइतबार युक्रेनको महत्वपूर्ण पश्चिमी सहर एलभिभमा क्षेप्यास्त्र आक्रमण गरेको छ । एलभिभस्थित सैन्य अखडामा रुसी सेनाले ३० वटा क्षेप्यास्त्र बर्साएको युक्रेनले जनाएको छ । आक्रमणमा ३५ युक्रेनी मारिएको, एक सय ३४ घाइते भएको सो क्षेत्रका गभर्नरले बताएका छन् । युक्रेनी समयअनुसार बिहान पौने ६ मा भएको रकेट आक्रमणले याभोरिभ थर्किएको युक्रेनी सेनालाई उद्धृत गर्दै पश्चिमी समाचार माध्यमहरूले लेखेका छन् ।
पश्चिमी मुलुकहरूले नाटो मुलुक पोल्यान्डमार्फत युक्रेनमा भारी मात्रामा हलुका एवं प्रभावकारी हतियार पठाइरहेको सन्दर्भमा एलभिभमाथि रुसले क्षेप्यास्त्र दागेको हो । एलभिभमा केही दिनअघिदेखि अमेरिका, बेलायत र अन्य मुलुकबाट पनि सैन्य प्रशिक्षकहरू जम्मा भइरहेका थिए । तर, उनीहरू उक्त अखडामा थिए/थिएनन् भन्नेबारे स्पष्ट भएको छैन ।
रुसी सेनाले केही दिनदेखि राजधानी किभलाई चारैतर्फबाट घेरेर आक्रमण गरिरहे पनि कडा प्रतिरोधका कारण अघि बढ्न सकिरहेको छैन । रुसी सेना राजधानी किभमा हातहतियार आपूर्तिको शृंखला तोडेर युक्रेनी सेनाको मनोबल एवं प्रतिरोधलाई कमजोर बनाउने प्रयासमा छ । रुस युक्रेनमाथिको आक्रमणमा दृढ देखिएपछि केही दिनअघि मात्रै पोल्यान्ड युक्रेनलाई सैन्य विमानहरू दिने पूर्ववर्ती योजनाबाट पछि हटेको थियो । तर, यसबीच पनि अमेरिका, बेलायतलगायत पश्चिमी मुलुकबाट साना एवं प्रभावकारी हतियारहरू युक्रेनमा आपूर्ति भइरहेकै थियो । यही कारण रुसी विदेशमन्त्रीले पश्चिमी हतियारको कन्भोय रुसी सेनाको स्वाभाविक निसाना हुने चेतावनी दिएका थिए ।
रुसी मिसाइल तथा सैन्य विमानहरूले आइतबार बिहानदेखि युक्रेनको राजधानी किभको उत्तर र दक्षिणी इलाकामा बमबारी बढाएको स्थानीय अधिकारीहरूले जानकारी दिइरहेका छन् । रुसी स्थल सेना पनि चारै दिशाबाट बिस्तारै किभतर्फ अघि बढिरहेको छ । तिनलाई सघाउन वायु सेनाले हवाई आक्रमण तीव्र बनाउन थालेको हुन सक्ने अन्तर्राष्ट्रिय मिडियाको आकलन छ ।
रुसी फौजले किभवरपरका उत्तर–पूर्वी युक्रेनमा केही प्रगति गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन् । केही दिनदेखि सो क्षेत्रमा रुसी फौजको गति सुस्त देखिएको थियो । युक्रेन आक्रमणमा सहभागी रुसी फौजको उत्तरी हिस्साको मुख्य प्राथमिकता किभ नियन्त्रण लिनु देखिन्छ । गत साता भू–उपग्रहले बेलारुसको सीमाबाट किभतर्फ अगाडि बढिरहेको रुसी सैन्य वाहनको ६४ किमि लामो लावालस्करको फोटो खिचेको थियो । बीचमा हटेको जस्तो देखिएका ती वाहनको लस्कर पुनः परिचालित भएको बताइएको छ ।
रुसी स्थल फौजको एक ठूलो हिस्सा शनिबार अबेरसम्म युक्रेनी राजधानीको २५ किमिनजिक पुगेका छन् । तर, आइतबार दिनभर यो फौजले युक्रेनी सेना तथा नागरिकको बलियो प्रतिरोध सामना गर्नुपर्यो । जसका कारण रुसी फौज अझै किभबाट २५ किमि परै रोकिइरहेको बताइएको छ ।
शनिबार रुसी रकेट आक्रमणमा किभको भसिल्किभ बस्तीनजिक युक्रेनी हवाई आधार ध्वस्त भएको थियो । रकेट आक्रमणबाट एउटा हातहतियार भण्डार ध्वस्त भएको भसिल्किभका मेयर नतालिया बलासिनोभिचले बताइन् । त्यस्तै, रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभका अनुसार किभको पूर्वी बस्ती ब्रोभारीमा तैनाथ युक्रेनी सैन्य गुप्तचरी अनुसन्धान केन्द्र पनि आक्रमणमा परेको छ ।
तर, शनिबार रुसी हवाई आक्रमण किभमा मात्र सीमित थिएन । युक्रेनका सबैजसो प्रमुख सहरहरूमा सम्भावित बमबारीबाट सुरक्षित रहन बजाइने साइरनको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । राजधानी किभका अतिरिक्त लभिभ, ओडेसा, खारकिभ, चेरकासी र सुमी क्षेत्रमा पनि साइरन बजेको युक्रेनी मिडियाहरूले भनेका छन् ।
युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा रुसको नाकाबन्दी
रुसले युक्रेनको दोस्रो ठूलो सहर खारकिभलाई घेरेर सहरमा नाकाबन्दी लगाइरहेको छ । देशको मध्यपूर्वी सहर निपरोमा पनि उसले भीषण बमबारी गरिरहेको छ । अर्को सहर मरिअपोलमा नियमित बमबारीकै कारण उद्धारको काम प्रभावित बनेको छ । बमबारीले उद्धारको कामका अतिरिक्त सहरमा खानेपानी तथा खाद्यान्नको ढुवानी पनि रोकिएको अधिकारीले बताइरहेका छन् ।
युक्रेनी फौजले मरिअपोलको बाहिरी हिस्सामा रुसी फौजको पकड स्थापित भएको स्विकारेको छ । फेसबुकमा एक पोस्ट गर्दै युक्रेनी सेनाले पूर्वी सहरहरू मरिअपोल र सेभेरोदोनेत्स्कको कब्जालाई रुसी फौजले उच्च प्रथामिकतामा राखेको चेतावनी दिएको थियो । चार लाख ३० हजार मानिसको बसोवास रहेको मरिअपोललाई एक सातादेखि रुसी फौजले घेरिरहेको छ । युक्रेनी अधिकारीहरूले सहरमा रुसी आक्रमणबाट १५ सयभन्दा बढीको ज्यान गइसकेको बताएका छन् ।
शनिबार अबेरसम्म पूर्वी युक्रेनको लुहान्स्कको झन्डै ७० प्रतिशत भूभागमा रुसको नियन्त्रण कायम भएको त्यहाँका गभर्नर सेहिए हैदाईले बताएका छन् । उनका अनुसार कब्जामा आउन बाँकी क्षेत्रमा बमबारी भइरहेको छ । ती भेगमा युद्धबाट उम्कन चाहने मानिसहरूका लागि कुनै सुरक्षित मार्गको व्यवस्था नगरिनु दुःखद भएको उनले बताए । युक्रेनको उत्तरी सहर चेनिहिभले पनि भीषण रुसी बमबारीको सामना गरिरहेको सो क्षेत्रका गभर्नर भियाचेस्लाभ चोसले जानकारी दिएका छन् । स्थानीय टेलिभिजनले सहरका कैयौँ भवन तथा एक रंगशालामा भएको ठूलो स्तरको क्षतिका दृश्यहरू देखाइरहेका छन् ।
बेलायतका अनुसार गत शुक्रबारदेखि रुसले युक्रेनका पश्चिमी सहरहरूमा बमबारी गर्न थालेको थियो । बेलायतको रक्षा मन्त्रालयले उसको आधिकारिक ट्विटरमा गुप्तचर सूचनाको अपडेट गर्दै पश्चिमी युक्रेनी सहर लुत्स्क र इभानो–फ्रान्किभ्स्कमाथि आक्रमण भएको जानकारी दिएको छ । यसअघि रुसी आक्रमण मुख्यतः पूर्वी भेगमा मात्र केन्द्रित थियो । आइतबार नै युक्रेन सरकारले रुसी पक्षमा पुगेको क्षतिको तथ्यांक सार्वजनिक गरेको छ । युक्रेनले आफूहरूले रुसी पक्षमा ठूलो क्षति गराउन सफल भएको दाबी गरेको छ । आफ्नो प्रत्याक्रमणमा १२ हजार रुसी सेना, ३७४ तोप, १२२६ सैन्य वाहन र १४० भारी हातहतियार प्रणाली नष्ट भएको युक्रेनले बताएको छ ।
अर्कोतर्फ, गत शुक्रबार मध्यान्ह मेलिटोपोल सहरको मेयरलाई रुसले अपहरण गरेको समाचार आएको थियो । आइतबार रुसले अपहरण गरेका मेयरको सट्टामा आफैँले मेयर थपना गरेको रिपोर्ट आइरहेको छ । क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार रुसी बमबारीका कारण दोनेत्स्क क्षेत्रको भोल्नोभाखा सहर पूर्णतः क्षतिग्रस्त बनेको छ ।
–एजेन्सीको सहयोगमा