
मतदाता फकाउने कांग्रेसका रणनीति
सत्तारुढ दल कांग्रेस मुख्य आठ एजेन्डा लिएर स्थानीय तहको निर्वाचनमा होमिने भएको छ । नेकपा सरकारको आलोचनादेखि एमसिसीमा प्रस्टीकरणसम्मका मुद्दा लिएर मतदाताकहाँ जाने गरी कांग्रेसले चुनावी कार्ययोजना बनाएको छ । २९ फागुनदेखि २९ चैत्रसम्म कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्दै छ ।
आठ उद्देश्य राखेर सुरु हुन लागेको अभियानमा मतदातासँग कसरी जोडिने भन्ने राजनीतिक मुद्दा समेटिएका छन् । स्थानीय निर्वाचनमा केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला–जिल्ला जाने केन्द्रीय सदस्यहरूले यिनै मुद्दामा केन्द्रित रहेर काम गर्नेछन् । ‘हरेक काँधलाई भारी, हरेक हातमा जिम्मेवारी’ को नीतिअनुसार कांग्रेसले सबै नेता–कार्यकर्ता परिचालन गर्ने योजना बनाएको छ ।
अभियानका क्रममा कांग्रेस नेताहरूले ‘कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने’ तथा ‘नेकपाको सरकारको गत ३ वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने’ रणनीति बनाएका छन् ।
यसबाहेक ‘प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रूपमा सरकारमा जानुपरेको यथार्थ जनसमक्ष राख्ने’, ‘हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसिसी कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसदबाट पारित भएको हुँदा त्यसबारेमा जनस्तरमा छरिएका भ्रम बुँदागत रूपमा चिर्दै वास्तविकता प्रस्टसँग राख्ने’ कांग्रेस अभियानको उद्देश्य छ ।
कांग्रेसले एमसिसीका विवादित विषयमा स्पष्टीकरण दिन पुस्तिकासमेत वितरण गर्ने भएको बताएको छ । एमसिसीमा लिएको अडानका कारण निर्वाचनमा असर पर्न सक्ने सम्भावनासमेत मध्यनजर गर्दै कांग्रेसले यस्तो नीति लिएको हो । पुस्तिकाबाहेक यसलाई भिडिओ र अडियोमार्फत समेत प्रचार गर्न लागिएको कांग्रेसले जनाएको छ ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसिसीबारे जनमानसमा रहेको भ्रम र जिज्ञासाका विषयलाई बुँदागत रूपमा समेटेर पुस्तिका तयार गरिएको छ । ‘एमसिसीबारेको जनमानसमा उठेका प्रश्नलाई बुँदागत रूपमा समेटेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘पुस्तिका तयार भइसकेको छ । किन एमसिसी ठीक छ ? किन संसदबाट पारित गरियो भन्ने विषय समेटिएको छ । चुनावी अभियान सँगसँगै घर–घर पुगेर एमसिसीबारे निवारण गर्नेछौँ ।’ त्यसैगरी ‘कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायःलाई लगाइसक्ने योजना थप स्मरण गराउने’ कांग्रेसको चुनावी एजेन्डा छन् ।
अभियानअन्तर्गत मतदानमा सहभागी भई लोकतान्त्रिक अधिकार प्रयोग गर्ने मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने, कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेस उम्मेदवारलाई विजयी गराउन अपिल गर्ने योजना छन् । ‘जिम्मेवारी बाँडफाँड गरेर पार्टीपंक्तिलाई निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने’ अभियानको योजना छ ।
अभियानका लागि केन्द्रीय प्रतिनिधि तोकिए
कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित अभियानअन्तर्गत केन्द्रीय प्रतिनिधि तोकेको छ । मंगलबार सभापति शेरबहादुर देउवाले केन्द्रबाट खटिने प्रतिनिधिहरूको बैठक राखेर केन्द्रीय तहदेखि पालिकासम्मको जिम्मेवारी बाँडफाँडसहित निर्देशन दिएका छन् । अभियानको उद्घाटन केन्द्रीकृत रूपमा ७७ जिल्लामा देशभर एकैदिन एकसाथ दिँउसो १ बजे जिल्लास्तरीय रूपमा हुने कांग्रेसले जनाएको छ ।
सह–महामन्त्री बद्री पाण्डेका अनुसार सभापति देउवाले जिल्ला जान र कांग्रेसलाई विजयी गराउने माहोल बनाउन केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन् । ‘सभापतिले निर्वाचन अभियानअन्तर्गत केन्द्रबाट जिल्ला जाने प्रतिनिधिलाई बोलाएर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘अभियानअन्तर्गत प्रत्येक जिल्लामा एकजना केन्द्रीय सदस्य प्रतिनिधिका रूपमा खटाइएको छ ।’ बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई केन्द्रको प्रतिनिधिका रूपमा फागुन २७ भित्र जिल्लामा उपस्थित हुन र फागुन २९ बाट चुनावी अभियान सुरु गर्ने जिम्मेवारी दिएको छ ।
देउवाको निर्देशन–गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्नू
कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी अभियानका क्रममा सत्ता गठबन्धनलाई अप्ठयारो पार्ने गतिविधि नगर्न निर्देशन दिएका छन् । गठबन्धनका विषयलाई लिएर कांग्रेसमा दुई धार देखिएपछि चुनावमा पर्न सक्ने प्रभावलाई लिएर देउवाले यस्तो निर्देशन दिएका हुन् । ‘गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनुहोला,’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।