मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २३ सोमबार २१:१३:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कूटनीतिक नम्बरप्लेटको गाडी चढेर ठग्ने कान्ति जेल चलान, यस्तो थियो ठगी धन्दा 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २३ सोमबार २१:१३:००

आफू राष्ट्रसंघको उच्च पदस्थ कर्मचारी भएको भन्दै ठगी गर्ने डा.क्रिस्टिना भन्ने कान्ति राना गुरुङ जेल चलान भएकी छिन् । जिल्ला अदालत काठमाडौंले उनलाई ठगी मुद्दामा पुर्पक्षका लागि जेल चलानको आदेश गरेको हो । उनलाई महिला केन्द्रीय कारागारमा लगिएको छ । जर्मनी पठाइदिने भन्दै उनले दर्जनौँ व्यक्तिलाई ठगी गरेकी थिइन् । २४ लाख बिगो बनाई उनीविरुद्ध मुद्दा दायर भएकोमा अदालतको आदेशले उनी जेल चलान भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी मिलन केसीले बताए । यसअघि पनि उनी दुईपटक जेल पुगिसकेकी थिइन् । 

यस्तो थियो उनको ठगी धन्दा 
तनहुँको भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल गत भदौमा नागरिकतासम्बन्धी २० वर्ष पुरानो मुद्दामा जेल परेका थिए । दमौली कारागारमा रहँदा डा.क्रिस्टिना भन्ने कान्ति राना गुरुङसँग चिनजान भयो । उनी एक कैदीलाई भेट्न त्यहाँ पुगेकी थिइन् । मल्ल ४० दिनपछि जेलबाट छुटे । जेलबाट छुट्दा कान्ति उनको परिवारको सदस्यजस्तो भइसकेकी थिइन् । जेलमै श्रीमतीसँग भेट भएका वेला दोस्ती गरेकी गुरुङले उनका छोरा, छोरी र सालोलाई जर्मनी पठाउने अन्तिम तयारी गरिसकेकी थिइन् । 

‘छोरा, छोरी र सालोलाई जर्मनी उडाउन भनेर ठमेलको एक होटेलमा लगेर राखिएको थियो,’ मल्लले भने, ‘त्यसका लागि उनले मेरी श्रीमतीसँग ३५ लाख लिइसकेकी रहिछन्, मलाई त शंका लागेको थियो । तर, परिवारले नै जिद्दी गरेपछि मेरो केही लागेन, पछि १५ लाख रुपैयाँ थप्न बाध्य भएँ ।’ पैसा हात पारेपछि विभिन्न बहाना गर्दै उनी टाढिँदै गइन् । ती महिला पेसेवर ठग भएको र उनका कारण पैसा गुम्नुका साथै उनका कारण आफ्ना छोराछोरीको पढाइसमेत बिग्रिएको उनले सुनाए । त्यसरी दिएको ५० लाखमध्ये उनले ३१ लाख फिर्ता लिएका छन् । 

यसरी नाटकीय शैलीमा दर्जनौैँ व्यक्तिलाई उनले ठगी गरेको उजुरी परेको छ । जर्मनी पठाउँछु भनेर ठगी गरेको अभियोगमा गत महिना प्रहरीले उनलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरेको थियो । उनले आफू संयुक्त राष्ट्रसंघको उच्चपदस्थ व्यक्ति भएको र जर्मनी पठाइदिने भनेर दुई करोड रुपैयाँभन्दा धेरै ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । ‘जर्मनी पठाइदिन्छु भनेर दर्जनौँलाई ठगी गरेको भन्ने उजुरी छ,’ उनले भने, ‘आफू उच्चपदस्थ व्यक्ति भएको भ्रममा पारी उनले वर्षाैँदेखि ठगीधन्दा चलाउँदै आएको देखिन्छ ।’ 

३६ जनाले दिए क्रिस्टिनाविरुद्ध ठगीको निवेदन
 क्रिस्टिनाविरुद्ध तनहुँका रामकृष्ण विक, बाग्लुङका लीलाबहादुर विक र पोखराका धर्मराज सादाशंकरले जाहेरी दिएका थिए । लीला र धर्मराजसँग उनले १५ लाख ५० हजारका दरले तथा रामकृष्णसँग १० लाख रुपैयाँ लिएकी थिइन् । जर्मनीमा आफ्नो साथी रोशनी भण्डारीको स्याउ उद्योग भएको र त्यही उद्योगमा काम गर्न पठाइदिने भन्दै उनले ठगी गरेकी हुन् । रोशनी राष्ट्रपति विद्यादेवी भण्डारीको आफन्त भएको भनेरसमेत भ्रममा पारी कतिपय पीडितलाई विश्वासमा लिई ठगी गरेकी थिइन् । 

दुई महिनाअघि उनीविरुद्ध ३६ जनाले ठगीको सामान्य निवेदन दिएका थिए । दुई करोड ३१ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको थियो । सो उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले उनलाई छलफलमा बोलायो । उनले आफूले कसैलाई ठगी नगरेको जिकिर गरिन् । पछि प्रहरीविरुद्ध आफूलाई पक्राउ गर्ने प्रयास गरेको भन्दै धरपकड रोक्न रिट दायर गरिन् । रिट खारेज भएपछि प्रहरीले जाहेरी दर्ता गरी उनलाई २६ माघमा पक्राउ गरेको हो । प्रहरीलाई झुक्याउन उनले आफ्नो मोबाइल एक ठाउँमा राखेर अन्त जाने गरेकी थिइन् । पक्राउ परेलगत्तै प्रहरीलाई पैसा दिएर प्रभाव पार्ने प्रयास गरेको स्वयम्भू वृत्तका एक प्रहरी अधिकारीले बताए । पीडितमध्ये केहीलाई उनले हिरासतबाटै फकाएर जाहेरी दिन रोकेकी छिन् । 

सामान्यतया, अभियुक्तले आरोप स्वीकार गर्दैनन् । तर, कान्तिले भने प्रहरीसँगको बयानमा आफ्नो काम नै ठगी भएको भन्दै स्वीकार गरेकी छिन् । ‘मैले १५–२० वर्षदेखि यही काम गरेकी हुँ, उजुरी गर्नेलाई पनि ठगी गरेकी हुँ,’ उनले बयानमा भनेकी छिन् । प्रहरी अधिकारीहरूलाई उनले आफू पक्राउ परे पनि सबैतिर मिलाएर सहजै छुट्ने र फेरि यही काममा लाग्नेसमेत बताएकी छिन् । 

केही पीडितलाई उनले आफू संयुक्त राष्ट्रसंघको ७७ देशको प्रमुख भनेर परिचय मात्र दिने होइन, भिजिटिङ कार्ड दिने गरेकी थिइन् । पीडित प्रकाश मल्लका अनुसार विश्वासमा पार्न उनी निलो कूटनीतिक नम्बर प्लेटको गाडीसमेत चढेर तनहुँ पुग्ने गरेकी थिइन् । महँगा घरमा डेरा लिने र त्यो आफ्नै घर भनेर उनले प्रभावमा पार्ने गरेको पाइएको छ । सुरुमा राम्रो आतिथ्यता गर्ने र पछि उनीहरूको विश्वास जितेपछि क्रिस्टिनाले ठगी गर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

सीतापाइलास्थित एक प्रहरीकै घरमा डेरामा बस्ने उनी आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि त्यहाँ बस्न छाडेकी थिइन् । करोडौँ ठगी गरे पनि उनको नाममा प्रहरीले सम्पत्ति भेट्टाउन सकेको छैन । ठगीको क्रममा प्रमाण लोप गर्न उनले अन्य व्यक्तिको खाता प्रयोग गर्दै आएको स्वयम्भू वृत्तका डिएसपी मिलन केसी बताउँछन् । समस्यामा परेको भन्दै विभिन्न व्यक्तिको खाता नम्बर माग्ने र उनीहरूको खातामा पैसा हाल्न लगाई निकाल्ने गरेकी छिन् । चिया पसले, तरकारी पसलेहरूसँग मीठा कुरा गरी नजिकिने र उनीहरूलाई समेत केही सहयोग गरी उनीहरूको खाता प्रयोग गरी ठग्दै आएको प्रहरीको भनाइ छ । ‘ठगीमा प्रयोग भएका बैंक खाताहरू रोक्का राख्न पत्राचार गरेका छौँ,’ स्वयम्भू वृत्तका डिएसपी केसी भन्छन्, ‘उनले एकदमै चलाखीसाथ ठगेको देखिन्छ, यस्तो किमिसको ठगी विगतमा हामीलाई थाहा थिएन ।’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी आफूलाई डाक्टर भनेर चिनाउने गुरुङ ठगीको ‘अपराधमा विद्यावारिधि’ गरेको टिप्पणी गर्छन् । 
जब पीडितलाई नै हात लिइन् 
क्रिस्टिनाले चुननारायण विश्वकर्मा र रविन श्रेष्ठलाई जर्मनी पठाउने आश्वासनमा ठगी गरेकी थिइन् । महिनौँसम्म पठाउन नसकेपछि उनीहरूले पैसा फिर्ता मागे । पैसा फिर्ता दिन उनले एउटा प्रस्ताव राखिन् । आफूहरू जर्मनी पुगिसकेको भन्दै चिनजानका अन्य व्यक्तिलाई भिडियो कल गरेर पैसा हाल्न लगाउने । त्यसका लागि रामकोटमा बनेको एउटा नयाँ घरलाई प्रयोग गरियो । युरोपको जस्तो देखिने सो घरबाट फोन गर्न लगाइयो । उनीहरूलाई स्याउ उद्योगमा लगेर जागिर लगाइदिने भनिएको थियो । कोठामा केही स्याउ राखेर आफूहरू स्याउ उद्योगमा भएको भन्दै भ्रममा पारेर भिडियो कलमार्फत झुक्याइएको थियो । त्यसलगत्तै चुननारायण र रविन श्रेष्ठका आफन्तले युरोप जाने सपनामा तत्कालै पैसा हाले । त्यो पैसा पनि उनले आफ्नो खातामा होइन, चुननारायण र रविनकै खातामा हाल्न लगाएर आफूले लिइन् । त्यसरी पीडितहरूलाई नै उनले ठगको जालोमा फसाएकी हुन् । चुननारायण र रविन हाल फरार छन् । 

कहिले कर्णेलकी छोरी, कहिले सांसदकी !
ठगी गर्दा उनले आफूलाई उच्चपदस्थ व्यक्तिको परिवारको सदस्यका रूपमा चिनाउँदै आएकी छिन् । ०७४ मा उनले आफू ब्रिटिस गोरखा सैनिकमा कार्यरत कर्णेलकी छोरी भएको र बेलायत लैजाने भन्दै नारायणी थापालगायतलाई ठगी गरेकी थिइन् । थापालाई विमानस्थल लगेर त्यो दिनको उडान रद्द भएको भन्दै पिंगलास्थानको मनकामना गेस्टहाउसमा ल्याएर राखिएको थियो । त्यहाँ आफूलाई बन्धक बनाएको भन्दै थापाले उजुरी गरेपछि महानगरीय प्रहरी वृत्त गौशालाले क्रिस्टिनालाई अपहरण तथा शरीर बन्धक मुद्दा चलायो । जसमा उनले सफाइ पाएकी थिइन् । 
त्यस्तै, ०७४ मा एनसेलमा कम्प्युटर इन्जिनियरको जागिर लगाइदिने भन्दै उनले जगदीश यादवलाई ठगी गरेकी थिइन् । सो मुद्दामा उनलाई जिल्ला अदालतले सफाइ दिएकोमा उच्च अदालत पाटनले गत मंसिरमा ६ महिना कैद सजाय सुनाएको छ । त्यसवेला उनले आफ्नी आमा सरिता गुरुङ भनेरसमेत कतिपयलाई झुक्याएको प्रहरीले जनाएको छ । कतिपयलाई सुरुमा आफैँ सहयोग गरेर प्रभावमा पार्ने र पछि उनीहरूसँग लाखौँ लिएर भाग्ने गरेकी छिन् ।

जेलभित्रै प्रेम र विवाह 
०७४ मा पक्राउ पर्दा उनी पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भइन् । केन्द्रीय कारागारमा लागुऔषध मुद्दामा कुलबहादुर तामाङसँग उनको चिनजान भयो । दुईजना प्रेम सम्बन्धमा गाँसिए । र, पछि विवाहसमेत गरे । कुलबहादुर हाल रसुवा कारागारमा छन् । सामान किन्न भनेर काठमाडौं आउने र उनी श्रीमतीसँग बस्ने गरेकोसमेत अनुसन्धानमा खुलेको छ । कुलबहादुरविरुद्ध लागुऔषध मुद्दामा १५ वर्ष कैद सजायको फैसला भएको छ । 

सुन्धारामा महिला र पुरुषको कारागार छुट्टाछुट्टै छ । तर, उनीहरूबीच जेलभित्र कसरी चिनजान र प्रेमसम्बन्ध कायम भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी बताउँछन् । जेलको आन्तरिक प्रशासनमा भएका व्यक्तिहरू कारागार कार्यालयमा जान पाउने र त्यही क्रममा भेटघाट भएको हुन सक्ने आशंका गरिएको छ । चौकीदारका रूपमा तामाङले बैंक खाता चलाउने सुविधा पाएका थिए । त्यही खातासमेत प्रयोग गरी ठगी भएको अनुसन्धानमा खुलेको छ । यसरी वर्षाैँदेखि ठगी गर्दै आएकी उनी तेस्रोपटक जेल पुगेकी छिन् । उनले विगतमा जेलबाटै समेत ठगी धन्दा चलाएकी थिइन् ।