Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ फाल्गुण ६ शुक्रबार ११:४०:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

कमला पुलसँगै भासियो हुलाकी राजमार्ग 

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण ६ शुक्रबार ११:४०:००

सिराहा नगरपालिका–६ बसपिट्टातर्फको पुलको दोस्रो पाया (पायर) गत १७ असारमा र धनुषा जिल्लातर्फबाट तीन नम्बर पाया गत ३ कात्तिकमा भासिएको हो । सिराहातर्फको पाया पूरै जमिनमा धसेको छ भने धनुषातर्फको पाया करिब डेढ मिटर भासिएको छ । निर्माणाधीन कमला नदीको पुल भासिएपछि तराई–मधेस क्षेत्रको लाइफलाइन मानिएको हुलाकी राजमार्गमा समेत चहलपहल छैन ।

गत असारमा आएको बाढीले भासिएको कमला नदीको निर्माणाधीन पुल । तस्बिर : नयाँ पत्रिका

तराई–मधेस क्षेत्रको लाइफलाइन मानिएको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल भासिएर सात महिनादेखि अलपत्र परेको छ । राजमार्गको सिरहा–धनुषाखण्ड जोड्ने पुल गत १७ असारमा भासिएको थियो । नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन पुल भासिएको थियो । सिरहा नगरपालिका–६ बसपिट्टातर्फबाट पुलको दोस्रो पाया (पायर) १७ असारमा र धनुषा जिल्लातर्फबाट तीन नम्बर पाया ३ कात्तिकमा भासिएको थियो ।

सिरहातर्फको पाया पूरै जमिनमा धसेको छ भने धनुषातर्फको पाया करिब डेढ मिटर भासिएको छ । १३ वटा पाया (पायर) र १२ स्पान (स्ल्याब)सहितको ४७० मिटर लम्बाइको निर्माणाधीन पुलको दुईवटा पाया भासिएपछि पुल अब कहिले सञ्चालन हुने टुंगो छैन । यो पुल गत साउन पहिलो सातामै उद्घाटन गर्ने तयारी थियो । सुरुमा पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो । पप्पुले पुल निर्माणमा ढिलाइ गरेपछि लुम्बिनी बिल्डर्सले जिम्मेवारी पाएका थिए । लुम्बिनी बिल्डर्सले पुल निर्माणलाई तीव्रता दिँदै ९५ प्रतिशत काम 
सकिसकेको थियो । 

१० वर्षअघिको सम्झौता
सिरहा–धनुषा जिल्लालाई जोड्न सिरहा नगरपालिका–६ बसपिट्टाघाटनजिकै चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल ०६८ देखि निर्माणाधीन अवस्थामा थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २४ करोड ६२ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभीले ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो । निर्माण कम्पनीसँगको सम्झौताअनुसार कम्पनीले नै ‘डिजाइन एन्ड बिल्ट’को जिम्मेवारी पाएको थियो । 

सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सक्नुपर्ने पुल ढिलाइ र बेवास्ताकै कारण एक दशकदेखि निर्माणाधीन अवस्थामा छ । पछिल्लोपटक दुईपटक म्याद थपिएर पुल निर्माण ९५ प्रतिशत पूरा भएको थियो । तर, यसै वर्ष कमला नदीमा आएको बाढीले पाया भासिन पुगेको छ । पहिलोपटक पुल निर्माणको म्याद थपेर ३० मंसिर ०७५ सम्म समय लम्ब्याइयो थियो । तर, थपिएको म्यादमा काम नसकिएपछि पुनः १३ असार ०७८ सम्म म्याद थप गरिएको थियो ।

सतर्कता केन्द्र र गृह मन्त्रालयलाई पत्राचार
उद्घाटनको तयारी गर्दैगर्दा कमला नदीको पुल भासिएको थियो । पुल भासिएपछि गुणस्तर छानबिन गरी कारबाही अघि बढाउन राष्ट्रिय सतर्कता केन्द्र र गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल (सेवानिवृत्त)ले ‘पुलमा सवारीसाधन नचल्दै पाया (पायर) भासिएकोले निर्माण कम्पनीले गलत डिजाइन वा डिजाइनविपरीत काम गरेको सम्भावना देखिएकोले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेको बताएका थिए ।

त्यसपछि कतैबाट पनि पुल भासिएको सम्बन्धमा छानबिन र कारबाहीको पहल भएको छैन । मधेस प्रदेश सरकारका तात्कालीन आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले पुल भासिएपछि निरीक्षण गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

आन्दोलनको तयारी
हुलाकी सडक संघर्ष समितिका संयोजक रामरीझन यादवले मुख्य सडकमार्गको पुल भासिएको सात महिनासम्म सरकारले वास्ता नगरेपछि दबाब स्वरूप आन्दोलनको तयारीमा लागेको बताए । 

गत १६ र १७ पुसमा भौतिक योजनामन्त्री रेनु यादवसँग कमल पुलको बारेमा ध्यानाकर्षण गराउन प्रयास गर्दा स्वकीय–सचिव अशोक यादवले चासो नदिएको बताए । कमला नदीको पुल भासिएको विषयमा सिरहा र धनुषाका जिल्लाका जनप्रतिनिधिले पनि मौनता साँधेको संयोजक यादवको आरोप छ । उनले भने, ‘अब चाँडै काठमाडौं पुगेर विरोध प्रदर्शन गर्ने तयारीमा छौँ ।’

भासिएको पुल निर्माण व्यवसायीले नै बनाउने हो : कृष्णकुमार महतो प्रमुख, हुलाकी सडक निर्देशनालय जनकपुरधाम

निर्माण व्यवसायीले नै यो पुलको डिजाइन गरेकोले भासिएको पुल अब उनीहरूले नै निर्माण गर्नुपर्छ । यद्यपि, पुल भासिएको तीन ठाउँमा निर्देशनालयले एक साताअघि स्वाइल टेस्ट गरेको छ । स्वाइल टेस्टको नतिजा एक सातापछि आउने र त्यसपछि मात्रै थप जानकारी प्राप्त हुन्छ । भासिएको पुल निर्माण गर्न समय लाग्छ । तर, सम्झौताअनुसार निर्माण कम्पनीले नै बनाउनुपर्छ । हामीले निगरानी मात्रै गर्ने हो, निर्माण कम्पनीले नै पुलको सबै काम पूरा गर्नुपर्छ ।