१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतीय उद्योगपति राहुल बजाजको निधन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:५७:oo

भारतका वरिष्ठ उद्योगपति बजाज समूहका प्रमुख राहुल बजाजको शनिबार निधन भएको छ । एक महिनाअघि रुबी हल क्लिनिकमा भर्ना भएका ८३ वर्षीय बजाज निमोनिया र मुटुको समस्याबाट पीडित थिए । 

बजाज समूहले शनिबार दिउँसो २ः३० बजे बजाजको निधन भएको सार्वजनिक गरेको छ । उनी दुई कार्यकाल भारतीय उद्योग परिसंघ (सिआइआई)का अध्यक्ष थिए । 
‘गहिरो दुःखका साथ दिवंगत रूपा बजाजका श्रीमान् तथा राजीव र दीपा, सञ्जीव र सेफाली र सुनैना र मनीषका बुवा राहुल बजाजको निधन भएको जानकारी गराउँदछौँ, ’ बजाज समूहद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । 

भारतका राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीलगायतले ट्विटरमा बजाजको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली लेखेका छन् । 

सन् १९६५ देखि बजाज समूहमा सामेल भएका राहुल त्यसको तीन वर्षपछि बजाज अटोको प्रमुख कार्यकारी अधिकृत भएका थिए । तर, उनले कार्यकारी भूमिकाबाट अलग भएर छोरा राजीव बजाजलाई बजाज अटोको प्रबन्ध निर्देशक बनाएका थिए । उनी गैरकार्यकारी अध्यक्षका रूपमा थिए । तर २०२१ अप्रिलमा उनले पदबाट राजीनामा दिएका थिए । 

भारतको सबैभन्दा पुरानो व्यापारिक घरानामध्येको एक बजाज समूहसँग बजाज अटो, बजाज फाइनान्स, बजाज इलेक्ट्रिकल्स, मुकन्द एन्ड बजाज एलियान्जलगायतका २५ कम्पनीहरू छन् । सबै कम्पनीमा करिब ३६ हजार कर्मचारीहरू कार्यरत छन् । 

जुन १०, १९३८ मा जन्मेका बजाजले दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन्स कलेजबाट १९५८ मा अर्थशास्त्रमा स्नातक गरेका थिए । उनले बम्बई विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर  र हार्वर्ड बिजनेस स्कुलबाट एमबिएसमेत गरेका थिए । 

बजाज ग्रुप अफ कम्पनीको प्रमुखको रूपमा उनले दुई, तीन र चार पांग्रे सवारीसाधनको उत्पादन तथा बिक्री बितरण गर्दै आएका थिए । उनले जीवन बिमा, लगानी तथा उपभोक्ता वित्त, घरेलु उपकरण, विद्युतीय बत्ती, वायु ऊर्जा, मिश्र धातु र स्टेनलेस स्टिललगायतका क्षेत्रमा पनि लगानी गरेका थिए । 

बजाजले भारत सरकारबाट पद्मभूषण प्राप्त गरेका थिए भने धेरै विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएका छन् । बजाज  २००६ देखि २०१० सम्म राज्यसभाका सांसदसमेत थिए । बजाज इन्डियन एयरलाइन्सका पूर्वअध्यक्ष र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बम्बईका बोर्ड अफ गभर्नर्समा पनि थिए । उनी इन्टरनेसनल बिजनेस काउन्सिल, वर्ल्ड इकोनोमिक फोरमका पूर्वअध्यक्ष, हार्वर्ड बिजनेस स्कुलको दक्षिण एसिया सल्लाहकार बोर्डका पूर्वसदस्य र वासिंगटन, डिसीमा ब्र्किङ्स इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का पूर्वसदस्य पनि थिए । बजाजले जमनालाल बजाज फाउन्डेसनलगायत बजाज समूहको कम्पनी र च्यारिटेबल ट्रस्टहरूको गतिविधिको पनि नेतृत्व गरेका थिए ।

ad
ad