मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ २८ शुक्रबार १५:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसदको गाडीभाडा व्यहोर्ने धनगढी उपमहानगरपालिकाको निर्णय 

Read Time : > 1 मिनेट
२०७८ माघ २८ शुक्रबार १५:०७:००

धनगढी उपमहानगरपालिकाले कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद नारदमुनि रानालाई निर्वाचन क्षेत्र अनुगमन गरेको गाडीभाडाको नाममा चार लाख रुपैयाँ दिने निर्णय गरेको छ । गएको २७ पुसमा नगरप्रमुख नृपबहादुर वडको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गत आर्थिक वर्षमा निर्वाचन क्षेत्र अनुगमनका क्रममा सांसद रानाले प्रयोग गरेको गाडीको भाडाबापत उक्त रकम दिने निर्णय गरेको हो ।
    
‘राना यस निर्वाचन क्षेत्रमा अनुगमन गर्न आउँदा प्रयोग गरिएको बा.१५च ८०६९ नम्बरको गाडीको गत आर्थिक वर्षदेखिको भुक्तानी हुन बाँकी रहेको भाडा रकम चार लाख रुपैयाँ विविध शीर्षकबाट कर कट्टी गरी भुक्तानी दिने निर्णय गरियो,’ कार्यपालिकाको निर्णयमा उल्लेख छ । एक महिनाअघि भएको उक्त निर्णय उपमहानगरपालिकाले अहिले मात्र आफ्नो वेबसाइटबाट सार्वजनिक गरेको हो ।
    
सांसदले योजनाहरूको अनुगमन गर्ने क्रममा गाडीको प्रयोग भएकाले भाडा दिने निर्णय भएको उपमहानगरले जनाएको छ । धनगढी उपमहानगरपालिकाका प्रशासन तथा जनशक्ति विकास शाखा प्रमुख नारायणप्रसाद शर्माले गत वर्ष नगरमा सञ्चालित योजनाहरूको सांसद रानाले पटकपटक अनुगमन गर्दा भाडाको गाडी प्रयोग भएको बताए । ‘नगरपालिकासँग अतिरिक्त गाडी नभएपछि सांसद अनुगमनमा आउँदा भाडामा गाडी उपलब्ध गराइएको हो,’ शर्माले भने, ‘गाडी भाडाको रकम गत वर्षनै भुक्तानी हुनुपर्ने हो, तर त्यतिवेला पैसा नहुँदा यस वर्ष दिने निर्णय भएको हो ।’ 

संघीय सांसदको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गतलगायत उपमहानगरमा सञ्चालित सबै योजनाको सांसदले अनुगमन गरेको शाखा प्रमुख शर्माले बताए ।

कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिका तथा कैलारी गाउँपालिकाको एउटा वडा पर्छ । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई हराउँदै एमालेबाट राना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 
 
कांग्रेसनिकट कर्मचारी युनियनको साधारणसभाको खर्च पनि व्यहोर्ने 
२७ पुसकै कार्यपालिका बैठकले कांग्रेसनिकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनको साधारणसभाको खर्चको भुक्तानी दिने निर्णयसमेत गरेको छ । १६–१८ पुसमा धनगढीमा भएको युनियनको साधारणसभामा चिया, खाजा र पानीको बिलअनुसार ५० हजार रुपैयाँ भुक्तानी दिने निर्णय कार्यपालिका बैठकले गरेको हो । धनगढीमा मेयर, उपमेयरसहित कार्यपालिका र वडामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ ।
    
अनुगमनका नाममा सांसदलाई पैसा दिने र पार्टीनिकट कर्मचारीको अधिवेशन खर्च व्यहोर्ने निर्णय गरेर उपमहानगरपालिकाले जनताले तिरेको करको दुरुपयोग गरेको यहाँका स्थानीयले बताएका छन् । ‘यो जनताले तिरेको करको चरम दुरुपयोग हो,’ धनगढीका स्थानीय धर्मबहादुर साउदले भने, ‘यस्ता अनियमितताविरुद्ध नागरिकले आवाज उठाउनुपर्छ र सरोकारवाला निकायले पनि छानबिन गर्नुपर्छ ।’ 
     
चालू आर्थिक वर्षका लागि स्वीकृत भूकम्पप्रतिरोधी तालिम, सेवा परामर्श र राजस्व परामर्श तालिम कार्यक्रमलाई परिवर्तन गरी ती कार्यक्रमको २५ लाख रुपैयाँ इन्धनमा खर्च गर्ने निर्णय पनि कार्यपालिकाले गरेको छ ।