१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २८ शुक्रबार o९:oo:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

दूधको मूल्य लिटरमै नौ रुपैयाँ वृद्धि

उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैयाँ, बढेको मूल्यबाट उद्योगीले २.१९ र किसानले ६.८१ रुपैयाँ पाउने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार o९:oo:oo

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र देशभरका निजी डेरी उद्योगीले शुक्रबारबाट लागू हुने गरी प्रशोधित दूध (पाउच)को मूल्य प्रतिलिटर नौ रुपैयाँ वृद्धि गरेका छन् । डिडिसी र व्यवसायीको यो निर्णयसँगै शुक्रबारदेखि उपभोक्ताले प्रशोधित दूध प्रतिलिटर ८५ रुपैयाँका दरले खरिद गर्नुपर्नछ । यसअघि प्रशोधित दूध प्रतिलिटर ७६ रुपैयाँ थियो ।

दुग्ध विकास संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सञ्चालक समितिको बुधबार बसेको बैठकले दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको जानकारी दिए । १७ माघमा बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने कच्चा दूध (४ फ्याट र ८ एसएनफए)को मूल्य प्रतिलिटर ६ रुपैयाँ ८१ पैसा वृद्धि गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को यस्तो निर्णयपछि किसानले साबिकमा पाउँदै आएको दूधको मूल्य ४९.५२ रुपैयाँ प्रतिलिटरबाट बढेर ५६.०४ रुपैयाँ प्रतिलिटर पुगेको छ ।  

किसानबाट खरिद गर्ने मूल्य नै प्रतिलिटर ६.८१ रुपैयाँ बढेपछि डिडिसीलगायत निजी क्षेत्रका उद्योगीले आफूहरूको लागत पनि बढ्नुपर्ने बताएका थिए । त्यसपछि डिडिसी र निजी क्षेत्रका व्यवसायीसँग परामर्श गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढ्ने गरी उद्योगलाई २.१९ रुपैयाँ लागत मूल्य समायोजन गर्न २४ माघमा निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनपछि डिडिसीले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । यो निर्णयले किसानलाई सबैभन्दा बढी फाइदा पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी सचिव निरू दाहाल पाण्डेले बताइन् । ‘मन्त्रिपरिषद्बाट किसानले पाउने मूल्य ठूलो दरले बढेको छ । यसबाट देशभरका किसानलाई फाइदा भएको छ,’ उनले भनिन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हाल वार्षिक रूपमा २३ लाख एक हजार मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत दूध किसानले उपभोग गर्ने र ५० प्रतिशत व्यावसायिक क्षेत्रमा उपभोगका लागि आउने गरेको छ । 

मन्त्रालयमातहतको राष्ट्रिय दुग्ध विकास बोर्डले तयार गरेको ‘निजी÷सरकारी÷सहकारीमार्फत सञ्चालन भइरहेको दुग्ध चिस्यान केन्द्र एवं दुग्ध उद्योगहरूलाई विद्युत् महसुल छुटसम्बन्धी अध्ययन प्रतिवेदन, ०७८ अनुसार दुग्ध उद्योगले वार्षिक १० लाख ७१ हजार लिटर दूध संकलन गरी प्रशोधन गर्दै आएका छन् । सोही अध्ययन प्रतिवेदनअनुसार करिब २१ लाख लिटर दूध भने साना डेरी पसल, मिठाई पसल, चिया पसल, रेस्टुरेन्टलगायतमा सोझै किसानले बिक्री गर्दै आएको छ । यस्तो दूधको मूल्य भने सरकारले निर्धारण गरेभन्दा धेरै छ । यस्तो दूधको मूल्य किसान र सम्बन्धित व्यवसायीबीचको समझदारीमा कायम हुने गरेको छ ।

किसान र उपभोक्ता मूल्यको वृद्धिदर

दुग्ध विकास संस्थानका अनुसार उद्योगहरूलाई दूध बिक्री गर्ने किसानले शुक्रबारबाटै प्रतिलिटर ५६.०४ रुपैयाँका दरले मूल्य पाउनेछन् । यसअघि किसानहरूले फ्याट र एसएनफएका आधारमा प्रतिलिटर ४९.५२ रुपैयाँदेखि ५१.४८ रुपैयाँ प्रतिलिटरसम्म दूधको पाउने गरेका थिए । शुक्रबारदेखि ५६.०६ रुपैयाँदेखि ५८.०८ रुपैयाँ प्रतिलिटरका दरले दूधको पाउनेछन् ।

यस्तै, काठमाडौंका उपभोक्ताले भने प्रतिप्याकेट (आधार लिटर) ३८ रुपैयाँमा खरिद गर्दै आएको दूधको शुक्रबारदेखि ४२.५० रुपैयाँ तिर्नुपर्ने भएको छ । डिडिसीले बजारमा धेरै प्रकारका दूध निकाल्ने गरेको छ । यो मूल्य ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको निलो प्याकेटमा उपलब्ध दूधको हो । डिडिसीको सर्वाधिक बिक्री हुने दूध पनि यही हो । त्यस्तै, ५ प्रतिशत फ्याट भएको हरियो प्याकेटको दूधको मूल्य ५० रुपैयाँ प्रतिप्याकेट रहेकोमा बढेर ५७ रुपैयाँ पुर्‍याइएको छ । गाईको मात्रै दूध भएको (३.५ प्रतिशत फ्याट) पहेँलो प्याकेटको मूल्य ४५ रुपैयाँबाट ५१ रुपैयाँ र १.५ प्रतिशत मात्रै फ्याट भएको ‘टि–मिल्क’को मूल्य ३५ रुपैयाँ प्रतिप्याकेटबाट बढाएर ४० रुपैयाँ पुर्‍याइएको छ ।

अन्य निजी क्षेत्रका डेरीले भने ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको दूध प्रचलनमा ल्याएका छन् । त्यसको मूल्य पनि ३८ रुपैयाँबाट बढेर ४२.५० रुपैयाँ प्रतिप्याकेट पुगेको छ ।

दूधमा ८५ प्रतिशत आत्मनिर्भर

जुलाई २०२१ मा राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको एक अध्ययनअनुसार किसानको औसत लागत ५४.१२ रुपैयाँ प्रतिलिटर छ । यसमध्ये काभ्रेका किसानको लागत सबैभन्दा बढी प्रतिलिटर ६०.७८ रुपैयाँ र मोरङका किसानको लागत सबैभन्दा कम प्रतिलिटर ४९.५१ रुपैयाँ रहेको छ । सो अध्ययनअनुसार वार्षिक २३ लाख एक हजार मेट्रिकटन दूध उत्पादन भइरहेको छ । यसमध्ये १७ प्रतिशत दूध मात्रै दुग्ध उद्योगमा आउने र त्यसबाटै दूध प्रशोधन गरी दूधसहितका विभिन्न दुग्ध पदार्थ बजारमा आउने गरेको छ ।

त्यस्तै, ३७ प्रतिशत दूध साना डेरी, मिठाई पसल, रेस्टुरेन्ट, चिया पसललगायत सोझै किसानले बिक्री गर्ने गरेका छन् । उत्पादन भएको ५० प्रतिशत दूध भने किसान आफैँले उपभोग गर्ने गरेको अध्ययनमा उल्लेख छ । अहिले वार्षिक रूपमा प्रतिव्यक्ति दूधको उपलब्धता ७९ लिटर रहेको छ । विश्व स्वास्थ्य संगठनले स्वस्थ रहन प्रतिव्यक्ति ९१ लिटर दूध उपभोग गर्नुपर्ने मापदण्ड बनाएको छ । यो मापदण्डअनुसार हाल १२ लिटर दूध प्रतिव्यक्ति प्रतिवर्ष कमी हुन गएको छ ।

यद्यपि, वार्षिक रूपमा दूधको उत्पादन ४.४२ प्रतिशतले बढिरहेका कारण विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मुलुक चाँडै दूधमा आत्मनिर्भर हुन सक्ने सो अध्ययनमा उल्लेख भएको छ । दूध आत्मनिर्भर उन्मुख क्षेत्रका रूपमा सरकारले वर्गीकरण गरेको छ । मुलुकमा कच्चा दूध आयात हुने गरेको छैन भने अन्य दुग्ध पदार्थ (पाउडर दूध, घिउ, बटर, आइसक्रिमलगायत) कुल उपभोगको १५ प्रतिशत मात्रै आयात हुने गरेको छ । मुलुकको उत्पादनले ८५ प्रतिशत माग धान्दै आएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार वार्षिक रूपमा करिब दुई अर्बको दुग्धजन्य पदार्थ आयात हुने गरको छ । विभागका अनुसार गत आव ०७७÷७८ मा एक अर्ब ९९ करोड ५० लाख रुपैयाँको दुग्ध पदार्थ आयात भएको थियो । चालू आवको पुस मसान्तसम्म एक अर्ब सात करोड रुपैयाँको दुग्ध पदार्थ आयात भइरहेको छ । मुलुक बाहिरबाट मूलतः पाउडर दूध, बटर, आइसक्रिमलगायत आयात हुने गरेको छ ।