Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २६ बुधबार ०८:०६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सडक कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले गैँडाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २६ बुधबार ०८:०६:००

सडक कार्यालय र निर्माण व्यवसायीको लापरबाहीका कारण चितवनमा गैँडा खाल्डोमा परेर मरेको सरकारी छानबिनले औँल्याएको छ । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तारका क्रममा बनाइएको नालीमा फसेर ९ माघमा दुर्लभ एकसिंगे गैँडा मरेको थियो ।सडक डिभिजन कार्यालय भरतपुरले वातावरणीय प्रभाव मूल्यांकन (इआइए)विनै निर्माणको काम अगाडि बढाएको र इन्डो सगुन जेभीले निर्माणका क्रममा खनेको खाल्टो नपुरेर छाडेका कारण गैँडाको मृत्यु हुन पुगेको वन तथा वातावरण मन्त्रालयद्वारा गठित छानबिन समितिले निष्कर्ष निकालेको हो ।

छानबिन समितिले वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलाई सोमबार बुझाएको प्रतिवेदन भौतिक तथा पूर्वाधार मन्त्रालयमा पठाउने तयारी छ । ‘सडक निर्माणमा संलग्न सरकारी निकाय र ठेकेदारसँग सोधपुछ र आवश्यक कारबाहीका प्रतिवेदन भौतिक मन्त्रालय पठाउने तयारी छ,’ वन मन्त्रालय स्रोतले भन्यो ।त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जले पनि आफ्नो क्षेत्रमा भइरहेका गतिविधिको अनुगमन निरीक्षण गर्नुपर्ने औँल्याएको छ । दुर्लभ गैँडाको मृत्यु भएपछि वनमन्त्री यादवले ११ माघमा वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

समितिमा वन मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल थिए । छानबिन समितिका संयोजक र सदस्यहरूले प्रतिवेदनबारे टिप्पणी गर्न चाहेनन् ।

छानबिन समितिको प्रतिवेदनबारे बोल्न नचाहेका चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले यो घटनाबारे निकुञ्जले पनि छानबिन गरिरहेको बताए । घटनास्थल मध्यवर्ती क्षेत्र भएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ आकर्षित हुन्छ । निर्माण व्यवसायीको लापरवाहीका कारण गैंडा मरेको निष्कर्ष निकालेको निकुञ्जले यसअघि नै अदालतको अनुमति लिएर निर्माण कम्पनीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि, उनी पक्राउ परेका छैनन् । घटनाको विषयमा अनुसन्धान गर्न निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।