१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ २५ मंगलबार १२:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तुलसीपुरका पहाड दोहन गर्ने ‘लाइसेन्स नं. १८’

Read Time : > 1 मिनेट
२०७८ माघ २५ मंगलबार १२:१०:००

तुलसीपुरका पहाड दोहन गर्नका लागि दर्ता प्रक्रियामा छ लाइसेन्स नं. १८/०६९/७० । खानी तथा  भूगर्भ विभागमा ०६९ भदौ  १ देखि अनुमतिको प्रक्रियामा छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ र ४ स्थित तुलसीपुर खानेपानीको मुहान आसपासको साढे नाै किलोमिटर क्षेत्रफलबाट चुनढुंगा उत्खननका लागि सुनगाभा माइनेज प्रा.लि.ले प्रक्रिया  अगाडि बढाएको लामो समय भयो।

उक्त लाइसेन्स प्रक्रिया आगामी २०७९ साउन  ३० गते सकिन्छ। तर, त्यसअघि नै लाइसेन्स प्राप्त  गर्ने अन्तिम चरणमा रहेको भन्ने सूचना आएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष  यमकान्त भण्डारीले बताए। ‘अनुमति दिन लागेको भनेर हामीकहाँ सूचना आएको छ,’ उनले भने, ‘त्यसैले  हामीले सबै राजनीतिक  दल,  यहाँका जनताको साथ  मागेका  छौँ। किनकि हामीले यो विषयमा एक्लै केही गर्न सक्ने अवस्था छैन।’  चुनढुंगा  उत्खननको अनुमतिका लागि अब एक–दुई चरण मात्रै बाँकी रहेको भनी विभागबाट समेत  जानकारी आएको उनको भनाइ छ।

यही विषयमा सोमबार तुलसीपुरमा सर्वदलीय तथा सर्वपक्षीय बैठक भएको छ। बैठकले चुनढुंगा उत्खनन रोक्न सम्बन्धित निकायमा दबाब  दिने निर्णय गरेको छ। सर्वदलीय बैठकले उक्त प्रक्रिया रोक्न पहल गर्न  सम्बन्धित क्षेत्रका वडा कार्यालयहरू, तुलसीपुर उपमहानगरपालिका एवं  खानी तथा  भूगर्भ विभागलाई  पत्र पठाउने र  अन्य दबाबका कार्यक्रम गर्नेसमेत सहमति भएको छ।

खानेपानीको  मुहान क्षेत्रबाट चुनढुंगा  उत्खनन गर्दा त्यहाँका खानेपानीका मुहान सुक्नुका साथै  राप्ती लोकमार्गलाई पनि प्रत्यक्ष असर गर्ने भएकाले यसलाई तत्काल रोक्नुपर्ने राजनीतिक दल तथा सरोकारवालाहरूले बताएका छन्। यदि  त्यहाँबाट चुनढुंगा उत्खनन भएमा बेलझुन्डीकै जस्तो हालत हुने भन्दै यसमा चनाखो हुनुपर्ने बेलझुन्डी  खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सदस्य पुस्कर रावतले बताए। ‘सोनोपुर  सिमेन्टले हाम्रा मुहानका पहाडहरूमा दोहन गर्दा  अहिले खानेपानीमा लेदो मात्रै आउँछ। त्यही लेदो भएको पानी खान बाध्य छौँ,’ उनले भने, ‘त्यहाँ सिमेन्टले  फिल्टर  राखिदिएको भए पनि त्यसले  दुई वर्ष पनि टिकेन। अहिले  लेदो खानुपर्ने बाध्यता छ। तुलसीपुर खानेपानीले पनि यसमा वेलैमा सोच्यो, अब पहलकदमी अगाडि बढोस्।’

त्यहाँ उत्खननका लागि  आइइई नभएको तुलसीपुर– ३ का वडाध्यक्ष  वीरबहादुर  विकले बताए। ‘त्यहाँ अहिलेसम्म आइइई  भएको छैन,’ उनले भने, ‘म जनप्रतिनिधि भएर आएपछि  प्रत्येक दिन त्यही विषय लिएर आफूसमक्ष  आउने गर्थे। तर, मैले अस्वीकार गरिरहेको छु।’ ०७४ देखि ०७८ असारसम्म आफूहरूसमक्ष सिफारिसका लागि आउने गरेको भए पनि  आफूले त्यो सिफारिस नदिएको उनले बताए। विकका अनुसार ०७८ असारतिर केही हस्ताक्षरसहित स्थानीयले पनि  समर्थन जनाएको भन्दै उनीहरू आए पनि आफूले सीधै अस्वीकार गरेर पठाएको बताए। ‘वडामा हुँदा  वडामा, कहिले घरमा, बाहिर हुँदा पनि म जहाँ छु,  त्यहीँ पुग्ने गर्नुहुन्थ्यो,’ उनले भने, ‘अनुमति दिन  माग गर्दै  फोनबाट पनि उत्तिकै  दबाब  आउँथ्यो। अरूलाई पनि पटकपटक फोन गर्न  लगाउनुहुन्थ्यो।’

उनीहरूले खानी उत्खननका लागि भन्दा पनि त्यहाँको चुनढुंगाको अवस्थाबारे अनुसन्धान गर्न ‘लाइसेन्स’ ल्याउन लागेको बताए। ‘खास  त्यहाँ  उत्खननका लागि भन्दा पनि त्यहाँ चुनढुंगाको अवस्था के छ भनेर बुझ्नका लागि लाइसेन्स ल्याउन  खोज्नुभएको हो,’ उनले भने, ‘जे  भए पनि  म वडाध्यक्ष हुँदा होस् या  नहुँदा, त्यहाँ कुनै पनि सिफारिस गर्ने  छैन र गर्न दिने पनि छैन।’

त्यहाँ उत्खनन हुँदा तुलसीपुर खानेपानीसहित अमृतपुर खानेपानी, बेलझुन्डी  खानेपानीलाई समेत ठूलो क्षति पुग्नेछ। त्यसैले खानी उत्खनन गर्ने कार्यको सबैले आ–आफ्नो ठाउँबाट विरोध गर्नुपर्ने तुलसीपुर उद्योग वाणिज्य  संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए। सर्वदलीय बैठकमा उपस्थितहरूले खानी उत्खननका विषयमा आपत्ति जनाउँदै  सबै एकजुट भएर उक्त कार्यलाई रोक्नुपर्ने धारणा राखेका छन्। यसअघि पनि तुलसीपुर खानेपानीले खानी तथा  भूगर्भ विभागलगायतका सम्बन्धित निकायमा पत्राचारसमेत गरिसकेको उपाध्यक्ष सीताराम शर्माले बताए।