सिसडोलमा सडक अवरुद्ध बनेपछि फोहोरका कन्टेनर धोबीखोला र बागमती करिडोरमा पार्किङ
दुई दिनको वर्षाले उपत्यकाको फोहोर व्यवस्थापन फेरि प्रभावित बनेको छ । हाल फोहोर फाल्दै आएको सिसडोल ल्यान्डफिल साइट जाने बाटो बिग्रिएपछि शुक्रबारदेखि फोहोर नउठेको हो । पानी परेपछि सिसडोलतर्फको कच्ची सडक बिग्रिएको छ । फोहोर लैजाने ट्यांकरहरू सडकमै रोकिएका छन् ।
सिसडोलनजिकको सडकमा पानी जमेकाले फोहोर फाल्न नसकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार सिसडोल क्षेत्रमा फोहोरमाथि बनेको सडकमा कन्टेनर गुडाउनुपर्ने हुन्छ । तर, पानी परेपछि उक्त फोहोरमाथिको सडकमा कन्टेनर धसिन्छ ।
काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सजिता राईले दुई दिनदेखि फोहोर उठाउन नसकिएको जानकारी दिइन् । उनले हिजोदेखि सिसडोलमा फोहोर लैजाने मात्रै नभएर घर तथा सडकबाट फोहोर उडाउने कार्य पनि ठप्प भएको बताइन् ।
‘सिसडोलमा फोहोरमाथि फोहोरका गाडी गुडाउनुपर्छ, तर पानी परेका वेला त्यहाँ गाडी गुड्न सक्दैनन्,’ उनले भनिन्, ‘फोहोर बिसर्जन गर्न नसकिएपछि उपत्यकाको फोहोर उठाउन पनि सकिएको छैन ।’ उनका अनुसार उपत्यकाबाट दैनिक करिब दुई सय ट्रक फोहोर सिसडोलमा फालिन्छ । सडक बिग्रिएपछि भने फोहोरका कन्टेनर रोकिएका छन् । पानी परेन भने आइतबारदेखि फोहोर उठाइनेछ । पानी पर्यो भने फोहोर व्यवस्थापन कार्य केही दिनका लागि प्रभावित बन्ने छ ।
दुई दिनको फोहोर घरमै राख्न अनुरोध
सिसडोलमा फोहोर व्यवस्थापन गर्न नसकिएपछि काठमाडौैं महानगरपालिकाले घरको फोहोर सडकमा नफाल्न अनुरोध गरेको छ । पानी परिरहेमा फोहोर उठाउन नसकिने भएपछि महानगरले यस्तो अनुरोध गरेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्यले बन्चरेडाँडा फोहोर व्यवस्थापन केन्द्र तयार नभएकाले यस्तो समस्या आइरहेको बताए । ‘हामीले अहिले पनि फोहोर फाल्दै आएको ठाउँ सिसडोल नै हो, यदि बन्चरेडाँडा तयार भएको भए यस्तो समस्या आउने थिएन,’ उनले भने ।
शाक्यका अनुसार पानी पर्न छाडेपछि फोहोर उठाउँदा पनि सडकमा जम्मा भएको फोहोर व्यवस्थापन गर्न कम्तीमा तीन दिन लाग्छ । हाल सुन्धारा, बागबजार, कोटेश्वर, नयाँबानेश्वर, मैतीदेवी, गौशाला, महाराजगञ्ज, गोंगबु, कलंकीलगायत क्षेत्रका सडकमा फोहोर थुपारिएको छ भने घरघरको फोहोर पनि उठाउन छाडिएको छ ।
सिसडोलमा सडक अवरुद्ध बनेपछि फोहोरका कन्टेनर धोबीखोला र बागमती करिडोरमा पार्किङ गरिएको छ । पानी परेन भने रोकिएका कन्टेनर आइतबारदेखि गुड्नेछन् । सिसडोलमा सडक अवरुद्ध बनेपछि दुई दिनको करिब दुई हजार मेट्रिकटन फोहोर उठ्न सकेको छैन । आइतबारदेखि सडक सुचारु भयो भने उक्त फोहोर उठ्ने बताइएको छ । काठमाडौं महानगरका अनुसार हाल उपत्यकामा दैनिक एक हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ । तर, दुई दिनदेखि सिसडोलमा फोहोर लैजाने कन्टेनर रोकिएपछि उपत्यकाका सडक किनार र चोकचोकमा फोहोर थुप्रिएको छ । थुप्रिएका पानी पर्न रोकिएपछि व्यवस्थापन गरिनेछ ।
बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न अझै दिइएन
सहरी विकास मन्त्रालयले गत १८ भदौदेखि नै काठमाडौं महानगरपालिकालाई नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर फाल्न दिने बताएको थियो । तर, साइट तयार नभएको भन्दै महानगरले फोहोर फालेन । अझै पनि साइट तयार भएको छैन । निर्माणाधीन अवस्थामा फोहोर फाल्दा निर्माण कार्यमा समेत अवरोध हुने भएपछि ठेकेदारले महानगरलाई फोहोर फाल्न दिएका छैनन् । नयाँ ल्यान्डफिल्ड साइट तयार नहुँदा सिसडोलमा फोहोर व्यवस्थान गर्न कठिन हुँदै आइरहेको छ ।