Skip This
लमजुङको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात, घलेगाउँसहित लमजुङका डाँडाकाँडा सेताम्मे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Friday, 26 July, 2024
२o७८ माघ २१ शुक्रबार १७:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात, घलेगाउँसहित लमजुङका डाँडाकाँडा सेताम्मे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार १७:४३:oo

मौसममा बदली आएसँगै लमजुङका उच्च पहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । बिहीबार दिउँसोदेखि लमजुङको उच्च पहाडी भेगमा हिमपात भएको हो । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । लमजुङको क्व्होलासोंथर गाउँपालिका– ३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा बिहीबार दिउँसोबाट हिमपात भएको छ । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । 

हिउँ बाक्लो परेकाले घलेगाउँ पुगेका आन्तरिक पर्यटक हिउँमा फोटो खिच्न व्यस्त छन् । दुई वर्षअघि  हिउँ परेको घलेगाउँमा  योसहित  पुनः दोस्रोपटक हिउँ परेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनका अनुसार स्मार्ट भिलेज घलेगाउँमा बाक्लो हिमपात भएसँगै आन्तरिक पर्यटकहरू समूह/समूह बनाएर हिउँ खेल्न घलेगाउँ पुगेका छन् ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको मर्स्याङ्दी गाउँपालिकाको घनपोखरामा पनि बाक्लो हिमपात भएको छ । स्थानीय सुलबहादुर गुरुङका अनुसार घनपोखरामा निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । घनपोखरामा  २ फिट बाक्लो हिउँ परेको उनले बताए । मर्स्याङ्दी गाउँपालिका ३ को पर्यटकीय गाउँ सिउरुङमा पनि हिमपात भएको छ । यस्तै लमजुङको बेँसीसहर नगरपालिका– १० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ ।

पिसहिलका व्यवस्थापक होमलाल तामाङले समुद्री सतहबाट एक हजार नौ सय ६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा बिहीबार दिउँसोदेखि हिमपात भएसँगै आन्तरिक पर्यटक हिउँ खेल्नका लागि पिसहिल पुगेका छन्। घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी  गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ र त्यसमाथिका लेक हुँदै मनाङको भूभागसम्मै हिउँले ढाकेको छ  । 

यस्तै पूर्वीभेगका दूधपोखरी, बराहपोखरी, मेमेपोखरीलगायतका उच्च पहाडी भेगमा बिहीबार रातिदेखि हिमपात भएको छ । बाँझाखेतको खाँचे र गाउँभाचोकजस्ता बस्तीनजिकै हिउँ परेको र त्यसमाथिका डाँडामा भने बाक्लो हिउँले ढाकेको  लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । हिमपातकै कारण दैनिक जनजीवन औसतभन्दा कष्टकर रहेको उनी बताउँछन् । पूर्वी भेगका इलमपोखरी, बिचौर र  दूधपोखरी गाउँको उच्च पहाडी चुचुराहरूमा समेत हिउँ परेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ बताउँछन् ।