एयरलाइन्समा पाइलट बनाइदिने प्रलोभनमा ठगी गर्ने फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने बाजुरा बढीनन्दा नपा–१ का ४४ वर्षीय विष्णुबहादुर कार्की रहेका छन्। उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएकाे प्रहरी टोलीले बिहीबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो।
उनले विभिन्न व्यक्तिलाई एयरलाइन्समा पाइलट बनाइदिने प्रलोभनमा ठगी गर्दै आएका थिए। उनलाई फरक–फरक चारवटा मुद्दामा ३१ लाख ४९ हजारसहित पाँच वर्ष सात दिन कैद सजाय सुनुवाइ गरेको थियो। त्यसयता उनी फरार थिए। महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले कार्कीविरुद्ध पाँच वर्ष सात दिन कैद सजाय ३१ लाख रुपैयाँभन्दा धेरै बिगो अदालतबाट सुनुवाइ भएको बताए।
उनले भने, ‘यसलाई ठगी मुद्दामा हामीले पक्राउ गरेका थियौँ। अनुसन्धान गर्दै जाँदा यसले विगतमा धेरैलाई ठगी गरेको रहेछ। अदालतबाट कैद सजाय र बिगोसमेत तोकिएको रहेछ। पक्राउपछि यसलाई सजाय भुक्तान गर्न कारागार पठाइएको छ। तर, ठगी मुद्दामा यसविरुद्ध अनुसन्धान जारी छ।’
प्रहरीका अनुसार कार्कीविरुद्ध बैकिङ कसुरमा उच्च अदालत पाटनले ६ माघ ०७७ मा सात दिन कैद सजाय र २७ लाख रुपैयाँ बिगो हुने फैसला गरेको थियो। त्यस्तै, जिल्ला अदालत काठमाडौं वैदेशिक रोजगारसम्बन्धी कसुरअन्तर्गत १० पुस ०६० मा तीन वर्ष कैद र दुई लाख पचास हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। सोही अदालतले बैकिङ कसुर मुद्दामा एक वर्ष कैद सजाय र एक लाख उनान्सत्तरी हजार जरिवाना, अर्को बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
प्रवक्ता एसपी कोइरालाले भने, ‘सामान्य केसमा हामीले यसलाई पक्राउ गरेका थियौँ। तर, अनुसन्धान गर्दै जाँदा यो विगतदेखि नै ठगी धन्दामा संलग्न रहेको भेटियो । विभिन्न मितिमा अदालतबाट भएको फैसलाले यही पुष्टि गर्छ।’