मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ १४ शुक्रबार १४:३५:००
Read Time : > 6 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२२ डिजिटल संस्करण

कामको दुनियाँ सदाका लागि बदलिएकै हो ?

Read Time : > 6 मिनेट
२०७८ माघ १४ शुक्रबार १४:३५:००

जनजीवन नै बदलेको कोभिड– १९ महामारीको लकडाउन अवधिमा समेत करोडौँ मानिसले घरबाटै काम गर्ने अवसर पाए र सौभाग्यशाली ठहरिए । अन्य केही अर्थतन्त्र र सहरबजारहरू धराशायी हुनबाट बचाइराख्न जीवन नै दाउमा राखेर काममा निक्लन बाध्य भए । विश्व कोभिडबाट तंग्रिएर उठ्न खोज्दै गर्दा कार्यस्थलमा सामाजिक अन्याय, आर्थिक असमानता, कर्पोरेट सामाजिक उत्तरदायित्व तथा विविधता र समावेशीकरणका मुद्दाहरूमा नयाँ शिराबाट ध्यान केन्द्रित भइरहेको देखिरहेका छौँ हामी । वर्षको सुरुवातमै विभिन्न पेसाका केही हस्तीलाई हामीले सोधेका थियौँ– कामको दुनियाँ सदाका लागि बदलिएकै हो ? जवाफको सम्पादित सार :

भिक्की लाउ

(लाउ हङकङस्थित टेट डाइनिङ रुमकी मालिक तथा कार्यकारी सेफ हुन्)
दुई वर्षयता खाध्य तथा पेयवस्तुको उद्योग तीव्र रूपले विकास भएको छ । यसबीच, रेस्टुराँ र बारहरू महामारीले निम्त्याएका नयाँ नियम एवं कानुनअनुकूल आफूलाई बदल्न र टिक्न संघर्षरत छन् । यो अभूतपूर्व परिस्थितिका कारण विश्वभरबाट लाखौँ व्यवसाय सदाका लागि बन्द भए । कोभिड– १९ सिर्जित लकडाउन र नयाँ प्रविधिले मानिसलाई नयाँ काम खोज्न वा पूरै नयाँ पेसा पछ्याउन बाध्य बनाएको छ । परम्परागत रेस्टुराँ पेसाकर्मीमा उल्लेखनीय बदलाव देखिन्छ– एकपटकमा एकभन्दा धेरै नोकरी गर्ने, एउटाबाट अर्काेमा हाम फाल्न अभिरुचि देखिएको छ । अहिले मानिसहरू आफ्नो जीवन र पेसामा वास्तविक खुसी र सन्तुष्टि खोजिरहेका छन् । साथै, इकमर्स व्यवसाय पहिलेभन्दा सजिलो भएको छ । मजदुर आफैँ मालिक बनेका छन्, आफ्नै उद्यम खोलेका छन् । इन्डोर डाइनिङमा अवरोधले खानेकुरामा पहुँच (घरमै खाना बनाउने रुचिमा वृद्धि) र त्यसको उपभोग (खानेकुरा डेलिभरी एपहरूको बढ्दो प्रयोग) दुवैको सम्बन्धमा नयाँ बानीको विकास गरेको छ । हङकङमा उपभोगकर्ताले स्वस्थकर खानपान अंगीकार गरेका छन् । आफ्नो हेरचाहमा देखिएको यो नयाँ वैश्विक झुकावको अर्थ जारी महामारीपश्चात् अधिकतर मानिस उन्नत संस्करण हुन चाहन्छन् । अधिकतर व्यवसायीहरू अहिले आफ्नो क्षेत्रका किसानसँग जोडिँदै अधिकतम स्थानीय स्रोत–साधनको प्रयोग गर्न खोज्दै छन् । 
लकडाउन र प्रतिबन्धका शृंखलाका मध्यनजर बदलिँदो उपभोक्ता आवश्यकतासँग तालमेल मिलाउने दुई मात्र तरिका छन् । यिनै दुई तरिकाबाट खाद्य उद्योग संघर्ष गरिरहेको छ । भविष्यमा, खानासँगको हाम्रो सम्बन्ध मूलमै अर्थात् असल सामग्री (गुड इन्ग्रिडेन्ट्स)मै फर्किनुपर्छ । खाना तयार गर्ने एउटा सेफका लागि चाहे हामी परम्परागत खाना तयार गरौँ वा नयाँ तरिका ढुडौँ, खाना तयार गर्ने स्रोत–सामग्री नै महत्वपूर्ण हुन्छ । यो उद्योगको भविष्य यसैमा निर्भर गर्छ ।
 

टिना ब्राउन

(टिना ब्राउन भ्यानिटी फेयर र द न्युयोर्कर म्यागजिनकी पूर्वसम्पादक एवं पत्रकार हुन्)
यो भाइरस जति लामो समय हामीमाझ रहन्छ पोस्ट–कोभिड विश्वको सपना उत्तिकै मृगतृष्ण भएर जाने स्पष्ट छ । अहिले कार्यस्थल कामदारका लागि भन्दा मालिकका लागि बढी मायावी भएका छन् । मालिकले कर्मचारीहरू आफूसँगै छन् भन्ने सोच्नसम्म त सक्छ, तर ऊसँग वास्तवमा छन् चाहिँ भूत सैनिक– जो कतिखेर बेपत्ता भइसकेका हुन्छन् पत्तो हुँदैन । हाइब्रिड अफिसको माग बढिरहेको अहिलेको सन्दर्भमा यसले व्यवस्थापक (मेनेजर)हरूलाई शक्तिहीन बनाएको छ । आखिर मेनेजरहरूले कर्मचारीहरू एकसाथ काम गर्न आए मात्र न काम गर्न सक्ने हुन् । अर्थात्, एकथरी कामदार लग इन गरेर हराउँछन् र अर्काथरी चाहिँ देखै पर्दैनन् र पछि वाइफाइ नचलेको वा अन्य बहानाबाजी गरेर उम्किन्छन् । जसको अर्थ– काममा न्यूनतम सहभागिता हुनेछ ।
कार्यस्थलबारेको एउटा नयाँ भाष्य के छ भने अधिकांश कामदार घरबाटै काम गर्न चाहन्छन् किनकि घरबाट काम गर्दा उत्पादकत्व थप बढ्नेछ । डिजिटल प्रविधिले कोभिडभन्दा धेरैअघिबाटै नयाँ प्रवृत्ति विकास गरेको हो । कोभिडको समाप्तिपछि झन् मानिसको कामप्रतिको निष्ठा÷लगाव घट्नेछ । अब मानव संसाधन विभाग विगतका कुरा भएका छन् । अनलाइनका अदृश्य कामदार अब उनीहरूसँग तिनका समस्या साझेदारी गर्न तत्पर छैनन् । कार्य जीवन र व्यक्तिगत जीवन जुम वल्र्डमा एकाकार हुँदै गएको छ । लाग्छ, अब मानसिक स्वास्थ्य हेरचाहका सेवाप्रदायकको प्रयोग बढ्दै जानेछ । लकडाउनको जीवनले हामीलाई हामी कति नाजुक छौँ भन्ने उजागर गरिदिएको छ । अब मानिसहरू हप्तामा तीन दिनजति अफिस झुल्कने र बाँकी समय आफ्नो गुप्त विश्वमा हराउनेछन् ।

आमभावनाद्वारा अनुमोदन/सत्यपन
बिल्ली ब्रयाग
(ब्रयाग बेलायती गायक, गीतकार एवं सामाजिक टिप्पणीकार हुन्)

म सधैँ नै यायावर श्रमिक हुँ । केही संगीतकारले मात्र आफ्नो रेकर्डिङ मात्रैबाट पनि प्रशस्त पैसा कमाउँछन् । अधिकांशले चाहिँ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएर नै आफ्नो जीविका चलाउने हो । ३५ वर्षपहिलेबाट यो पेसा अँगालेयता मैले संसारभर घुम्दै आफ्नो व्यापार चलाएको छु । सन् २०२० मा महामारी फैलन सुरु गर्दा मसँग अमेरिका, नेदरल्यान्ड, जर्मनी, न्युजिल्यान्ड र अस्ट्रेलियामा प्रस्तुतिका मिति तय थिए । क्लब र थियटरहरू बन्द भएर मेरा टुर स्थगित हुँदा लागेको थियो गर्मीयामसम्ममा सबै सामान्य भएर जानेछ । जब बेलायतस्थित समरसेटमा हुने ग्लास्टोनबरी वार्षिक महोत्सव रद्द भयो तब भने परिस्थितिको गाम्भीर्य आकलन भयो । बेलायतमा पहिलो लकडाउन घोषणा भएपछि भने अन्य संगीतकर्मीझैँ मैले पनि इन्टरनेटमा लाइभ प्रस्तुतिको तौरतरिका सिक्न संघर्ष गर्नुपर्‍यो । टेनिस र्‍याकेट समातेर रकस्टारले गितार बजाएजस्तो आफ्नै भावभंगी सयनकक्षको ऐनामा हेर्दा म मजै मान्थे । आजकल घन्टाभरको अनलाइन प्रस्तुति दिइरहँदा आफ्नो स्मार्टफोनको स्क्रिनबाट मलाई आफ्नै प्रतिबिम्बले घुरिरहेको हुन्छ । यो उतिसारो मजा लागिरहेको छैन । यसरी प्रस्तुति दिइरहँदा मैले देख्ने भनेको श्रोता–दर्शकका इमोजी प्रतिक्रियाका बुलबुले प्रवाह मात्र हुन् । 
आम अनुमोदन संगीतिक प्रस्तुति दिनेलाई मात्र चाहिने भने होइन । संगीतले हामीलाई आफू एक्लो नभएको अनुभव गराउँछ । व्याकुलता र भावनात्मक उत्तेजनाको समानुभूति गराउँछ । समानुभूतिको त्यो भावना लाइभ कन्सर्टमा जतिको गाढा हुन्छ, त्यो अन्त प्राप्त हुँदैन । 
लाइभ कन्सर्टले समस्याबाट माथि उठ्ने हाम्रो संकल्पलाई मजबुद बनाउँछ । यसले दर्शकलाई उक्त कलाकारसँगै उभ्याइरहेको हुन्छ । त्यो एक स्फुर्तीदायक अनुभव हो । जब तिनले तपाईंको गीत गाउँछन्, त्यसमा सयौँ–हजारौँ अन्य आवाज मिसिन आइपुग्छन् । अनुमोदनको त्यस क्षण उत्तेजनापूर्ण र उत्सवमय हुन्छ । जुन अभूतपूर्व समागमको क्षण हो । त्यस क्षणमा दुःख–पीडा दूर भएर जान्छन् । तपाईं थप मजबुद भएर कार्यक्रमस्थलबाट बाहिर निस्कनुहुन्छ । यो महामारीले संसारलाई हेर्ने, बुझ्ने हाम्रो तरिकालाई रूपान्तरण गर्नेछ । केही काम गर्ने तौरतरिका सदाका लागि परिवर्तन पनि गर्ला । तर, म विश्वस्त छु– मेरो गीत–संगीतको क्षेत्रमा चिजहरू अधिकतर पहिलेजस्तै रहनेछन् । प्रत्यक्ष प्रस्तुतिको भावनात्मक ऐक्यबद्धता अनलाइनमा सजिलै प्रतिकृत गर्न सकिने आमचिज हुँदै होइन ।

श्रमबजार थप मानवीय हुनेछ
जस्टिन वुल्फर्स / बेट्सी स्टेभेन्सन
(स्टेभेन्सन अमेरिकी र वुल्फर्स अस्टेलियन अर्थशास्त्री हुन्)

महामारीअघि अधिकांशले आफ्नो काम र निजी जीवनबीच सीमारेखा कायम राख्ने प्रयास गरिरहेका हुन्थे । आफ्नो समयसारिणी मिलाउँदा बालबच्चाको देखभाललाई खासै ख्याल गर्नुपर्थेन । यो महामारीले त्यो सीमारेखालाई धुजाधुजा पारिदियो । एकाएक जुमको फ्रेममा बालबालिका देखिन थाले । कुकुर वा बिरालो पनि फ्रेममा आउन थाले । देखभालको दायित्वसँगै समयतालिका मिलाउनुपर्ने भयो । 
हाम्रो निजी जीवनको पर्दा तानिएर कामसँगको हाम्रो सम्बन्ध परिवर्तन भएको छ । परिणाम हाम्रो आशय र कार्य दुवैमा प्रतिबिम्ब छ । सन् २०२१ मा कामबाट राजीनामाको प्रवृत्तिले कीर्तिमान कायम गरेको छ । मानिसले महामारीअघिभन्दा धेरै छिटो–छिटो आफ्नो पेसा र काम परिवर्तन गरिरहेका छन् । सर्भेहरूले के देखाउँछन् भने आधाभन्दा धेरै अमेरिकी श्रमबलको एउटा आँखा नयाँ रोजगारीतर्फ सोझिरहन थालेको छ । सर्वेक्षणमा सामेल एकचौथाइ अमेरिकी पिता र एकतिहाइ आमा मात्रै उनीहरू महामारीअघि जे गर्थे अब पनि त्यही जारी राख्ने योजनामा रहेको बताउँछन् । बाँकी आफ्नो कार्यघन्टा परिवर्तन गर्न या नयाँ काम खोज्न इच्छुक देखिन्छन् ।
आवश्यकताले परिवर्तनलाई बाध्य बनाएको छ । प्रत्येकलाई सम्भावनाको खोज गर्न झक्झक्याएको छ । काममा आफ्नो थप नियन्त्रण र राम्रा अवसर खोज्न प्रेरित गरेको छ । केहीका लागि यसको अर्थ कार्यालयमा पूर्णकाल नफर्किनु हुनेछ । घरबाट गर्दा हुने प्रकृतिका काम गर्नेले अब केही हदसम्म घरबाटै काम जारी राख्नेछन् । यसरी बचेको समय (जुन समग्रमा अर्बाैँ घन्टा हुनेछ) र सहजता (बैठककै बीचमा वासिङ मेसिनमा कपडा धुन पनि सक्नेछन्)ले सिर्जना गर्ने लाभ निकै ठूलो हुनेछ ।
थुप्रै मानिसले घरबाटै कामको अलवा केही नयाँको अभ्यास पनि गरिरहेका छन् । तीनले कहाँ, कहिले र के–के काम गर्न सकिन्छ त्यसका लागि मोलमोलाइ गर्न थालेका छन् । उनीहरू न्यून पारिश्रमिक र उच्च जोखिमका कामप्रति अनिच्छुक हुन थालेका छन् । केहीचाहिँ पहिलेभन्दा थोरै कम तनावपूर्ण काम खोजेर जीवनलाई थप सन्तुलित बनाउन चाहन्छन् । अभिरुचिको क्षेत्रमा राम्रा अवसर खोज्दै छन् । महामारीका कारण अहिले उच्च संख्यामा पदहरू खाली छन् जसले कामदारलाई मोलमोलाइको क्षमता दिएको छ । 
हरेक आर्थिक उथलपुथललाई एउटा नाम चाहिन्छ । यसलाई ‘द ग्रेट रिएलोकेसन (कामको महान् पुनर्वितरण)’ भन्न सकिन्छ । यो केही क्षणका लागि अवरोधकारी हुन सक्ला, तर यसले श्रमबजारलाई थप मानवीय बनाउन सक्छ ।

प्रविधिले सामथ्र्य प्रदान गर्न सक्छ, तर नियम भने मानिसले नै बनाउनुपर्छ
रोजावेथ मोस केन्टर
(हार्वर्ड बिजनेस स्कुलकी प्राध्यापक केन्टर परिवर्तन र नवप्रवर्तनको नेतृत्व विषयकी विज्ञ हुन् । उनको पछिल्लो पुस्तक थिंक आवटसाइड द बिल्डिङ ः हाउ एडभान्स्ड लिडर्स क्यान चेन्ज द वल्र्ड वान स्मार्ट इनोभेसन एट अ टाइम प्रकाशित छ ।) 


गुणस्तरीय कार्य–जीवनको अभ्यास अंगीकारको प्रस्ताव दशकौँ पुरानो हो । यसका लागि कोभिड महामारी महत्वपूर्ण मोड हुन सक्छ । समयतालिकामा लचकता, महिला तथा अल्पसंख्यकका लागि समेत समान अवसर, काम र परिवारबीच सन्तुलन र सामाजिक रूपले उत्तरदायी कम्पनीहरूको परिकल्पना साकार हुने देखिँदै छ । 
यो रूपान्तरणको एउटा कारण प्रविधि हो । जहाँसुकैबाट काम गर्न सकिने सामथ्र्य दिएर प्रविधिले परिवर्तनलाई योगदान गरेको छ । प्रविधिले संस्थाहरूलाई रूपान्तरण गरेको छ । सेवाहरूलाई अधिक पहुँचयोग्य बनाएको छ । अनलाइन शिक्षा, टेलिमेडिसिनमार्फत स्वास्थ्य हेरचाह वा रोबोटिक सर्जरी सम्भव गराएको छ । न्यून वेतनीय र कठिन काममा श्रमिकको अभाव रोबोटले पूर्ति गरिदिन थालेको छ । मेरो छिमेकमै एउटा रोबोटिक रेस्टुराँ खुलेको छ । अलबिदा, पेड स्लेभरी 
( मजदुरीसहितको दासत्व) ।
तर, प्रविधिले ठूला सुधारविना कामदारको स्वर्गको सिर्जना गर्न सक्दैन । कार्यस्थल नपुगी नहुने कामदारका लागि बाल हेरचाह तथा यातायातको सुविधामा पहुँच ठूलो स्तरमा साकार हुनु छ । प्रविधिको बढ्दो प्रयोग मानिसको स्वाभिमान र स्वायत्तताभन्दा पर हुनुहुँदैन । कामदारको सक्रियता परिवर्तनको अर्को सशक्त चालक हो । यसको नेतृत्व शीर्ष प्रतिभाले गर्नेछन् । तिनले अवाञ्छित ग्राहक, वातावरणीय रूपले प्रतिकूल उत्पादन, कठोर कार्य सर्तनामा, भेदभावपूर्ण व्यवहार, शृंखलाबद्ध उत्पीडनलगायतको विरोध गर्नेछन् । निर्णयमा अधिक सहभागिता खोज्नेछन् । व्यवसायलाई अझ उच्च मापदण्डमा लैजान बाह्य दबाब समूहलाई सुदृढ बनाउनेछन् । यसबाट कर्पोरेट सामाजिक उत्तरदायित्वका कार्यक्रम र वातावरणीय, सामाजिक कार्य र सुशासनलाई मूलधारको अपेक्षा बनाउन सहयोग मिल्नेछ ।
तर, यो नै पर्याप्त होइन । जबसम्म कार्यस्थलले कामदारलाई तिनको पारिवारिक प्राथमिकता र व्यक्तिगत मूल्यहरू महसुस गर्न मद्दत गर्दैनन्, रोजगारी तिनको पहिचान बन्ने छैनन् । 
यो ग्रेट रिजाइनेसन (नयाँ काम खोज्ने, राजीनामा दिने प्रवृत्ति) जारी रहन महिला र जातीय अल्पसंख्यकका लागि उद्यमशिलता सहज मार्ग बन्न सक्नुपर्छ । त्यसो हुँदा मानिसहरू कामदारबाट मालिक बन्ने क्रम बढ्नेछ । उद्यम पुँजीमा श्वेत पुरुषको वर्चस्व तोडिए यो सम्भव हुनेछ । कार्यस्थलमा रूपान्तरणविना, वैतनिक काम केवल लेनदेन मात्रै हुनेछन् । आजीविकाका निम्ति गरिने काम सधैँ अस्थायी नै रहन्छन् । राम्रो पारिश्रमिक पाउनेका लागि समेत जब काम द्वितीय प्राथमिकता हुनेछ, तब नै जीवनको वास्तविक व्यवसाय सुरु हुनेछ । पहुँचयोग्य बाल हेरचाह, लचिलो कार्यतालिका, निर्णय र सामाजिक उत्तरदायित्वमा भागेदारी सुनिश्चित गर्ने सार्वजनिक नीति र संस्कृतिविना काम पारिश्रमिकयुक्त दासत्वबाट निस्किएर कामदारको स्वर्ग हुनेछैन । प्रविधिले सक्षम त बनाउँछ, तर नियम त मानिसहरूले नै बनाउनुपर्छ ।