एक महिनाअघि नयाँ बसपार्कमा एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा नौ अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
मुगुको छायाँनाथ नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली, चन्द्र साउद तथा अर्घाखाँचीका गोपालकुमार शिरीष जेल चलान भएका हुन् ।
त्यस्तै, मतियारका रूपमा पक्राउ परेका होटेल सञ्चालकहरू जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणचार्य पौडेललाई अदालतले तीन–तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । घटनामा गेस्टहाउस सञ्चालकको गम्भीर लापरबाही देखिएकाले उनीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याई मुद्दा चलाइएकोमा धरौटीमा छाड्ने आदेश भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
गत १२ र १३ पुसमा नयाँ बसपार्कमा सुर्खेतबाट काठमाडौं आएकी एक महिलालाई १६ घन्टासम्म नियन्त्रणमा राखेर नौजनाले सामूहिक बलात्कार गरेका थिए । प्रहरीले सिसिक्यामेराको सहयोगमा घटनाको २४ घन्टाभित्रै आरोपीलाई पक्राउ गरेको थियो ।
महिलामाथि तीनवटा होटेलमा सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पहिलो होटेलमा ६ जनाबाट, दोस्रोमा दुई र तेस्रोमा एकजनाबाट बलात्कार भएको थियो । पीडित महिला घटनाकै दिन सुर्खेतबाट काठमाडौं आएकी थिइन् । सहयोग गर्ने आश्वासनमा आफूलाई होटेलमा लगेर बलात्कार गरिएको पीडितको भनाइ छ । उनीहरूमध्ये सबैजसो वैदेशिक रोजगारको प्रक्रियाका लागि नयाँ बसपार्कका गेस्टहाउसमा बसेका थिए । सबैजना कारागार चलान भएका छन् ।
गत १३ पुसमा पीडित महिला आफूमाथि ९–१० जनाले सामूहिक बलात्कार गरेको भन्दै उजुरी लिएर नयाँ बसपार्कस्थित प्रहरी प्रभागमा पुगेपछि प्रहरीले घटनाको जानकारी पाएको थियो । तत्कालै प्रहरीले सिसिक्यामेराको सहयोगमा अनुसन्धान गर्दा महिलालाई युवकहरूले लिएर गएको होटेल पहिचान गरी पक्राउ गरेको थियो ।
पक्राउको तीन हप्तापछि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूलाई १५ वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार १८ वर्षभन्दा बढी उमेरको महिलामाथि बलात्कारमा १० वर्षसम्म कैद तथा सामूहिक बलात्कारमा थप पाँच वर्ष सजाय हुने कानुनी प्रावधान छ ।