१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ माघ ९ आइतबार ०६:३०:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दैनिक पाँच सयभन्दा धेरै बालबालिका संक्रमित

परीक्षण गर्न जाने आधाभन्दा धेरैमा संक्रमण : ३० पुसमा २८.८ प्रतिशत रहेको संक्रमणदर ८ माघमा ५०.८ प्रतिशत पुगेको छ

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ माघ ९ आइतबार ०६:३०:००

तेस्रो लहरको संक्रमणदर उकालो लागेसँगै ठूलो संख्यामा बालबालिका र वृद्धवृद्धा पनि कोरोनाको चपेटमा परेका छन्, संक्रमण र बढ्दो मृत्युदरले कोरोनाबाट जोगिन सरकार र नागरिक दुवैलाई झक्झकाएको छ, चिकित्सकहरूले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सुझाएका छन्

लगातार बढिरहेको कोरोनाले दैनिक पाँच सयभन्दा धेरै बालबालिका (१८ वर्षमुनि) संक्रमित हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने क्रम जारी छ । 

पछिल्लो २४ घन्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीमध्ये पाँच सयभन्दा बढी बालबालिका छन् । शनिबार पाँच सय ७९ जना बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

७ माघमा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ सय ७६ बालबालिका थिए । ६ माघमा देशभर १२ हजार तीन सय ३८ जना संक्रमति हुँदा पाँच सय ९३ बालबालिका थिए ।

त्यस्तै ५ माघमा पाँच सय ८१ बालबालिकामा संक्रमण देखिएको थियो, जब कि त्यस दिन कुल संक्रमितको संख्या ११ हजार ३५२ थियो । यसबाहेक ४ माघमा देशभर कुल संक्रमित १० हजार २५८ हुँदा संक्रमित बालबालिकाको संख्या पाँच सय ४१ थियो । स्वास्थ्य मन्त्रालयका अनुसार ३ माघमा तीन सय ७२ बालबालिका संक्रमित भएका थिए भने २ माघमा तीन सय २३ मा संक्रमण देखिएको थियो । त्यस्तै १ माघमा दुई सय ७८ र ३० पुसमा २९९ बालबालिकामा संक्रमण पुष्टि भएको थियो । 

तेस्रो लहर सुरु भएयता पछिल्ला दुई सातादेखि देशभर संक्रमित बालबालिकाको संख्या बढ्न थालेको हो । त्यसअघि दैनिक औसत २५ जनामा सीमित रहेको बालबालिका संक्रमण गत दुई सातादेखि लगातार उकालो लागेको छ । 

नेपालमा ओमिक्रोनको संक्रमण फैलिएसँगै पुस अन्तिमबाट बालबालिकामा पनि संक्रमण बढ्न थालेको मन्त्रालयको तंथ्याकले देखाउँछ । २५ पुसमा ७५ जना बालबालिकामा संक्रमण देखिए पनि २६ पुसमा एकैदिन एक सय १६ जनामा देखिएको थियो । त्यसयता संक्रमणदर लगातार बढ्दै गइरहेको छ । 

गत २७, २८ र २९ पुसमा क्रमशः एक सय ७६, एक सय ९१ र दुई सय २५ जना बालबालिकामा संक्रमण देखिएको थियो । गत ३० पुसमा दुई सय ९९ जनामा संक्रमण देखिएको थियो । माघ सुरु भएसँगै दैनिक संक्रमण झन् बढ्दै गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिड संक्रमणका कारण ७२ हजार एक सय पाँच बालबालिका प्रभावित भइसकेका छन् । जसमध्ये पहिलो लहरमा २१ हजार पाँच सय २३ जना संक्रमित थिए । दोस्रो लहर सुरु भएदेखि हालसम्म ५० हजार पाँच सय ८२ जनामा संक्रमण देखिइसकेको छ । 

अझैसम्म पनि १२ वर्षमुनिका बालबालिका खोपको पहुँचमा नभएको, ओमिक्रोन बालबालिकामा बढी जोखिमयुक्त मानिएकाले संक्रमण बढ्न सक्ने चिकित्सकहरूको अनुमान छ । यद्यपि, वयस्कको तुलनामा बालबालिका मृत्युदर भने न्यून रहेको छ । देशभर हालसम्म नौ वर्षसम्मका ४९ जना र १० देखि १९ वर्ष उमेरका ५७ जना बालबालिकाको कोभिड संक्रमणबाट मृत्यु भइसकेको छ । 

बालबालिका संक्रमणदरसँगै अस्पतालमा समेत भिड बढ्न थालेको चिकित्सकले बताएका छन् । पछिल्ला वर्षहरूमा चिसोका कारण दैनिक दुई सयको हाराहारीमा बालबालिका अस्पताल पुग्ने गरे पनि पछिल्लो डेढ सातायता दैनिक अस्पताल पुग्नेको संख्या दोब्बरले बढेको कान्ति बालअस्पतालका चिकित्सक डा. अजित रायमाझी बताउँछन् । 

‘बिरामी भएर अस्पताल पुग्ने अधिकांश बालबालिकामा कोभिडसँग सम्बन्धित लक्षण देखिइरहेका छन् । धेरैजसो नाक बग्ने, नाक बन्द हुने, खोकी, घाँटी दुखाइ, ज्वरो, झाडापखालाका लक्षण लिएर अस्पताल पुग्नेको भिड बढेको हो,’ उनले भने । 

कान्ति बाल अस्पतालमा मात्रै १३ बालबालिका कोभिड वार्डमा उपचाररत छन् । दुई साताअघिसम्म लगभग खाली रहेको बाल कोभिड वार्डमा बिरामी बढ्दै गएको अस्पतालले जनाएको छ । 

बालबालिकामा खोपको न्यून प्रयोग र ओमिक्रोन भेरियन्टले खोपको प्रयोग गरेकालाई समेत प्रभावित गरिरहेका कारण संक्रमण बढ्न सक्ने हुँदा अभिभावक सचेत हुनुपर्ने डा. रायमाझी बताउँछन् । 

कतिपय अध्ययनले बालबालिका गम्भीर रोग, अस्पतालमा भर्ना वा कोभिड– १९ बाट मृत्युको उच्च जोखिममा नरहेको देखाएका छन् । यद्यपि, ओमिक्रोन फैलिएसँगै दक्षिण अफ्रिका, अमेरिका र युकेको पछिल्लो अस्पताल भर्नादरले बालबालिकासमेत उच्च जोखिममा रहेको पुष्टि गरेको छ ।

अमेरिकामा पछिल्लो केही सातायता बालबालिका अस्पताल भर्नादरसमेत नियमित उकालो लागिरहेको छ । खासगरी खोपको पहुँचमा नभएका पाँच वर्षमुनिका बालबालिका र मास्कको समेत प्रयोग गर्न नसक्ने बच्चा बढी प्रभावित भइरहेको अस्पतालहरूले बताएका छन् । 

वृद्धवृद्धामा पनि संक्रमण बढ्दो
पछिल्लो साताको तुलनामा वृद्धवृद्धामा पनि कोभिड संक्रमण बढ्दै गएको छ । शनिबार ६०३ जना वृद्धवृद्धामा संक्रमण देखिएको छ । १ माघसम्म ६० वर्षमाथि उमेर समूहमा दैनिक संक्रमितको संख्या दुई सय हाराहारीमा थियो । साताको अन्तिमतिर एकैदिन सात सयभन्दा बढीमा संक्रमण देखिएको छ । गत शनिबार २५० जनामा संक्रमण देखिएको थियो । आइतबार ३२१, सोमबार ३९६, मंगलबार ५७४, बुधबार ७२८, बिहीबार ७२९ र शुक्रबार ७०० वृद्धवृद्धामा संक्रमण देखिएको थियो । हालसम्म संक्रमणबाट ६ हजार तीन सय २४ वृद्धवृद्धाको मृत्यु भइसकेको छ ।

बालबालिकालाई संक्रमणबाट जोगाउन अभिभावक सचेत हुन जरुरी छ : डा. अजित रायमाझी, निर्देशक, कान्ति बाल अस्पताल
डेल्टा भाइरसको समयमा संक्रमित अधिकांश बालबालिकामा निमोनिया देखिएको थियो, जसले गर्दा उनीहरूमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । तेस्रो लहरको सुरुवातमै रहेकाले संक्रमण बालबालिकाका लागि कति घातक हुन्छ भन्न सकिँदैन ।

बालबालिका संक्रमण नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । समय–समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने र मास्कको प्रयोग गर्नेजस्ता मापदण्डमा बेवास्ता गर्दा संक्रमण उकालो लाग्दै छ । बालबालिकामा अभिभावकबाटै संक्रमण सर्ने सम्भावना भएकाले उनीहरूले जोखिमबाट टाढा बस्नुपर्छ ।

स्वास्थ्यको मापदण्ड पालना गर्न सक्ने उमेरका बालबालिकालाई भिडभाडबाट टाढा राख्ने र सरसफाइमा ध्यान दिन लगाउनुपर्छ । बच्चाहरूलाई झोलिलो, तातो र पोषणयुक्त खाना खुवाउनुपर्छ । घरभित्रै बस्ने वातावरण सिर्जना गर्नुपर्छ । बालबालिकाको मानसिक स्वास्थ्यमा समेत अभिभावक सचेत हुन जरुरी छ ।

हामीले महामारीलाई टेरेका छैनौँ, सचेत बनेर स्वास्थ्य मापदण्ड पालना गरौँ : डा. विमल शर्मा चालिसे, टेकु अस्पताल 
कोरोनाको पहिलो र दोस्रो लहरको तुलनामा अधिकांश मानिसले अहिले महामारीलाई सामान्य रूपमा लिएजस्तो बुझिन्छ, अर्थात् टेरेका छैनन् । यसको मुख्य कारण नयाँ भेरियन्ट ओमिक्रोनले तीव्र संक्रमण फैलाए पनि गम्भीर नबनाउनु हो । तर, हामीहरूले त्यस्तो ठानेर बेपरवाह बन्नुहुन्न । किनभने छोटो समयमै संक्रमणले विगतको तुलनामा ‘रेकर्ड ब्रेक’ गरेको छ । यद्यपि, अस्पतालमा भर्ना हुनेको संख्या विगतको तुलनामा अझै कम छ । यही गतिमा  बढ्यो भने कम नै रहन्छ भन्न सकिन्न । तीव्र रूपमा बढिरहेको संक्रमणले कुनै पनि समयमा भयावह स्थिति ल्याउन सक्छ । त्यसैले स्वास्थ्यका मापदण्डको पालना गर्दै आफैँले एक दिन लकडाउन गर्नुपर्छ । राज्यले गरेकोभन्दा नागरिक आफैँले गरेको लकडाउन बढी प्रभावकारी हुने भएकाले सबैले एकपटक सचेत हुने अवस्था आएको छ । 

चोक–बजारमा अझै भिड घटेको छैन । सामाजिक दूरी कायम छैन । मास्क लगाउन अहिले पनि सास्ती मान्ने पनि धेरै छन् । यसले हामीलाई अप्ठ्यारो स्थितिमा पुर्‍याउँछ । त्यसैले भिडमा नजाऔँ । अत्यावश्यक वस्तुबाहेक किनमेल गर्न घरबाट ननिस्किऔँ । खोप नलगाएकाले लगाऔँ । नियमित हात धुने गरौँ । खोप लगाएर मात्रै यो भाइरसलाई तह लगाउन सकिन्छ । ठूलो संख्यामा एक्टिभ संक्रमित देखिँदा पनि अहिलेसम्म अस्पतालमा बेड खाली छन् । यसको मुख्य करण खोप नै हो । विगतको भन्दा यो भाइरसको प्रकृति फरक छ । खोप लगाएका र बिरामी भएका पुनः संक्रमित हँुदा रोगसँग लड्ने क्षमता केही बढी देखिन्छ । उनीहरूलाई सामान्य समस्या मात्रै हुन्छ ।