निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ ८ आइतबार
  • Sunday, 22 May, 2022
टेकराज थामी बाह्रबिसे
२०७८ माघ ९ आइतबार ०६:२४:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बर्दीको बलमा नागरिकको  ज्यानमाथि खेलबाड

Read Time : > 5 मिनेट
टेकराज थामी, बाह्रबिसे
२०७८ माघ ९ आइतबार ०६:२४:००

हिरासतमै शंकास्पद मृत्यु भएका सिन्धुपाल्चोकका खड्गबहादुर तामाङको ६ महिनासम्म पोस्टमार्टम रिपोर्ट आएन, प्रहरीले पीडित परिवारको उजुरी लिएन

बर्दीको बलमा प्रहरीले गर्ने बलजफ्तीले जब कोही नागरिकको जीवन समाप्त हुन्छ, तब परिवारको सपना नै तहसनहस बनाइदिन्छ । अहिले यस्तै नियति भोगिरहेको छ– सिन्धुपाल्चोक बाह्रबिसेका कामी तामाङको परिवारले । छोरा गुमाएका कामी विक्षिप्त छन् । 

हिरासतमै शंकास्पद मृत्यु

सहकारीमा चोरी गरेको आरोपमा गत १८ साउनमा बाह्रबिसे प्रहरीले पक्राउ गरेको ३२ वर्षीय खड्गबहादुर तामाङको चार दिनपछि २२ साउनमा शंकास्पद मृत्यु भयो । मृतकको शरीरमा नीलैनील थिए । हिरासतमा प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको दाबी छ । प्रहरीले उजुरी लिन मानेको छैन । 

‘प्रहरी हिरासतमै शंकास्पद मृत्यु भएका’ ३२ वर्षीय छोरा खड्गबहादुर तामाङको वियोगले बाह्रबिसे– ७ थाकमका ६५ वर्षीय कामी राम्ररी निदाउन सकेका छैनन् । ६ महिना बित्यो, उनी घरी झस्किन्छन्, घरी बर्बराउँछन् । खड्ग कामीका एक्ला छोरा थिए ।

३७ वर्षीय नीरमाया तामाङ खड्गकी दिदी हुन् । उनको घर बाह्राबिसे– ७ थाकममा पर्छ । ‘भाइको मृत्यु भएदेखि बुबाको हालत बिग्रियो । राति राम्रोसँग निदाउन सक्नुभएको छैन । छोराको नाम लिएर निद्रामै बर्बराउनुहुन्छ । घरी झस्किनुहुन्छ,’ बुबा कामीको हेरचाह गरिरहेकी नीरमायाले भनिन् । 

१८ साउनको साँझ ससुराली घरमा थिए, खड्ग । बाह्रबिसे इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले उनलाई त्यहीँ पक्राउ गर्‍यो । र, इप्रका बाह्रबिसेको हिरासत पुर्‍यायो । गाउँमा एक सहकारीमा चोरी भएको थियो । सोही अभियोगमा पक्राउ परेका थिए उनी ।

पक्राउ परेका खड्गसँग प्रहरीले अनुसन्धान त गर्‍यो, तर पक्राउ परेको चार दिनपछि हिरासतमै भएको शंकास्पद मृृत्युले दर्जनौँ प्रश्न जन्माइदियो । खड्गको मृत शरीरमा जे–जस्ता नीलडाम थिए, ती अस्वाभाविक देखिन्थे । र, डाम प्रहरी हिरासतमा उनले पाएको यातनाको वर्णन गर्ने बलिया प्रमाण थिए । 

प्रहरी हिरासतमै रहेका वेला उनको २२ साउनमा मृत्यु भयो । जब कामीले भोलिपल्ट शव बुझ्न खोजे । शरीरभरि नीलडाम देखे । जब कि १८ साउनको साँझ पक्राउ पर्दा उनी हृष्टपुष्ट थिए । पत्याउनै नसकिने घटनाले कामी छाँगाबाट खसेझैँ भए । र, त्यही दिनदेखि उनले छोराको मृत्युको कारण खोज्न चाहे । तर, अहिलेसम्म कारण पाउन सकेका छैनन् ।

पक्राउ परेको भोलिपल्ट खड्गलाई भेट्न दिदी नीरमाया हिरासत कक्षमै पुगेकी थिइन् । भेटमा उनले नीरमायासँग तामाङ भाषामा ‘मलाई यहाँ कुट्यो दिदी, मलाई घर लैजानु, मलाई पुलिसले कुट्यो, कन्चटमा बक्सिङले हान्यो’ मात्रै भन्न भ्याएका थिए । भाषा नबुझ्ने हिरासत कक्षका सुरक्षाकर्मीले ‘के कुरा गरेको’ भन्दै दुवैलाई हप्काएका थिए । त्यसवेला नीरमाया डराउँदै हिरासत कक्षबाट बाहिरिएकी थिइन् । 

२१ साउनसम्म खड्गको दिदी नीरमायासँग टेलिफोनमार्फत दोहोरो कुराकानी चलिरहेको थियो । धरौटीमा छुटाउन उनले गाउँमा ऋण खोज्दै थिइन् । तर, २२ साउनको बिहान २:३० बजे प्रहरी कार्यालयबाट उनलाई फोन आयो । खड्गको हालत अचानक खराब भएको भन्दै प्रहरीले टेलिफोनमा भन्यो । ढिला भइसकेकाले उनी जान सकिनन् । 

गाउँमै टाटासुमो चलाउँथे सिन्धुपाल्चोक बाह्रबिसे– ७ थाकमकै ३४ वर्षीय जितबहादुर तामाङ । प्रहरीले पछि उनलाई सम्पर्क गर्‍यो । जितबहादुर इप्रका बाह्रबिसे पुगे । हिरासत कक्षमै लडिरहेका थिए, खड्ग । जितले खड्गको शरीर कामिरहेको देखे । 

प्रहरीको आदेशसँगै उनले खड्गलाई उठाए । टाटासुमोमा राखे । अर्धचेतमा रहेका खड्ग ‘प्रहरीले यातना दिएको’ बताउँदै थिए । प्रहरीसहित जित खड्गलाई लिएर धुलिखेल अस्पतालतर्फ हुइँकिए । तर, अस्पतालले उनलाई मृत घोषणा गर्‍यो ।

गाउँमै भेटिएका जितले नयाँ पत्रिकासँग भने, ‘मलाई अचानक प्रहरीले राति फोन गर्‍यो । म प्रहरी कार्यालय पुगेँ । खड्गलाई अस्पताल लैजानुपर्ने भन्यो । खड्ग हिरासतमै लडिरहेका थिए । उनको हातखुट्टा कामिरहेको थियो । दिसापिसाब पनि त्यहीँ थियो । उठाउने क्रममा उसले ‘मलाई प्रहरीले कुट्यो । यस्तो हालत बनायो’ भन्दै थिए । धुलिखेल अस्पताल त लगियो । तर, बचाउन सकिएन, ढिला भइसकेको रहेछ ।’

खड्ग पक्राउ गरी हिरासत कक्षमा राखिँदा बखत इप्रका बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाह बिदामा थिए । कार्यालयको कमान्डर थिए सइ दामोदर कुइँकेल । उनको मातहतमा हिरासत कक्षको कमान्ड सम्हालिरहेका थिए, असइ देवेन्द्र सुवेदीले । 

कार्यालय प्रमुख प्रहरी निरीक्षक शाह बिदामा भएको हुँदा घटनाको अनुसन्धान गर्दै थिए सइ कुइँकेलले । प्रहरीका अनुसार अनुसन्धानका क्रममा चोरी खड्गले नै गरेको पुष्टि भयो । सहकारीको क्षतिपूर्ति भराउने सर्तमा घटना सहमतिमा मिल्ने तरखरमा थियो । तर, खड्गलाई म्याद थप गरेर हिरासतमै राखियो । 

कार्यालय प्रमुख इप्रका बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक शाहले नयाँ पत्रिकासँग भने, ‘म बिदामा थिएँ । चोरीका घटना अनुसन्धान हुँदै थियो । एकजना पक्राउ परेकोसम्म मलाई थाहा छ । जे होस्, दुःखद घटना भएको छ । अनुसन्धान हुँदै छ । मभन्दा माथिल्लो निकायले पनि अनुसन्धान गर्दै होला । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । त्यसपछि केही नयाँ तथ्य आउला ।’

हामीले छोरी नीरमायाको घरमै कामीलाई भेट्यौँ । उनले शव बुझ्दाको दिनको वर्णन गरे, ‘बाबुको मृत्यु प्रहरी हिरासतमै भयो । प्लास्टिकमा पोको पारेको शव बुझ्न भने । खोलेर हेर्दा शरीरभरि नीलडाम थिए ।’ त्यही वेला कामीको मनमा प्रश्न उठ्यो– ‘हिरासतमै छोराको मृत्यु कसरी भयो ?’

मनमा प्रश्नको पोको बोकेर कामी न्यायको लडाइँमा उत्रे । कारण बुझ्न उनी बाह्रबिसेस्थित हिरासत कक्ष पुगे । प्रहरीका हाकिमसँग प्रश्न गरे । बाह्रबिसे प्रहरीले आलटाल जवाफ दियो । 

अर्को दिन कामी चौतारास्थित जिल्ला प्रहरी कार्यालय पुगे । जिप्रका प्रमुख एसपी राजन अधिकारीलाई भेटेर घटनाको नालीबेली सुनाए । अनि छोराको मृत्यु भएको कारण सोधे । एसपी अधिकारीबाट ‘काम हुँदै छ’ बाहेक ठोस उत्तर पाउन सकेनन् । न्याय खोज्न हिँडेका कामी निराश भएर फर्के । 

प्रहरी प्रशासनबाट पाउने पटक–पटकको यस्तै गैरजिम्मेवार जवाफबाट उनी आजित भए । त्यसपछि उनको दैनिकी बदलियो । मदिराको लत बस्यो । अहिले हातखुट्टा काम्न थाल्छन् । अनुहार कालो भएको छ । शरीरको तौल पनि घटेको छ । 

छोरी नीरमायाले बदलिएको बुबाको दैनिकीबारे भनिन्, ‘भाइ बितेपछि नियमित मदिरा खान थाल्नुभयो । उहाँलाई अहिले बोल्न पनि गाह्रो हुन्छ । छोराको याद धेरै आउँछ भन्नुहुन्छ । त्यही भुल्न खानुभा’को रे ।’छोराको मृत्युको कारण प्रहरीले दिन नसकेपछि कामी छोरी नीरमायासँगै पटक–पटक सिडिओ कार्यालय सिन्धुपाल्चोक पुगे । नीलडामसहित खिचिएको तस्बिर देखाए । सिडिओले छानबिन समिति गठन गरे, तर उनले जवाफ पाउन सकेनन् ।

कामी फेरि न्यायको आशामा राष्ट्रिय मानव अधिकार आयोग पुगे । समस्या र घटनाको बेलिविस्तार लगाए । आयोगले पनि छानबिन समिति बनायो । तर, उनलाई न सिडिओको छानबिन समितिले जवाफ दियो, न मानव अधिकार आयोगले नै ।

राष्ट्रिय मानव अधिकार बागमती प्रदेशका सहसचिव यज्ञ अधिकारीले फरेन्सिक रिपोर्ट कुरिराखेको बताए । ‘घटना भएलगत्तै हामीले छनबिन गरेका हौँ । मृतकले पहिलेदेखि नै रक्सी खाने गरेको देखिन्छ । रक्सी खान पाएन भने ऊ बरबराउने रहेछ । पक्राउ परेपछि प्रहरीले स्वास्थ्य परीक्षणमा पनि पटक–पटक लगेको रेकर्ड देखिन्छ,’ उनले भने, ‘उसको हिरासतमा भन्दा पनि उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको हामीले पाएका छौँ । एटप्सी र फरेन्सिक रिपोर्ट अझै पाएका छैनौँ । चिकित्सकसँग मागिरहेका छौँ । त्यही प्रतिवेदन कुरिरहेका छौँ । त्यसपछि मात्रै मृत्युको कारण भन्न सकिएला ।’

घटना शंकास्पद देखिएपछि थाकमका स्थानीय आन्दोलित बने । दबाबपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सहायक सिडिओका नेतृत्वमा छानबिन समिति गठन गर्‍यो । समितिको छानबिनले घटना तथ्य बाहिर ल्याउनेमा थाकमका स्थानीय ढुक्क थिए । सोही कराण आन्दोलन स्थगित गरे । मृतकको शव बुझे । दाहसंस्कार गरे । तर, परिवारको सदस्यले समितिको प्रतिवेदन त के सात दिनमै तयार हुने पोस्टमार्टम प्रतिवेदनसमेत अहिलेसम्म पाउन सकेका छैनन् ।

मृत शरीरमा भेटिएको नीलडाम र हिरासत कक्षमा भेटिएका लौरोलाई आधार मानेर यातनाकै कारण खड्कको मृत्यु भएको परिवारका सदस्यको निष्कर्ष छ । त्यसो हुँदा उनीहरू किटानी जाहेरी लिएर पटक–पटक इप्रका बाह्रबिसे पुगे, तर प्रहरीले जाहेरी लिएन । गत बिहीबार पनि उनीहरू किटानी जाहेरी लिएर जिप्रका सिन्धुपाल्चोक पुगेका थिए । त्यहाँ पनि जाहेरी लिएको छैन । मृतक खड्की दिदी नीरमायाले भनिन्, ‘प्रहरीले जाहेरी लिन मानेको छैन, न मृत्युको कारण नै बताउँछ । कमसेकम जाहेरी लिएको भए अनुसन्धान हुने थियो । फैसला अदालतले गर्ने थियो ।’

पहुँचले भ्याएजति राज्यकै सबै निकायको चौखट पुगेका कामीले भने, ‘मैले न्याय त पाउन सकिनँ । राज्यले न्याय देला भन्ने आशा पनि अब छैन । मृत्युको कारण मात्रै जान्न पाए पनि आरमले मर्न पाइने थियो ।’

सिन्धुपाल्चोकका एसपी राजन अधिकारी घटनाको अनुसन्धान भइरहेको बताउँछन् । ‘घटनालगत्तै अनुसन्धानमा टोली खटिएको हो । घटनाका पीडित किटानी जाहेरी लिएर आएका थिए । त्योचाहिँ हामीले दर्ता गरेका छैनौँ । तर, अर्को जाहेरी त्यसवेला नै दर्ता भएको हो । पोस्टमार्टम रिपोर्ट आएको छैन,’ उनले भने, ‘पछि सहायक सिडिओका नेतृत्वमा पनि छनबिन समिति बन्यो । मानव अधिकार आयोगबाट पनि छानबिन भएको सुनेको छु । त्यही भएर प्रतिवेदन सार्वजनिक नभएको होला । घटना हुनु दुःखद पक्ष हो । यस विषयमा अनुसन्धान हुँदै छ । पीडितले न्याय पाउनुपर्ने पक्षमै हामी छौँ ।’

वृद्ध बुबाको हेरचाहमा जुटेकी नीरमायाले भनिन्, ‘हिरासतमै भाइको शंकास्पद मृत्यु भयो । छनबिनका लागि समिति बन्यो । तर, समितिले अझै प्रतिवेदन हामीलाई दिएको छैन । न पोस्टमार्टम रिपोर्ट नै हामीले पाउन सकेका छौँ । ६ महिना बित्यो ।’ 

बुढेसकालको एक्लो सहारा छोरा गुमाउँदाको पीडा त छँदै छ, नाति र नातिनी पढाउने चिन्ता पनि कामीमा छ । उनका १२ वर्षीय नाति कक्षा पाँचमा र नौ वर्षीय नातिनी कक्षा तीनमा पढ्छन् । कमाएर ल्याउने घरमा कोही छैन । बुहारी पनि बिरामी छिन् । समस्या नै समस्याको पहाडले थिचिएका वृद्ध कामी फेरि प्रश्न गर्छन्, ‘छोराको मृत्युको कारण थाहा नपाउँदै मरिने पो हो कि !’

छोरा वियोगबाट विक्षिप्त छिन् कामीकी वृद्धा श्रीमती पनि । उनलाई सम्हाल्ने जिम्मेवारी पनि कामीलाई नै छ । श्रीमतीको अवस्था चित्रण गर्दै कामी भन्छन्, ‘आफ्नै हालत यस्तो छ । श्रीमती सम्हाल्ने जिम्मेवारी पनि मैमाथि छ । छोरा गुमेदेखि साह्रै दुःख भयो । परिवार नै तहसनहस भयो ।’