मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ माघ ७ शुक्रबार ०६:४२:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

युवा संघमा एमाले ‘हाई कमान्ड’को गुट छाया

Read Time : > 4 मिनेट
२०७८ माघ ७ शुक्रबार ०६:४२:००

नवौँ महाधिवेशन आयोजक कमिटी गठनप्रति असन्तुष्टि, ओली र पोखरेललाई उजुरी दिएको असन्तुष्ट समूहले दियो समानान्तर गतिविधि गर्ने चेतावनी


एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघमा हालै चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनका दुई गुटको छाया देखिएको छ । नवौँ महाधिवेशन आयोजक कमिटी गठन गर्न बसेको केन्द्रीय सचिवालय बैठक एक पक्षले बहिष्कार गरेसँगै पार्टीका दुई गुटको छाया युवा संघमा प्रस्ट रूपमा बाहिर आएको हो । 

दशौँ महाधिवेशनमा ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाउनुपर्ने पक्षमा उभिएका युवा संघका नेता अहिले असन्तुष्ट समूहका रूपमा संगठित बनेका छन् । यसले दुई गुटको शक्तिसंघर्ष सुरु भएको छ । कोरम नै नपुगेको केन्द्रीय सचिवालय बैठकले विधानविपरीत एकलौटी रूपमा नवौँ महाधिवेशन आयोजक कमिटी गठन गरेको भन्दै असन्तुष्ट समूहले पार्टीमा उजुरी गरेका छन् । 

असन्तुष्ट समूहको नेतृत्व संघका उपाध्यक्षहरू रोशन बस्नेत, उर्मिला सुनुवार, अमित लामाले गरेका छन् । सो समूहमा सचिवालयका तीन दर्जनजति नेताको साथ छ । उनीहरूले २८–३० पुसमा पोखरामा सम्पन्न बैठकका निर्णयमाथि प्रश्न उठाएका छन् । असन्तुष्ट समूहले अध्यक्ष केपी ओली, महासचिव पोखरेल, मोर्चा संगठनका प्रमुख भानुभक्त ढकाल, संगठन विभागका प्रमुख खगराज अधिकारीलगायतलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको छ ।

संघका अध्यक्ष किरण पौडेल, महासचिव रमेश आचार्यको नेतृत्वमा रहेको बहुमत पक्षलाई संघका पूर्वअध्यक्ष महेश बस्नेतको साथ छ । पार्टीमा भने यो समूहले दसौँ महाधिवेशनमा सुवास नेम्वाङ, विष्णु पौडेललगायतलाई नेतृत्वमा ल्याउन जोड गरेको थियो । बहुमत पक्षले भने असन्तुष्ट समूहको आरोपको प्रतिवाद गरेको छ । संघका महासचिव रमेश आचार्यले बुधबार विज्ञप्ति प्रकाशित गरी आयोजक कमिटीमा रहेका र नरहेका केही व्यक्तिले सचिवालय बैठकको निर्णय तोडमोड गर्दै भ्रमित पार्ने कोसिस गरेको बताएका छन् ।

‘नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पूर्ण बैठकले गरेको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन र १० प्रतिशत मनोनीत तथा पाँच प्रतिशत समायोजन हुन बाँकीको सम्बोधनसम्बन्धी निर्णयलाई तोडमोड गर्दै आयोजक कमिटीमा रहेका र आयोजक कमिटीमै नरहेका केही व्यक्तिले संगठनको स्थापित मूल्य–मान्यता, विधि र पद्धतिलाई लत्याउँदै संगठनका असल र इमानदार कार्यकर्तालाई भ्रमित पार्ने कोसिस गरिरहेका छन्,’ आचार्यले भनेका छन्, ‘यी र यस्ता हर्कत किमार्थ स्वीकार्य र क्षमायोग्य छैनन्, तपसिल वास्तविकतालाई आत्मसात् गरी संगठनको निर्णयअनुसार संगठनको काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्दै अन्य सबैलाई पनि सोहीअनुसार अघि बढ्न अनुरोध गर्दछु ।’

०६९ फागुनमा बुटवलमा आठौँ महाधिवेशन सम्पन्न भययता युवा संघमा नौ वर्षसम्म महाधिवेशन सम्पन्न हुन सकेको छैन

उनले विज्ञप्तिमा पार्टी निर्देशनअनुसार नै महाधिवेशन आयोजक कमिटीको सदस्य, सचिवालय, स्थायी कमिटी, पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाइएको, उमेरहद पार गरेकालाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको, पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहेकालाई नराखिएको प्रस्ट्याएका छन् । त्यस्तै, संगठनको मूल नेतृत्व र नीतिविरुद्ध लाग्ने, ६ महिनाभन्दा बढी समय निष्क्रिय रहेकाहरूलाई लाई आयोजक कमिटीमा नराखिएको तथा आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पूर्ण पालना गरिएको दाबी पनि गरेका छन् । तर, असन्तुष्ट समूहकी उपाध्यक्ष उर्मिला सुनुवारले भने संगठनको नीति, विधिलाई लत्याएर जबर्जस्ती गरिएपछि असन्तुष्टहरूले बैठक बहिष्कार गरेको बताइन् । उनले विधि र पद्धतिअनुसार महाधिवेशन आयोजक कमिटी गठनको निर्णय सच्चिनुपर्ने जिकिर गरिन् ।

‘संघको नीति, विधिको आधारमा होइन, जबर्जस्त ढंगले जान खोजेपछि पोखरा बैठक बहिष्कार गरेर हिँडेका हौँ, संघको केन्द्रीय कार्यालय बैठकले गरेको निर्णयलाई लत्याउँदै महाधिवेशनबाट निर्वाचित भएको कमिटीजस्तै गरी फरक ढंगले आयोजक कमिटी गठन गरिएकोमा असहमति छ,’ सुनुवारले नयाँ पत्रिकासँग भनिन्, ‘यस विषयमा अध्यक्षसहित नेताहरूको ध्यानाकर्षण पनि गराइसकेका छौँ, सर्कुलर सार्वजनिक नभएकाले निर्णय संशोधन हुने सम्भावना छ, सच्याउनेबाहेकको अर्को विकल्प पनि छैन ।’

संस्थापन समूहलाई संघका पूर्वअध्यक्ष बस्नेतसँगै निरुदेवी पाललगायतको साथ छ भने बहिष्कार गर्ने समूहलाई पनि पूर्वअध्यक्ष रमेश पौडेल, पूर्वउपाध्यक्ष पर्शुराम बस्नेतलगायतले साथ दिएका छन् । असन्तुष्ट समूहमा उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे (उज्वल), तिरण गौतम, रवीन थापा, कुमार हुमागाईं, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, वेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायत तीन दर्जन नेता संगठित छन् ।

पार्टीको दशौँ महाधिवेशनमा संघबाट पाँचमध्ये चारजना प्रतिनिधि नेम्वाङ र पौडेललाई समर्थन गर्ने छनोट भएका थिए । अहिले असन्तुष्ट समूहका रूपमा संगठित संघका नेताहरूको समूहले त्यतिवेला प्रतिनिधि छनोटप्रति पनि असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यालयमा उजुरी गरेको थियो । उजुरी गर्नेमध्येकी उर्मिला सुनुवार मनोनीत प्रतिनिधि बनेकी थिइन् । दशबुँदे समूहबाट क्रान्ति बुर्लाकोटी प्रतिनिधि छानिएकी थिइन् ।

११ फागुनमा महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने वेलामा युवा संघभित्र पोलिटब्युरो सदस्य महेश बस्नेत हाबी भएपछि विवाद उत्पन्न भएको थियो । संघमा विवाद उत्पन्न भएपछि धेरैजसो नेताले केन्द्रीय कमिटी बैठक नै बहिष्कार गरेर निस्केका थिए । पोखराको बैठकमा पूर्वअध्यक्ष बस्नेतले नाम झिकेर भटाभट पढ्न थालेपछि विवाद भएको उपाध्यक्ष रोशन बस्नेतले बताए । 

‘बैठकमा छलफल भएर सहमतिमा नाम प्रस्ताव हुनुपथ्र्यो, तर इन्चार्जले एकलौटी नाम प्रस्ताव गरेपछि विवाद भएको हो, उहाँले युवा संघलाई निजी कम्पनीजस्तो ठान्नुभयो,’ उपाध्यक्ष बस्नेतले भने, ‘एउटा निजी कम्पनीमा त अडिट गर्नुपर्छ, अडिट नमिल्दा नवीकरण हुँदैन, युवा संघ त जनहित लागि बनेको युवाहरूको पक्षमा बनेको विशाल संगठन हो, यसमा कोही एक व्यक्ति हाबी हुन सक्दैन ।’

ओलीलाई बुझाएको पत्रमा के छ ?

असन्तुष्टहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको ध्यानाकर्षणपत्रमा संघमा पूर्वअध्यक्ष महेस बस्नेत हाबी भएको उल्लेख गरेका छन् । यस्तै, एकलौटी निर्णय नसच्चिए समानान्तर गतिविधि गर्नुपर्ने अवस्था आउनेसम्मको चेतावनी दिएका छन् । ‘पार्टीको मूल विचार माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, लेनिनवादी संगठनात्मक सिद्धान्त र लोकतान्त्रिक विधि, पद्धतिविपरीत संघको संगठनात्मक जीवनमा व्यक्तिवाद हाबी हुँदै गएको हामीले महसुस गरेका छौँ,’ सो पत्रमा छ, ‘तसर्थ संघको विद्यमान पूर्ण सचिवालय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न पार्टीबाट स्पष्ट निर्देशन गरियोस् भनी कमरेडसमक्ष यो ध्यानाकर्षणपत्र दर्ज गराएका छौँ, समयमै गलत निर्णय नसच्याए हामी संघलाई विधि, पद्धति र प्रक्रियाअनुरूप अगाडि बढाउन थप पाइला चाल्न बाध्य हुने विषयसमेत अवगत गराउँदछौँ ।’

पोखरामा भएको युवा संघको बैठकमा विवाद भएपछि पार्टी महासचिव शंकर पोखरेलले काठमाडौंबाट फोन गरेर सबैलाई मिलाएर बैठक सञ्चालन गर्न इन्चार्ज बस्नेतलाई निर्देशन दिएका थिए । निर्देशनको बेवास्ता गर्दै महाधिवेशन आयोजक कमिटी घोषणा भएको असन्तुष्टहरूको दाबी छ । संस्थापनले तीन सय ५१ सदस्यीय आयोजक कमिटी घोषणा गरेको छ । तर, असन्तुष्ट पक्षले भने महाधिवेशन सम्पन्न नभएसम्म अहिलेको चार सय १९ सदस्यीय केन्द्रीय सचिवालयलाई आयोजक कमिटी मान्नुपर्ने तर्क गर्दै आएको छ ।

नौ वर्षदेखि युवा संघमा भद्रगोल

०६९ फागुनमा बुटवलमा आठौँ महाधिवेशन सम्पन्न भययता युवा संघमा नौ वर्षसम्म महाधिवेशन सम्पन्न हुन सकेको छैन । नौ वर्षसम्म युवा संघ महाधिवेशन र विधानविनै भद्रगोल तरिकाले सञ्चालन भएपछि एमाले विभाजनअघि दिलु पन्त, नरेश शाही, हस्त शाही, क्रान्ति बुर्लाकोटीलगायतको समूहले संस्थापनसँग अन्तर्संघर्ष गर्दै आएको थियो । बुर्लाकोटी अहिले एमालेमै रहे पनि अरू माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् । महाधिवेशन नभएका कारण राष्ट्रिय युवा संघमा विधान र अधिवेशनविनै टिके नियुक्तिमा आठजना अध्यक्ष फेरिएका छन् । 

अबको ११ फागुनमा महाधिवेशन सम्पन्न हुँदा नौ वर्षमा अधिवेशन र विधानविनै नौ अध्यक्ष फेरेर कीर्तिमान कायम गर्ने जनसंगठनका रूपमा राष्ट्रिय युवा संघ दर्ज हुनेछ । १८ फागुन ०६९ मा महेश बस्नेत दोस्रोपटक अध्यक्ष भएका थिए । त्यसलगत्तै बस्नेतकै प्रस्तावमा निरु पाल अध्यक्ष भइन् । त्यसपछि क्रमशः राजीव पहारी, रमेश पौडेल अध्यक्ष भए ।

पार्टी एकतापछि पौडेल सहसंयोजक थिए भने संयोजकमा पूर्वमाओवादी समूहको वाइसिएलबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका थिए । एकता भंग भएपछि पुनः रमेश पौडेल, त्यसपछि वचन सिंह अध्यक्ष बने । छोटो समय अध्यक्ष बनेका सिंहले राजीनामा दिएपछि किरण पौडेल अध्यक्ष बने । दशौँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य बनेका पौडेल संघको नवौँ महाधिवेशन सम्पन्न गराएर बिदा हुँदै छन् । त्यससँगै संघले ०६९ यता नवौँ अध्यक्ष चयन गर्नेछ ।