
अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छन् । बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले भने, ‘खेलकुदमा सरकारले कुनै कन्जुस्याइँ नगरी लगानी गर्नुपर्छ । खेलकुदसँग सम्बन्धित मन्त्रालयले पूर्वाधार निर्माणलगायतका काम अगाडि बढाउँदा अर्थ मन्त्रालयको सहयोग हुन्छ ।’
मन्त्री शर्माले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मिहिनेत गरेको बताए । उनले खेलाडीले मिहिनेत गरेअनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार समेत गरे । खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा–सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको बताउँदै सरकारले खेलाडीको सेवा–सुविधा बढाउने विषयमा आफूले पहल गर्ने पनि उनले बताए ।
मन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढेअनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको पनि बताए ।