१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
टेकराज थामी काठमाडौँ
२o८१ बैशाख २० बिहीबार o८:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भूकम्पमा ध्वस्त बनेको ललितपुरको नारायण दरबार पुनर्निर्माण प्राधिकरणको सूचीमै परेन

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२५:oo

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ठीक पछाडि राणा प्रधानमन्त्री वीरशमशेर जबराको पालामा निर्मित एउटा पुरानो दरबार छ । ‘नारायण भवन’नामबाट परिचित दरबार १२ वैशाख ०७२ को भूकम्पमा ध्वस्त बन्यो ।

भूकम्पबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि सरकारले शक्तिशाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्‍यो । भूकम्पबाट क्षतिग्रस्त बनेका मुलुकभरका नयाँ तथा पुराना सबै दरबार पुनर्निर्माणका लागि सूचीकृत भए । तर, सिंहदरबारबाट पाँच किलोमिटर पर अवस्थित जीर्ण दरबार भने सूचीकरणमै छुट्न पुग्यो । जसकारण दरबार भग्नावशेषमा परिणत भएको त छ । कतिसम्म भने दरबारले चर्चेको जग्गासमेत मिचिने क्रम तीव्र भएको छ । सरकारी कर्मचारीको चरम लापरबाहीको उदाहरण बनेको छ यो दरबार ।

दरबारपरिसरकै पश्चिमतर्फ रहेको बागमती प्रदेशअन्तर्गत प्रदेश सुशासन केन्द्रका कार्यकारी प्रमुख विमल पोखरेलले दरबारको पूर्वतर्फका केही जमिन मिचिएको जानकारी दिए । ‘यो दरबार राणाकालीन समयमा बनेको हो । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सूचीकरण हुन छुटेछ । ६ वर्षअघिको भूकम्पले दरबारको भित्री भाग सबै भत्केका छन् । पूर्वतर्फको जमिन पनि मिचिएका छन् । नाप लिँदा चौडाइतर्फको दुई मिटर जमिन पुग्दैन,’ उनले भने ।

दरबारको पूर्वतर्फ साँधमा श्रीहरशमशेर राणाको जग्गा छ । भूकम्पपछि जग्गाको साविकको साँधसीमाभन्दा दुई मिटर वर पर्खाल लगाइएको छ, जुन जीर्ण नारायण भवनको जग्गा हो । चौडाइतर्फबाट दुई र लम्बाइतर्फको १० गरी दरबारको २० मिटरभन्दा धेरै जग्गा मिचिएको देखिन्छ । जग्गामा अहिले युलेन्स स्कुलको किन्डर गार्डेन ब्लक छ । युलेन्सले १० वर्षदेखि लिजमा लिएर जग्गा उपभोग गर्दै आएको छ ।

दरबारस्थित आँगनमा भने बंगलामुखी नामको भव्य नर्सरी फार्म छ । नर्सरी करिब तीन रोपनी जग्गामा फैलिएको छ । आँगनको बीच भागमा राणाकालीन समयमा निर्मित ढुंगेधारा छ । धारा चुरोटका ठुटाले भरिएका छन् । नर्सरीका टनेल दरबारभित्रका पुराना काठले अड्याइएका छन् । आँगनकै दक्षिणतर्फको भागमा नर्सरी कार्यालय र क्यान्टिन सञ्चालनमा छन् । कार्यालय र क्यान्टिन दुवैमा दरबारका काठ प्रयोग भएका छन् ।

२० वर्षदेखि आँगनमा नर्सरी सञ्चालित छ । निकै सस्तो भाडामा राखिएको नर्सरीले एक वर्षदेखि मासिक भाडा तिर्नसमेत छाडेको छ । दरबार रेखदेखको जिम्मा पाएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रमुख बाबुराज श्रेष्ठले नर्सरीले वर्ष दिनदेखि भाडा नतिरेको जानकारी दिए । ‘दरबारको आँगनमा निजी कम्पनीको नर्सरी रहेछ । ऊ २० वर्षदेखि त्यहाँ रहेको बुझिन्छ । पछिल्लो वर्षको उसले भाडासमेत तिरेको छैन । उसलाई हटाउन कोसिस पनि भएको हो, तर सकिएको छैन,’ उनले भने ।

यसरी छुट्यो प्राधिकरणको सूचीकरणबाट 

इतिहासविद् पुरुषोत्तमशमशेर राणाका अनुसार नारायण भवन जावलाखेल दरबारकै एक हिस्सा हो । राणा प्रधानमन्त्री वीरशमशेरले वास्तुकलाविद् जोगलाल स्थापित ‘भाजुमान’लाई १९५४ मा डिजाइन गर्न लगाई दरबार निर्माण गरेका थिए । पछि अर्का राणा प्रधानमन्त्री जुद्धशमशेरले दरबार उपभोग गरे । 

१९९० को भूकम्पमा भत्किएपछि दरबारलाई नयाँ ढंगले बनाइयो । त्यसपछि नारायणशमशेरले दरबार प्रयोग गरे । ०१७ सालको शाही परिवर्तनपछि दरबार नेपाल सरकारको नाममा आयो । त्यसयता दरबारमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको महिला तालिम प्रशिक्षण प्रतिष्ठानको कार्यालय सञ्चालन हुँदै आएको छ । 

१२ वैशाख ०७२ को भूकम्पबाट दरबार जीर्ण बन्यो । दरबारका बुर्जा ढले । बैठक हल भत्कियो । चोटा कोठा चर्किए । छानाबाट खसेका काठपात असरल्ल बने । कोठा बस्नलायक नभएपछि महिला तालिम प्रशिक्षण प्रतिष्ठानको कार्यालय अन्तै सारियो । तर, दरबार पुनर्निर्माण गर्न न महिला तालिम प्रशिक्षण प्रतिष्ठानको ध्यान पुग्यो, न स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले कुनै पहलकदमी लियो । जसकारण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचीमै परेन । परिणामतः दरबार अहिलेसम्म पनि जीर्ण नै रहन पुगेको छ ।

‘पहिलो सूचीकरणमा नारायण दरबार छुट्न पुगेछ । पछि पुनः यस विषयमा कुरा उठेको हो । हामीले बनाउन खोजेका थियौँ । पछि बागमती प्रदेशले दरबार प्रदेशमातहत आएकाले हामी नै बनाउँछौँ भन्ने खालको कुरा गरेपछि हामीले सूचीमा राखेनौँ । सोही कारण दरबार अहिलेसम्म पनि अलपत्र परेको छ,’ प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन प्रमुख बाबुराजा श्रेष्ठले भने दरबार पुनर्निर्माणका लागि पहल गरिएको बताए । ‘दरबार पुनर्निर्माणका लागि कर्मचारीबाट पहल नै नभएको भन्नेचाहिँ होइन । यहाँबाट पत्राचार भएको देखिन्छ । तर, किन प्राथमिकतामा परेन ? त्यो भने बुझ्न सकिएन,’ उनले भने ।

ad
ad