खैरहनी नगरपालिका वडा नम्बर ५, दुर्गामन्दिर टोलकी गीता चौलागाईं पशुचिकित्सकको टोली औषधिसहित घरमा आउँदा छक्कै परिन्। उनको गोठमा रहेको तीनवटामध्ये दुईवटा गाईको मुख तथा गिँजामा पानीफाेका र घाउ थियो। जिब्रोमा पनि सामान्य घाउ देखिन्थ्यो। उनीहरूले चिसोको समय भएकाले गाईलाई कुँडो–पानी तताएर दिन्थे। चिकित्सक पुग्दासमेत उनीहरूलाई थाहा थिएन गाईलाई खोरेत भएको छ भनेर ।
‘हामीलाई त लागेको थियो, तातोपानीले पोलेकाले गाईको मुखमा घाउ भएको हो कि भन्ने’, स्थानीय भेटनरीबाट ल्याएको औषधि देखाउँदै कृषक चौलागाईंले चिकित्सकलाई भनिन्, ‘ तातोपानीले पोल्यो कि भन्ने शंकाले हामीले यो औषधि चलाएका थियौँ।‘
चार दिनदेखि गाई बिरामी भएको र दूध दिन छोडेको सुनेपछि भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका निमित्त प्रमुख कार्यकारी डा. प्रभात न्यौपानेले परीक्षण गरी औषधिका बारेमा जानकारी गराए। छिमेकीकोमा चिकित्सक आएको देखेपछि खैरहनी ६, सर्तनीका अर्जुन वस्ताकोटीले पनि आफ्नो गाईका बारेमा पशु चिकित्सकलाई जानकारी गराए। दुई हप्ताअघि खोरेत देखिएपछि उनले स्थानीय पशु चिकित्सकलाई देखाएर उपचार गराएका रहेछन् ।
‘पहिलेनै जानकारी भएको भए नि:शुल्क उपचार हुँदोरहेछ’, वस्ताकोटीले भने, ‘ ढिलो भए पनि विज्ञ चिकित्सकहरू गोठमा नै आएर पशुको अवस्था हेर्नुभयो ढुक्क भयो।‘ विज्ञ केन्द्रको यो टिम चितवनका विभिन्न गाउँमा खोरत रोगसहित पशु स्वास्थ्य सचेतनामा व्यस्त छ। जिल्लामा पछिल्लोमा समय खोरेत भएका पशुको संख्या बढेको छ। ‘खोरेत देखिएपछि केके उपचार गर्ने भन्ने जानकारी दिन र अवस्था बुझ्न हामी फिल्डमा नै गएर आएका हौँ’, प्रमुख न्यौपानेले भने। उनका अनुसार जिल्लाकामा गाई, भैसी र बंगुरलगायतमा खोरेतको संक्रामण देखिएको छ। वितेका पाँच महिनामा मात्र चितवनका करिब आठ हजार पशुमा यो रोग देखिएको र एक सय गाईभैँसी र नाै सय बंगुरको मृत्यु भएको अनुमानित तथ्यांक उनीसँग छ।
‘खोरेतले प्रत्यक्ष रुपमा दूध उत्पादन घटेको देखिन्छ’, न्यौपानेले भने, ‘ दैनिक रूपमा पाँच हजार लिटर दूध उत्पादन खोरेतका कारण कम भएको उनी बताउँछन्। संचेतनासँगै नि:शुल्क रूपमा खोरेतविरुद्धको खोप अभियान पनि आफूहरूले सञ्चालन गरेको उनले बताए।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगालेका अनुसार चितवनमा ६८ हजार ६ सय ११ दुधालु गाई र भैँसी छन्। जसबाट दैनिक तीन लाखभन्दा बढी लिटर दूध उत्पादन हुन्छ। चितवन जिल्ला दूधमा आत्मनिर्भ जिल्ला पनि हो। जिल्लामा खोरेतको कारण बर्सेनि उत्पादनमा असर पर्ने गरेको भन्दै नीतिगत रूपमा नै राज्यले खोरेत नियन्त्रणमा चासो देखाउनुपर्ने उनी बताउँछन्।
के हो खोरेत ?
पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार खोरेत खुरफट्टा जनावरहरूमा लाग्ने अति छिटो पिकोर्ना जातिको विषाणुबाट सर्ने सरुवा रोग हो। पशुमा ज्वरो आउने, –याल चुहाउने, लंगडाउने, दुधालु गाई–भैँसीको दूध उत्पादन घट्ने, मुख/खुरको कापको साथै थुतुनो र थुनमा पानीजस्तो तरल पदार्थ भरिएको ससाना फोकाहरू देखिएमा खोरेत हुन सक्छ। यो समयमा पशुले खान मन गर्दैन।
खोरेत रोग लागेको जनावरसँग सम्पर्क भएमा वा दूषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रूपमा फैलने गर्दछ। खोरेत देखिएमा उक्त पशुको स्यार छुट्टै गर्नु राम्रो हुन्छ। यो रोगको कारण अन्यको तुलनामा बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरू अत्यधिक संख्यामा मर्ने गर्दछन्। यसका लागि जैविक सुरक्षामा ध्यान दिनुपर्ने डा. आचार्य बताउँछन्।