मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सुवास भट्ट काठमाडाैं
मञ्जु टेलर काठमाडाैं
अर्जुन अधिकारी काठमाडाैं
२०७८ पौष ३० शुक्रबार ०६:२१:००
Read Time : > 5 मिनेट
Read Time : > 5 मिनेट
सुवास भट्ट, काठमाडाैं
मञ्जु टेलर, काठमाडाैं
२०७८ पौष ३० शुक्रबार ०६:२१:००

तेस्रो लहरको सुरुवातमै काठमाडौंसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ । तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रणको प्रभावकारी पहल नभए उपचार प्रणाली नै प्रभावित हुने जोखिम पनि छ । 

काठमाडौंका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित

टिचिङ अस्पतालमा ६५, वीर अस्पतालमा ३५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित

जिल्लाका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै

दाङमा २७, भरतपुर अस्पतालमा १५, गोरखाको आँपपिपल अस्पतालमा चार, बाँकेमा चार, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा एक, मेची अस्पताल झापामा एक, पर्सामा दुई, सिराहाको नगयनपुर अस्पतालमा चार र महोत्तरीमा दुई स्वास्थ्यकर्मी संक्रमित

खोप लगाउन ठेलमठेल

सरकारी स्टोरमा कोरोनाविरुद्धको करिब एक करोड डोज खोप मौज्दात छ । तर, त्यसको सुलभ र व्यवस्थित वितरण नहुँदा संक्रमणको जोखिम झन् बढेको छ । सरकारले नै सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, खोप लगाइरहेका सीमित ठाउँमा सर्वसाधारणको ठेलमठेल भिड छ । यसले संक्रमणबाट जोगिन खोप लगाउन जाने नागरिक उल्टै संक्रमित भएर फर्किने जोखिम पनि बढाएको छ । 

तस्बिरमा देखिएको भिड टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा बिहीबार खोप लगाउने सर्वसाधारणको हो । यो लाइन बाहिर मुख्य सडकसम्मै पुगेको थियो । खोप वितरण भइरहेका सबै स्वास्थ्य संस्थामा यस्तै भिड छ । पछिल्लो २४ घन्टामा देशभर तीन लाख ५६ हजार चारजनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तस्बिर : संजित परियार/नयाँ पत्रिका

....                                                        ...

संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरू नै संक्रमणको जोखिममा पर्न थालेका छन् । पछिल्ला पाँच दिनमा त्रिवि शिक्षण अस्पतालमा मात्रै ६५ स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको छ ।

अस्पतालका कोरोना फोकलपर्सन तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बमका अनुसार एकै वार्डका नौजना स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ । ‘कोभिड संक्रमण बढ्न थालेपछि सेवा नै प्रभावित हुन लागेको छ,’ उनले भने । संक्रमितमध्ये एकजनाबाहेक सबैलाई सामान्य लक्षण देखिएको छ । ज्वरो, हल्का जिउ दुख्ने, रुघाखोकीलगायतका लक्षण उनीहरूमा छन् । एकजनालाई भने अस्पताल नै भर्ना गरिएको छ । 

टिचिङका कोभिड संयोजक प्रा.डा. सन्तकुमार दासका अनुसार सुरुमा मेडिकल आइसियू वार्डमा उपचाररत एकजना बिरामीमा संक्रमण पुष्टि भएपछि सो वार्डमा कार्यरत सबै स्वास्थ्यकर्मीमा पनि संक्रमण विस्तार भएको हो । यो वार्डका सबै ‘स्टाफ’मा संक्रमण देखिएको छ । 

त्यस्तै, वीर अस्पतालमा पनि ओमिक्रोन देखिन सुरु भएयता ३५ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । वीरको कर्मचारी युनियनका सचिव दीपक मुडवरीले स्वास्थ्यकर्मी संक्रमित भए पनि सेवामा कुनै असर नपरेको बताए । उता, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि २५ जना संक्रमित भइसकेको अस्पतालका डा. रवि शाक्यले बताए । 

नेपाल प्रहरी अस्पतालमा पनि स्वास्थ्यकर्मी तथा चिकित्सकमा संक्रमण देखिन थालेको छ । ‘धेरै साथीहरूमा संक्रमण देखिएको छ,’ अस्पतालकी प्रमुख एआइजी डा. आशा सिंहले भनिन्, ‘ठ्याक्कै कतिजनामा संक्रमण देखियो तथ्यांक भएन, तर संक्रमणचाहिँ बढेको छ ।’ स्रोतका अनुसार अस्पतालका १० जनाभन्दा धेरै स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका चार स्वास्थ्यकर्मीमा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले बताए । ‘यही रूपमा संक्रमण बढ्दै गएमा उपचारमै समस्या आउँछ,’ उनले भने, ‘त्यसकारण हामीले थप सावधानी अपनाउन थालेका छौँ ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि चारजनामा संक्रमण देखिएको छ । 

अहिलेकै रफ्तारमा स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गए सेवा नै प्रभावित हुने चिन्ता बढ्न थालेको छ । डेल्टा भेरियन्टभन्दा ओमिक्रोन तीव्र गतिमा फैलिने भएकाले अधिकतम सचेतना अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । 

टिचिङका कोभिड संयोजक डा. दासले स्वास्थ्यकर्मीमा संक्रमण देखिए पनि सेवा प्रवाहमा समस्या नआउने बताए । ‘कोरोना देखिएकाले सेवा प्रवाहमा कुनै समस्या आउँदैन । अहिले व्यवस्थापन भइसकेको छ । मेडिकल आइसियू वार्डमा कुनै पनि बिरामी राखिएको छैन । पजिटिभ आएकालाई कोभिड वार्डतिर सारिएको छ,’ उनले भने, ‘कर्मचारी घटेकाले लोड केही बढ्न सक्छ, तर सेवा प्रवाहमा कुनै समस्या आउँदैन ।’ 

करार कर्मचारीको अवधि थप 
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दीअनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई दरबन्दीअनुसार जनशक्तिको व्यवस्थापन र करारमा लिएका जनशक्तिको अवधि तीन महिना म्याद थप गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनका अनुसार बिहीबार नै ती अस्पताललाई दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न र करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मी र कर्मचारीको माघदेखि तीन महिनासम्म अवधि थप गर्न निर्देशन दिइसकेको छ ।

बढी प्रभावित जिल्ला
पाँच सयभन्दा बढी संक्रमण मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लामा देखिएका छन् । यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, चितवन मकवानपुर, बाँके, रुपन्देही र कैलाली छन् । शून्य संक्रमित भएका जिल्लामा मुगु मात्र छ । 

उपत्यकामा आठ हजारभन्दा बढी सक्रिय संक्रमित 
काठमाडौं उपत्यकामा संक्रमणदर दैनिक बढ्दै गएको छ । बिहीबार मात्रै काठमाडौंमा एक हजार चार सय ४९, ललितपुरमा तीन सय १७ र भक्तपुरमा एक सय ५० संक्रमित थपिएका छन् । योसँगै काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या आठ हजार तीन सय ९६ पुगेको छ । 

उपत्यकामा अस्पताल भर्नादरसमेत बढ्न थालेको छ । हाल चार सय तीनजना अस्पतालमा उपचाररत छन् । जसमध्ये एक सय ९६ जना जनरल वार्डमा, एक सय ६२ जना एचडियू र ४५ जना आइसियूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरणअनुसार सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ५५, वीरेन्द्र अस्पताल छाउनीमा एक सय ६०, वीर अस्पतालमा ४१ र नेपाल प्रहरी अस्पतालमा २६ जना संक्रमित उपचाररत छन् । टेकुमा १२, टिचिङ अस्पतालमा २१, पाटन अस्पतालमा ४३, सिभिलमा ११, भक्तपुरमा दुई, राष्ट्रिय आयुर्वेद अनुसन्धानमा ३१ जना संक्रमित छन् । 

६५ स्वास्थ्यकर्मी संक्रमित भए, तर कुनै पनि सेवा रोकिँदैन : प्रा.डा. सन्तकुमार दास कोभिड संयोजक, शिक्षण अस्पताल

सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने शिक्षण अस्पतालमा संक्रमण फैलिएको छ, अहिले कस्तो छ अवस्था ? 
शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत कर्मचारीमध्ये ६५ जना कोरोना संक्रमित भएका छन् । एकजनाबाहेक सबैलाई सामान्य लक्षण देखिएको छ । एकजनालाई भने अस्पताल भर्ना गरिएको छ । अरूमा चाहिँ सामान्य ज्वरो आउने र हल्का जिउ दुख्ने लक्षण देखिएको छ ।

कहिलेबाट संक्रमण बढ्यो टिचिङमा ?
विगत पाँच दिनदेखि शिक्षण अस्पतालमा कोरोना संक्रमण फैलिएको छ । मेडिकल आइसियू वार्डबाट संक्रमण फैलिएको पुष्टि भएको छ । एकजना बिरामीमा संक्रमण पुष्टि भएसँगै सोही वार्डमा कार्यरत सबै कर्मचारी संक्रमित हुन पुगेका छन् । मेडिकल आइसियू वार्डका सबै कर्मचारीलाई कोरोना पजिटिभ देखिएको छ ।

अस्पतालको सेवा प्रवाहमा केही समस्या हुन्छ कि ?

कोरोना देखिएकाले सेवा प्रवाहमा कुनै समस्या आउँदैन । अहिले व्यवस्थापन भइसकेको छ । मेडिकल आइसियू वार्डमा कुनै पनि बिरामी राखिएको छैन । पजिटिभ आएकालाई कोभिड वार्डतिर सारिएको छ । अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको अवस्था हो । यो विगतमा देखिएको डेल्टा भाइरस नभएर नयाँ ओमिक्रोन हो । जसले पाँच दिनमा यति धेरै संक्रमण गराउन सफल भयो । 

टिचिङको सेवा प्रवाह प्रभावित हुँदैन । बिहानै सबै केसहरूको व्यवस्थापन भइसकेको छ । कर्मचारी घटेकाले लोड केही बढ्न सक्छ, तर कुनै पनि सेवा रोकिँदैन । 

आगामी दिनमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमणको जोखिम त बढ्यो नि ? 

यही रूपले संक्रमण फैलिँदै गए तीन–चार हप्ता केस तीव्र रूपमा बढ्छ । त्यसपछि बिस्तारै कम हुन थाल्छ । यसबीचमा सबैलाई संक्रमण हुन्छ । तर, गम्भीर हुने दर डेल्टाजस्तो हुन्छ वा हुँदैन अहिले भन्न सक्ने अवस्था छैन । अस्पतालमा बिरामी भर्नादर बढ्न थालेको छ । ६ दिनअगाडिसम्म अस्पतालमा १२ जना संक्रमित भएकोमा हाल अचानक बढेका छन् । 

कर्मचारीमा संक्रमण बढ्न थालेपछि प्रशासनिक सेवा पनि प्रभावित हुँदै

  • प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा । मन्त्रीहरू पनि कोही आइसोलेसनमा, कोही कन्ट्याक्ट ट्रेसिङमा । मन्त्रिपरिषद्का नियमित दुई बैठक बस्न सकेन ।
  • कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख सचिव रामप्रसाद थपलिया संक्रमित । केन्द्रको बैठक बस्न सकेको छैन । 
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना र आपूर्तिसचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । 
  • मुख्यसचिव शंकरदास बैरागीदेखि परराष्ट्रसचिव भरतराज पौड्यालसम्म कन्ट्याक्ट ट्रेसिङमा । सिंहदरबारभित्र कैयौँ कर्मचारी संक्रमित भए पनि एकीकृत तथ्यांक छैन । 
  • सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्कालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सर्वोच्चकै मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अन्य आठजना कर्मचारी पनि संक्रमित भएका छन् । 
  • महालेखापरीक्षक कार्यालयका ६–७ जनामा संक्रमण पुष्टि भएको छ ।
  •  काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल पनि संक्रमित भएर आइसोलेसनमा छन् । 
  • अध्यागमन विभागमा आठजनामा संक्रमण पुष्टि भएको छ । 

...                                   ...

कोभिड संक्रमण बढ्दै जाँदा सरकारी सेवा नै प्रभावित हुन थालेको छ । संक्रमण तीव्र गतिमा फैलिन थालेपछि यसले नीतिगत तहदेखि नागरिकलाई सार्वजनिक सेवा प्रवाह गर्ने निकायसम्ममा प्रभावित गरेको छ । 

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नै आइसोलेसनमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड संक्रमण पुष्टि भएपछि उनीसँगै बैठकमा सहभागी भएका देउवा पनि आइसोलेसनमा बसेका हुन् । 

प्रधानमन्त्री स्वयं आइसोलेसनमा रहेका र मन्त्रीहरू पनि कोही आइसोलेसनमै रहेका तथा कोही कन्ट्याक्ट ट्रेसिङमा परेकाले मन्त्रिपरिषद् बैठक नै बस्न सकेको छैन । २१ पुसयता मन्त्रिपरिषद् बैठक बस्न नसकेको हो । एक सातामा मन्त्रिपरिषद्का दुईवटा नियमित बैठक बस्ने चलन छ ।

विभिन्न सरकारी कार्यालयका शीर्ष तहका कर्मचारीहरूमा पनि कोरोना संक्रमण देखिन थालेको छ । कोभिड संक्रमण नियन्त्रणको समन्वय गर्ने कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख सचिव रामप्रसाद थपलिया नै संक्रमित भएका छन् । प्रमुखलाई नै संक्रमण पुष्टि भएका कारण केन्द्रको बैठक बस्न सकेको छैन । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना र वाणिज्य तथा आपूर्तिसचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । मुख्यसचिव शंकरदास बैरागीदेखि परराष्ट्रसचिव भरतराज पौड्यालसम्म कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । 

संक्रमण तीव्र बन्दै जाँदा सिंहदरबारभित्रै कैयौँ कर्मचारी संक्रमित भएका छन् । संक्रमितको एकीकृत तथ्यांक भने आएको छैन । पाँच हजारजना कर्मचारी रहेको सिंहदरबारमा संक्रमित बढिरहँदा सेवा नै प्रभावित भएको छ । 

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्कालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सर्वोच्चकै मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अन्य आठजना कर्मचारी पनि संक्रमित भएका छन् । महालेखापरीक्षक कार्यालयमा संक्रमण फैलिएको छ । 

६–७ जनामा संक्रमण पुष्टि भएको कार्यालयका एक कर्मचारीले बताए । त्यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल पनि संक्रमित भएर आइसोलेसनमा छन् । अध्यागमन विभागमा पनि आठजनामा संक्रमण पुष्टि भएको छ ।