१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
अर्जुन अधिकारी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:१८:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

७५ जिल्लामा कोरोना, नौ जिल्ला उच्च जोखिममा

मनाङ र मुगुमा सक्रिय संक्रमित छैनन्

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१८:oo

जहाँ २०० भन्दा बढी सक्रिय संक्रमित छन् : काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, सुनसरी, मोरङ, कैलाली,  बाँके, चितवन

पछिल्लो दुई दिनमा व्यापक विस्तारसँगै देशका ७५ जिल्लामा कोरोनाका संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मुगु र मुस्ताङबाहेक अन्य जिल्लामा कोरोना संक्रमति भेटिएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० छ । गत १६ पुसदेखि क्रमशः कोरोना संक्रमण बढ्न थालेको हो । तथ्यांकअनुसार १६ पुसमा ७० जिल्लामा ‘एक्टिभ’ कोरोना संक्रमित थिए, जब कि २८ पुसमा पुग्दा एक्टिभ संक्रमित भएका जिल्ला ७५ पुगेको छ । ओमिक्रोन जोखिम कम गर्न सरकारले खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार १६ पुसमा हिमाली क्षेत्रमा पर्ने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, मुगु, हुम्ला र बाजुरा जिल्ला कोरोनामुक्त थिए । तर, २८ पुसमा पुग्दा मुगु र मुस्ताङबाहेक अन्य जिल्लामा संक्रमण पुगेको छ ।

संक्रमण पुगेको ७५ मध्ये नौ जिल्ला उच्च जोखिममा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी छन् । यी जिल्लामा संक्रमण फैलिने दर पनि बढी छ । त्यसैबीच देशभर पछिल्लो २४ घन्टामा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देखिएको नयाँ संक्रमितभन्दा यो ६ सय ३१ ले बढी हो । उपत्यकाका तीन जिल्लामा बुधबार र एक हजार पाँच सय ३८ नयाँ संक्रमित थपिएका छन् । 

काठमाडौंमा एक हजार एक सय २८, ललितपुर दुई सय ३६ र भक्तपुरमा एक सय ३४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये नौ हजार ५१ को पिसिआर र तीन हजार नौ सय ८५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

पछिल्लो २४ घन्टामा जम्मा परीक्षणमध्ये संक्रमित २७ प्रतिशत छ । यो अवधिमा १३ हजार ३६ को नमुना परीक्षण गरिएको थियो । यही अवधिमा दुई सय ७८ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घन्टामा कोरोनाबाट दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

विश्वस्तरमा नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालमा पनि संक्रमण दिनहुँ बढ्दो छ । अहिलेसम्म नेपालमा २७ जनामा ओमिक्रोन पुष्टि भएको छ । दैनिक ठूलो संख्यामा एस जिन नेगेटिभ पुष्टि भइरहेको अधिकारीहरूले बताएका छन् । एस जिन नेगेटिभ देखिएका सबैमा ओमिक्रोन पुष्टि भएकाले नेपालमा संक्रमण बढ्नुमा पनि ओमिक्रोन मुख्य कारण भएको बताइएको छ । तर, हाल देखिएका सबै संक्रमणलाई ओमिक्रोन हो/होइन भनेर पुष्टि गर्न एस जिन सिक्वेन्सिङ भएको छैन । 

यसैबीच सरकारले कोरोना फैलिएपछि मौज्दात खोपलाई जतिसक्दो चाँडो प्रयोगमा ल्याउन अभियान सुरु गरेको छ । थप मात्रा रोकेर स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा नपाएकालाई दिने बताएको छ । एक करोड दुई लाख ६० हजार नौ सय ७० मात्रा मौज्दात रहेको छ । हाल एक लाख ५० हजारदेखि २ लाखसम्मले दैनिक खोप लगाइरहेका छन् । 

हालसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय २७ मात्रा खोप प्राप्त भएको छ । उक्त खोपमध्ये एस्ट्राजेनेका/कोभिसिल्ड एक करोड २५ लाख २४ हजार पाँच सय ६०, भेरोसेल एक करोड ८५ लाख ५१ हजार चार सय ८७, जोन्सन ३७ लाख ११ हजार पाँच सय, मोडर्ना ३६ लाख ५१ हजार दुई सय र फाइजर सात लाख ६५ हजार एक सय ८० मात्रा आएको छ । 

तर, पर्याप्त सिरिन्ज नहुँदा खोप अभियान सुस्त छ । फाइजरका लागि सिरिन्ज भए पनि अन्य खोपका लागि कम छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार हाल देशभर ३० लाख २४ हजार आठ सय सिरिन्ज बाँकी छ । दैनिक रूपमा दुई लाखले खोप लगाइरहे १५ दिनलाई भन्दा बढीलाई सिरिन्ज पुग्ने देखिँदैन । 

व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीका अनुसार हाल भएको सिरिन्जले १० देखि १५ दिनलाई पुग्छ । तर, सरकारको लक्ष्यअनुसार दैनिक पाँच लाखले लगाएको अवस्थामा भने एक हप्ताभन्दा बढी खोप अभियान चल्न सक्दैन । 

मरासिनीका अनुसार कोभ्याक्समार्फत जनवरी २० मा १२ लाख ९६ हजार सिरिन्ज आउँदै छ । त्यस्तै, सरकारले दुई करोड सिरिन्ज खरिद गर्न लागेको छ, त्यसमध्ये ५० लाखको टेन्डर भइसकेको छ । टेन्डर भएको सिरिन्ज १५ दिनभित्र आउने अधिकारीहरूको अनुमान छ । चीनले २० लाख सिरिन्ज दिने वचन दिएको छ । तर, मिति टुंगो लागेको छैन । 

धेरैभन्दा धेरैलाई खोपको दायरामा ल्याएर जोखिममा रहेकालाई पहिचान गरी उनीहरूलाई बुस्टर डोज दिनसमेत चिकित्सकहरूले सुझाएका छन् । भेला, महोत्सव, मेला, सभा–सम्मेलन, भौतिक रूपमा विद्यालय र भिडभाड हुने ठाउँलाई स्मार्ट लकाडाउनमार्फत व्यवस्थित गर्न जरुरी रहेको उनीहरूको भनाइ छ ।

एक करोड दुई लाख डोज खोप मौज्दात, सिरिन्ज ३० लाख मात्रै
अहिले देशभर एक करोड दुई लाख ६० हजार नौ सय ७० मात्रा खोप मौज्दात छ । सिरिन्ज भने ३० लाख २४ हजार मात्रै छ । दैनिक पाँच लाखसम्मलाई खोप दिने 

सरकारी लक्ष्य भए पनि पर्याप्त सिरिन्ज नहुँदा प्रभावित भएको छ । दैनिक एक लाख ५० हजारदेखि दुई लाखसम्मले मात्रै खोप लगाइरहेका छन् । फाइजरबाहेक खोपका लागि सिरिन्ज सीमित छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीका अनुसार अहिलेकै दरमा खोप लगाउँदा पनि हाल मौज्जात ३० लाख २४ हजार सिरिन्जले १० देखि १५ दिनलाई मात्रै पुग्छ । 

सिंहदरबार प्रवेशमा कडाइ, सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज

कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । बुधबार गृह मन्त्रालयले सूचना जारी गर्दै हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका  पास, अस्थायी परिचयपत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने व्यवस्था गरिएको गृहले जनाएको छ । सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने यसपूर्व जारी भएका पास, अस्थायी परिचयपत्रहरूबाट नै प्रवेश दिने भनिएको छ ।

सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहहरूको हकमा बिहीबार एक दिनका लागि यसपूर्व जारी भएका पास र अस्थायी परिचयपत्रहरूबाट नै प्रवेश दिइनेछ । पत्रकारको हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा नै प्रवेश दिने मन्त्रालयले बताएको छ । कोरोनाको जोखिम बढ्दै गएकाले कडाइ गर्नुपरेको मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘भिडभाडले संक्रमणको जोखिम बढाएकाले त्यसलाई कम गर्न प्रवेशमै कडाइ गरिएको हो,’ उनले भने । 

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा अहिले पाँच हजारको हाराहारीमा कर्मचारी छन् । कोभिडको संक्रमण बढ्दै जाँदा सिंहदरबारभित्रै कैयौँ कर्मचारी संक्रमित भएका छन् । 

ad
ad