Skip This
बतासलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो : अब तपाईंहरूको अक्सिजन प्लान्ट चाहिँदैन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Saturday, 27 July, 2024
२o७८ पौष २५ आइतबार १९:o२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बतासलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो : अब तपाईंहरूको अक्सिजन प्लान्ट चाहिँदैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार १९:o२:oo

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले बतास फाउन्डेसनले दिने भनिएको अक्सिजन प्लान्ट अब आवश्यक नरहेको बताएको छ। अस्पतालले आवश्यकता परेको वेला प्लान्ट नपाएको भन्दै अब आवश्यक नरहेको प्रस्ट्याएको हो।

प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले अब अक्सिजन प्लान्ट आफूहरूलाई आवश्यक नरहेको जानकारी बतास अर्गनाइजेसनलाई दिइसकेको नयाँ पत्रिकालाई जानकारी दिए। उनका अनुसार बतासको तर्फबाट दुई दिनअगाडि (शुक्रबार) मात्र अशोक नाम गरेका व्यक्तिले चासो राखेका थिए। 

त्यसको प्रतिउत्तरमा प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र डिनलगायतसँग छलफल गरेर बतासको प्लान्ट आवश्यक नरेको जानकारी दिइएको डा. खत्रीले बताए। ‘मलाई ठ्याक्कै थर याद भएन। बतासको तर्फबाट अशोकजीले मेल गरेर के छ अवस्था ? भन्नुभएको थियो। मैले उपकुलपति, डिन र रजिस्टारसँग छफलफल गरेर अब आफूहरूलाई अक्सिजन प्लान्ट आवश्यक नपर्ने जवाफ लेखेर पठाएको छु,’ निर्देशक डा. खत्रीले भने। 

निर्देशक डा. खत्रीका अनुसार प्रवासी नेपाली मञ्च र स्वास्थ्य मन्त्रालयकै सहयोगमा अस्पताल हातामा दुईवटा अक्सिजन प्लान्ट जडान भएर काम सुरु भइसकेकाले अब थप अर्को मेसिन आवश्यक नभएको हो। ‘जतिवेला हामीलाई अक्सिजनको आवश्यकता थियो, त्यतिवेला पाइएन। अहिले अवस्था सहज छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय र प्रवासी नेपाली मञ्चका तर्फबाट दुईवटा प्लान्ट जोडेर काम भइरहेको छ। अब बतास अग्रनाइजेसनको तर्फबाट जोडिने भनिएको अक्सिजन प्लान्ट हामीलाई आवश्यक परेन। उक्त प्लान्ट अन्यत्र पठाउँदा हुन्छ भनेका छौँ,’ उनले भने। प्रतिष्ठानमा अहिले दुईवटा अक्सिजन प्लान्ट जोडिएको छ। अर्को एउटा प्लान्ट रेट्रोफिटिङको क्रममा जोडिनेछ। अब यति भएपछि अस्पतालका लागि अक्सिजन अभाव नहुने निर्देशक डा. खत्री बताउँछन्। 

अक्सिजन अभावका ती दिन र  प्लान्ट बनाउने घोषणासहितको अभियान
गत १४ जेठको बिहानै पोखरा र सिंगो देशकै लागि दुखद् समाचार पोखराबाट बाहिरियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभावले अस्पताल भर्ना भएका कोरोना संक्रमित बिरामीहरूको निधनको खबर बाहिरिँदा नै बतास फाउन्डेसन बनाएर अक्सिजन प्लान्ट जोड्न भन्दै अभियान चलाइसकेको थियो। 

प्राणवायुको रूपमा लिइने अक्सिजन प्लान्ट जोड्ने भनेपछि पोखराका प्रतिष्ठित उद्योगपति, उद्योगी, समाजसेवी मात्र होइन सर्वसाधारणले समेत उक्त अभियानलाई साथ दिए। तत्काल अक्सिजन प्लान्ट जोड्ने बताएको बतास फाउन्डेसनले अझैसम्म पनि अक्सिजन प्लान्ट जोडेको मात्र होइन, ल्याउने सुरसार नै गरेन। फ्रान्सबाट २५/२६ दिनमै अक्सिजन प्लान्ट ल्याउन सकिने बताएका बतास फाउन्डेसनका अध्यक्ष आनन्द बतासले प्लान्ट किनेको भए पनि सरकारले सहयोग नगरेको कारण ल्याउन नसकेको बताएका छन्। उनले प्लान्टका लागि रकम बुझाइसकेको र माघसम्म प्लान्ट अस्पतालमा जोड्ने सञ्चारमाध्यमबाटै सार्वजनिक पनि गरेका छन्। तर, उक्त अभियानमा साथ दिएकाहरू निराश देखिएका छन्।
 
प्राणवायुको रूपमा लिइने अक्सिजन प्लान्ट जोड्ने भनेपछि साथ दिएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले अब माघमा प्लान्ट जोड्ने कुरा सुन्दा आफूलाई निराश बनाएको बताए। ‘अक्सिजनको अभावले कोरोना संक्रमित छट्पटाइरहेको वेला प्लान्ट जोड्ने भनेपछि आँखा चिम्लेर सहयोग गरियो। तर, बल्ल सञ्चारमाध्यममा आनन्द बतासको अन्तरवार्तामा माघमा प्लान्ट जोड्ने भन्ने सुनेँ। यसले म मात्र होइन यो अभियानमा जोडिनेहरूलाई निराश बनाएको छ। यसलाई कुन शब्दले के भन्ने मसँग शब्द नै छैन,’ उनले भने। उक्त अभियानलाई देवकोटा अध्यक्ष रहेको नेलम्बो नेपालले तीन लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो। 

यसरी चलाइएको थियो अभियान
पोखराको व्यासायिक समूह बतास अर्गनाइजेसनको अगुवाइमा यहाँका व्यवसायीहरूले पोखरा क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट जोड्न भन्दै आर्थिक अभियान नै चलेको थियो। बतास फाउन्डेसन गठन गर्दै चलाइएको यो अभियानमा यहाँका प्रतिष्ठित व्यावसायिक घराना र सर्वसाधारणसमेतले साथ दिएका थिए। यो अभियानबाट तीन करोड रुपैयाँभन्दा धेरै रकम संकलन भइसकेको छ। बतास अर्गनाजेसनका अध्यक्ष आनन्द बतास स्वयंले तीन करोडभन्दा बढी रकम संकलन गरिएको सार्वजनिक गरिसकेका छन्। 

अभियानमा आनन्द बतासले बतास फाउन्डेसनमार्फत २५ लाख र मातहतका विभिन्न कम्पनीमार्फत २५ लाख गरेर कुल ५० लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए। त्यस्तै, अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल, सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्रधानांग, स्वर्गीय समाजसेवी सूर्यबहादुर केसीको स्मृतिमा केसी ग्रुप, सुपरमादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुंगाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बिरिभर माइनिङ प्रालिले २५–२५ लाख रुपैयाँ सहयोग घोषणा गरेका थिए। योसहित विभिन्न व्यावसायिक प्रतिष्ठान र व्यवसायीको तर्फबाट समेत गरी तीन करोडभन्दा धेरै रकम उठाइएको हो। ‘रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान नाम दिइएको अभियानमा झन्डै चार करोडको हाराहारीमा रकम उठेको हुन सक्ने उक्त अभियानमा साथ दिएका एक अभियन्ता दाबी गर्छन्।