मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २३ शुक्रबार ०८:४६:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पैसा कमाउने गरी मेरो  गीत नगाउनुहोस् मात्रै भनेकी हुँ : रेखा शाह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २३ शुक्रबार ०८:४६:००

गायिका रेखा शाहलाई ‘सिमसिमे पानीमा ...’ बोलको गीतले चर्चाको शिखरमा पुर्‍यायो । यति मात्रै होइन, यही गीतले रेडियो नेपालमा गाएर स्वर्ण पदक पनि दिलायो । यसबाहेक उनले ‘नजिक छौ तिमी...’, ‘साँइली माइली...’, ‘तिमीलाई केही...’, लगायतका थुप्रै गीत गाइसकेकी छन् । उनै शाहसँग नेपाली गीत–संगीतमा पछिल्लो समय देखिएको परिवर्तनको विषयमा केन्द्रित रहेर नयाँ पत्रिकाले गरेको कुराकानी :

तपाईंका गीत विभिन्न रियालिटी सोहरूमा अनुमतिविना गाएको भन्दै आपत्ति जनाउनुभएको छ । यस्ता सोमा पुराना स्रष्टाको गीत गाइदिँदा झन् खुसी हुनुपर्ने होइन र? 
रियालिटी सोमा हाम्रो गीत गाउनु त राम्रौ कुरा हो । मेरो गीत पनि रियालिटी सोमा गाउँदा खुसी हुन्छु । तर, रियालिटी सोबाट विजेता भइसकेपछि स्टेज कार्यक्रममा चाहिँ मलगायत पुराना स्रष्टाको गीत नगाउनु भनेकी हुँ । हुन त अहिलेका भाइबहिनीहरू संगीत बुझेरै आउनुभएको छ । संगीत र अनुशासन पनि सिकेर आउनुभएको छ । तर, जानीजानी अग्रज स्रष्टाको गीत बिगारेर प्रयोग गर्दा दुःख लाग्छ । आर्थिक उपार्जन गर्ने कार्यक्रममा हाम्रा गीत नगाइदिनुस् भन्न खोजेकी हुँ । गाउँदैनगाउनु भन्न खोजेको होइन ।

‘सिमसिमे पानीमा...’ पहिलो गीतबाटै चर्चामा आउनुभयो । यो गीत गाउने अवसर कसरी जुरेको थियो ?
मैले त्यो गीत गाएको २९ वर्ष पुग्यो । त्यसवेला रेडियो नेपालले अधिराज्यव्यापी लोकगीत प्रतिस्पर्धा गर्थ्यो । उक्त प्रतियोगितामा मैले आफ्नै शब्द र संगीतमा ‘सिमसिमे पानीमा...’ गीत गाएकी थिएँ । यो गीत प्रथम भएको थियो । मलाई यही गीतले सबैले चिन्नुहुन्छ । 

गीत चल्न अहिले युट्युबमा ट्रेन्डिङमा पर्नुपर्छ, अझ टिकटकमा चार्चा भयो भने गीत चल्यो भन्छन् । गीत चले–नचलेको मापन युट्युब र टिकटकको ट्रेन्डिङले गर्ने हो र ?
पहिला गीत राम्रो भयो भने मात्रै चल्थ्यो । अहिले चाहिँ प्रचार गर्‍यो भने मात्रै गीत चल्छ । अहिले राम्रो गीत पनि प्रचार भएन भने नचलेको ठहर्छ । गीत भाइरल बनाउन टिकटक बनाउनुपर्छ रे । अझ गीत प्रचारका लागि टिकटकमा धेरै फलोअर्स भएकालाई पैसा तिर्नुपर्छ भनेको पनि सुनेकी छु । तर, यस्ता गतिविधिले विकृति भित्र्याएको जस्तो लाग्छ । म युट्युबको ट्रेन्डिङमा आएर मात्रै गीत चल्छ भन्ने मान्यता राख्दिनँ । 

अहिले विभिन्न रियालिटी सोहरू भित्रिएका छन् । यस्ता कार्यक्रमले साँच्चै प्रतिभा खोजिरहेको जस्तो लाग्छ ?
प्रतिभा प्रस्फूटनका लागि कुनै न कुनै माध्यम त चाहिन्छ नै । यस्ता रियालिटी सोहरूले प्रतिभा पहिचानमा राम्रै काम गरेका छन् । हाम्रो समयमा यस्ता रियालिटी सोहरू थिएनन् । विदेशका रियालिटी सोहरू मात्रै हेर्न पाइन्थ्यो । 

नेपाली बजारमा गीत ल्याउने होडबाजी चलेको छ, यसलाई कसरी लिनुहुन्छ ? 
संख्यात्मकभन्दा गुणात्मकतामा म जोड दिन्छु । गीत कतिको स्तरीय छ भन्ने कुराले महत्व राख्छ । अहिले हप्तामै दर्जनभन्दा बढी गीत रिलिज हुने गरेको सुन्छ । यस्ता गीतले नेपाली संगीत उद्योगलाई के दिन्छ, र समाजमा कस्तो सन्देश प्रवाह गर्छ भन्ने महत्वपूर्ण कुरा हो । अरूको गीत तानतुन गरेर पनि गीत बन्न थालेका छन् । गीत रेकर्ड गर्न सजिलो छ । पहिला गीत गाउने कलाकारको अनुहार कसैले चिन्दैनथ्यो, अहिले गीतसँगै कलाकारलाई पनि चिन्छन् । त्यतिवेलाको गीत सुनिन्थ्यो, अहिले हेरिन्छ पनि ।

नेपाली गीत–संगीतको मन नपर्ने पक्ष के हो ? 
स्रष्टाले आफ्नो सिर्जना बाहिर ल्याउँदा सचेत र सजग हुनुपर्छ । अहिलेका गीतमा बढी ‘भल्गर’ र द्विअर्थी शब्द प्रयोग भएका छन् । परिवार सबै सँगै बसेर सुन्न नसक्ने गीत पनि बनेका छन् । 

यस्ता गीतले संगीत बजारलाई राम्रो गर्दैन । यति मात्रै होइन, अहिलेका गीतमा संगीत पनि जुध्यो भन्न थालेका छन् । संगीतकार पनि संगीत कम्पोज गर्दा सचेत भए हुन्थ्यो ।