मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष २२ बिहीबार २०:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसोबाट जोगाउन अतिविपन्नलाई रसुवा प्रशासनको न्यानो कपडा

Read Time : > 1 मिनेट
२०७८ पौष २२ बिहीबार २०:५७:००

रसुवामा रहेका अतिविपन्न परिवारलाई जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा वितरण सुरु गरेको छ । दैनिकजसो चिसो बढेसँगै जिल्लामा रहेका अतिविपन्न परिवारलाई चिसोबाट जोगाउन जिल्ला प्रशासन कार्यालय रसुवाले न्यानो कपडा स्वरूप ब्लांकेट वितरण सुरु गरेको हो । 

बिहीबार नौकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ का ५० जना अति विपन्न परिवारलाई न्यानो कपडा स्वरूप ब्लांकेट वितरण गरी अभियान सुरु गरिएको जिल्ला विपद् व्यवस्थापन समिति रसुवाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘हिमपात हुने र दैनिक रूपमा चिसो बढेसँगै यो समयमा अति विपन्न परिवार बढी प्रभावित हुने हुँदा चिसोलाई मध्यनजर राख्दै नौकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ का अतिविपन्न परिवारलाई न्यानो कपडा स्वरूप ब्लांकेट वितरण गरी अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘जिल्लामा हिमपात तथा अत्यधिक चिसो हुने क्षेत्रका अतिविपन्न गरिब परिवारलाई वितरण गछौँ ।’ 

जिल्लाको ५ वटा गाउँपालिकाको २७ वटा वडामध्ये १६ वटा वडाका ३ सय ३० घरपरिवारका अतिविपन्न रहेका परिवारलाई  न्यानो कपडा वितरण गरिने उनले बताए । ६ जना सम्मको परिवारलाई एउटा र ७ जनाभन्दा माथिका परिवारलाई २ वटा ब्लांकेट वितरण गरिने उनले बताए । अबको करिब एक साताभित्रमा लक्षित अति विपन्न सबै परिवारलाई न्यानो कपडा स्वरूप ब्लांकेट वितरण गरिने जैसिले बताए । 

हिमाली जिल्ला रसुवामा चिसो मौसम सुरु भएसँगै हिमपात तथा चिसोलाई मध्यनजर राख्दै पूर्वतयारी सुरु भइसकेको छ । यो समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै २१ बुँदे कार्ययोजना निर्माण गरी तयारी सुरु गरिएको जनाइएको छ । आपतकालीन अवस्थामा आवश्यक पर्ने आश्रयस्थलको पहिचान, जाडोका लागि आवश्यक पर्ने काठ, दाउराको व्यवस्थापन, खोज तथा उद्वारका सामग्री तथा उद्धारकर्मीको व्यवस्थापनलगायतको तयारी गरिएको जनाइएको छ । हिमपात तथा चिसोका कारण रसुवाको जनजीवन हरेक वर्ष प्रभावित हुने गरेको छ ।